काठमाडौं/अमृत दाहाल
काठमाडौं
२००६ सालमा नेपाली कांग्रेस गठन भएपछिका धेरै वर्ष कोइरालापरिवार नै नेतृत्वमा रह्यो। सुरुको समयमा मातृकाप्रसाद कोइराला र बिपी कोइरालाको नेतृत्वमा रहेको नेपाली कांगे्रस ५० को दशकयताका तीन कार्यकाल गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रह्यो। नेतृत्वमा नभएको समयमा पनि पार्टीमा कोइरालापरिवारकै प्रभाव रह्यो, चाहे त्यो नेपाली कांग्रेस गठनका बेला होस्, पञ्चायतका बेला अथवा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको समय। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वपछि कांग्रेसमा शेरबहादुर देउवा शक्तिमा आए।
अब हुने १४ औं महाधिवेशनमा पनि उनै देउवा नेतृत्वमा आउन प्रयासरत छन्। तर यही बेला केशव कोइराला तथा नोना कोइरालाका छोरा शेखर र बिपी कोइरालाका छोरा शशांक कोइराला परिवारको विरासत धान्ने प्रयत्नमा छन्। पछिपछि छिन् गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला।
यी तीनै पात्रको विगतको पृष्ठभूमि के हो र कांग्रेस राजनीतिमा उनीहरुको स्थान कहाँ छ त?
शशांक कोइराला
२०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि भएको आन्दोलनमा विभिन्न पेशाकर्मीले सक्रिय सहभागिता जनाएका थिए। त्यो आन्दोलनमा डा शशांक कोइराला पनि सहभागी भए। त्यसपछि उनी सक्रिय राजनीतिमा लागेनन्। कुशल आँखा सर्जनका रुपमा चिकित्सकीय धर्म निर्वाह गरिरहे। शिक्षण अस्पताल परिसरमा रहेको बिपी कोइराला मेमोरियल अस्पतालमा कार्यरत रहे। नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाका कान्छो छोरा भएर पनि उनी धेरैपछि मात्र सक्रिय राजनीतिमा लागे। २०६२ भदौमा भएको ११ औं महाधिवेशनअघि जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिएका उनले सो महाधिवेशनमा केन्द्रीय सदस्य पद जितेका थिए। कांग्रेस राजनीतिको केन्द्रमा पुग्ने उनको प्रयास एकैपटकमा सफल हुनुमा बिपी कोइरालाको लिगेसीले काम गरेको थियो। त्यसपछि २०६४मा भएको संविधानसभाको पहिलो निर्वाचनमा नवलपरासी १ बाट विजयी भए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भए। २०७४ को निर्वाचनमा पनि उनको विजयी यात्रा कायमै रह्यो।
२०७२ को १३ औं महाधिवेशनमा शशांक कृष्ण सिटौला टिमका गगन थापा र देउवा पक्षका अर्जुननरसिंह केसीलाई पराजित गर्दै महामन्त्री निर्वाचित हुन सफल भए।
पेशालाई पूर्ण रुपमा छाडेर सक्रिय राजनीति गरेको १६ वर्षमा उनी सभापतिका आकांक्षीका रुपमा देखिएका छन्। यसमा अरु केही नभई बिपी कोइरालाको विरासतले काम गरेको देखिएको छ। तर सांसद तथा कांग्रेस महामन्त्रीका रुपमा उनको भूमिका प्रभावकारी नभएको आरोप लाग्ने गरेको छ। तीन पटक सांसद हुँदा उनले मुस्किलले आधा दर्जनपटकमात्र बोलेको र संगठनको मुख्य जिम्मेवारी पनि प्रभावकारी ढंगले नसम्हालेको भनेर आलोचना हुने गरेको छ।
१३ औं महाधिवेशनमा शेखर कोइराला र शशांक कोइरालाबीच एकता देखिएको थियो। भाइ शशांकले महामन्त्रीमा इच्छा राखेपछि दाजु शेखरले पदाधिकारी हुने आकांक्षा छाडिदिएका थिए। त्यतिबेला आफूले इच्छा राखेको अवस्थामा शशांकले पनि छाडिदेओस् भन्ने चाहना राखेका थिए। तर यो सामग्री तयार पार्दासम्म शशांक सभापतिकै अडानमा कायम छन्।
शेखर कोइराला
बिपी कोइरालाका भाइ केशव र नोनाका छोरा शेखर कोइरालाको राजनीतिमा संलग्नता भने शशांकभन्दा केही बढी छ। पेशाले चिकित्सक उनी २०५१ सालदेखि पूर्णकालीन राजनीतिमा लागे। यद्यपि त्यसअघि बिपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वेदश फर्कँदा स्वागत गर्न जाने समूहमा रहेका शेखरलाई पक्राउ गरेर तीन महिना जेल हालियो। त्यतिबेला उनी वीर अस्पतालमा कार्यरत थिए। उनी २०४८ सालको आमनिर्वाचनमा पनि पार्टीको चुनावी मोर्चामा खटिएका थिए। त्यसपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर र उपकुलपति रहेका बेला भने उनी राजनीतिमा खासै सक्रिय भएनन्। उनी कोशी अञ्चल अस्पतालमा पनि चिकित्सकका रुपमा कार्यरत थिए।
शेखर कोइरालाले १३ औं महाधिवेशनलगत्तै पार्टी सभापतिका लागि तयारी थालेका थिए। उनी अरुभन्दा बढी खटिने र क्रियाशील हुने नेतामा पर्छन् उनी ।
सुजाता कोइराला
सुजाता कोइरालालाई गिरिजाप्रसाद कोइरालाले २०५७ सालको महाधिवेशनपछि आफ्ना उत्तराधिकारीका रुपमा अगाडि बढाएका थिए।
तर, पिताको निधनपछि उनको सक्रियता र नेपाली कांग्रेसको राजनीतिमा उनको उपस्थिति एकाएक घट्यो। १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बने पनि शीर्ष नेतृत्वको दाबेदारीमा उनी पछि हटेको देखिएको छ। यद्यपि गत साउनमा उनले बिपी र गिरिजाको सपना साकार पार्न आफू सभापतिमा उठ्ने बताएकी थिइन्। तर दाजुभाइहरु शेखर र शशांकले सभापतिको दाबी गरिरहँदा उनी भने मौन बसिन्। यसमा उनको स्वास्थ्य पनि प्रमुख कारण रहेको बताइएको छ। तर पनि कोइराला परिवारको विरासतको कुरा गर्दा सुजाताको पनि नाम आउँछ।
गिरिजाप्रसाद कोइराला जीवित छँदा भएभरको बल लगाएर सुजातालाई अगाडि बढाइरहे। यद्यपि उनको कुनै जनाधार थिएन। तर गिरिजाले उनलाई सरकारमा उपप्रधानमन्त्री बनाए, पार्टीमा विदेश विभाग प्रमुख बनाए। २०६६ जेठमा बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा विदेशमन्त्री रहेकी उनलाई पछि उपप्रधानमन्त्री पनि बनाइएको थियो, जसको कांग्रेसभित्र विरोध पनि भएको थियो। उपप्रधानमन्त्री बनाइएको केही समयपछि गिरिजाले भनेका थिए–नेपालमा महिला प्रधानमन्त्री बन्ने दिन आउन अब धेरै बाँकी छैन।’ तर २०६६ चैत ७ गते उनको निधन भयो।
गिरिजा अझै केही समय बाँचेका भए, सुजाता प्रधानमन्त्री हुन्थिन्। तर पिताको निधनपछि उनलाई ‘आशिर्वाद’ दिने कोही भएन। गत निर्वाचनमा त उनी उम्मेदवारको सूचीमै परिनन्। त्यसअघि २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षमा पराजित भइन् र २०७० मा प्रत्यक्ष लड्ने आँट गरिनन्। समग्रमा उनले गिरिजाप्रसाद कोइरालाको छोरीको लिगेसी बोक्नेबाहेक आफ्नो अलग्गै पहिचान बनाउन सकिनन्। उनी कार्यकर्ताबीच घुलमिल नहुने नेतामध्येमा पर्छिन्। उनी पिताको नाममा स्थापित जीपी कोइराला फाउण्डेशनमार्फत् सक्रिय छिन्।
तीन कोइरालाबीच खटपट
सभापति छँदै सुशील कोइरालाको निधन भएकाले १३ औं महाधिवेशनमा कोइराला परिवारका यी तीन पात्रले रणनीति बनाउन भ्याएनन्। त्यसैले उनीहरुले त्यतिबेला तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गरेका थिए। त्यो निर्वाचनमा पौडेल समूहबाट महामन्त्रीमा शशांक निर्वाचित भए भने शेखर र सुजाता केन्द्रीय सदस्यमा।
महाधिवेशनपछि तीनै जनाले शशांक कोइरालाको निवासमा भेट गरी आफूहरु एक भएको सन्देश दिएका थिए। तर त्यो लामो समय टिक्न सकेन। सभापतिमा शेखर र शशांकले अलग–अलग हिसाबले उम्मेदवारी घोषणा गरेबाट यो कुराको पुष्टि हुन्छ। अझ गत असोजमा सुजाताले त ‘रामचन्द्र पौडेल र शशांक कोइरालामा पार्टी हाँक्ने क्षमता छैन’ भनेर टिप्पणी गरेकी थिइन्। उनले बिपीको छोरा भन्दैमा शशांकलाई कसैले भोट नदिने भन्दै आफूले शशांकलाई समर्थन गर्न नसक्ने बताएकी थिइन्।
अहिले खासगरी शशांक र शेखरबीच कोइराला परिवारको विरासत धान्ने विषयलाई लिएर तीब्र प्रतिस्पर्धा देखिएको छ। कांग्रेसवृत्तमा एकथरि मानिसहरुले शशांकलाई बिपीको उत्तराधिकारीको रुपमा लिने गरेका छन्। उनीहरु जसरी पनि शशांकलाई भावी सभापतिको रुपमा देख्न चाहन्छन्। विरासतमा सवालमा गिरिजापुत्री सुजाता र बिपीपुत्र शशांकभन्दा केही पछि केशव–नोनापुत्र शेखर आउने कांग्रेस कार्यकर्ताहरुको भनाइ छ।
यो कुरालाई एक अन्तर्वार्तामा शेखर पनि स्वीकारेका छन्। उनले भनेका छन्–‘बिपीको लिगेसीमा म पर्दिनँ, मैले शशांक र सुजाताभन्दा बढी मिहिनेत गर्नुपर्छ।’
यही कुरा नेपाली कांग्रेसमा नेतृत्व चयनमा पनि देखिएको थियो। जस्तो, १३ औं महाधिवेशनमा पौडेलसमूहले पहिले महामन्त्रीका रुपमा शेखरलाई अगाडि सारेको थियो। तर पछि शेखरलाई पछि हट्न लगाइयो र शशांकलाई अगाडि बढाइयो। यस्तै, कांग्रेसको कार्यसम्पादन समितिमा पनि शेखर परेनन्। तर शेखर १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा लोकप्रिय मतका साथ विजयी भए।
कोइराला परिवारका यी सदस्य, जो कांग्रेसको राजनीतिबाट ओझेल भए
कोइराला परिवारका अरु सदस्यहरु भने अधिकांश कांग्रेस राजनीतिबाट टाढिइसकेका छन्। बिपी कोइरालाका जेठा छोरा प्रकाश कोइरालाले बिपीको विरासत धान्ने अपेक्षा गरिए पनि २०६१ पछि उनी आफ्नै कारणले पाखा लागे। २०५७ को दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएका प्रकाश कोइराला २०६१ मा राजा ज्ञानेन्द्रको कदमलाई समर्थन गरेपछि कांग्रेसले कारबाही ग¥यो। उनी त्यसपछि राजनीतिमा छैनन्।
यस्तै, बिपीका माहिला छोरा श्रीहर्ष कोइराला राजनीतिमै छैनन् भने शेखरका दाजु निरन्जन कोइराला सक्रिय राजनीतिमा छैनन्। मातृकाका छोरा कमल कोइराला एमालेमा छन्। बिपीपुत्र प्रकाशका छोरा सिद्धार्थ राजनीतिमा आउन प्रयासरत छन् भने छोरी मनिषाले राजनीतिमा आउने चासो देखाएकी छैनन्।
नेपाली कांग्रेसमा कोइराला परिवार
२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस गठनदेखि नै कोइरालाहरुको जगजगी थियो। २००३ साल माघ १२ र १३ गते कोलकाताको भवानीपुरमा भएको सम्मेलनले नेपाली राष्ट्रिय कांग्रेस गठन गर्यो, जसमा सभापति टंकप्रसाद आचार्य थिए भने कार्यकारी सभापति थिए बिपी कोइराला।
राष्ट्रिय कांग्रेसको आव्हानमा विराटनगरमा भएको मजदूर आन्दोलनका क्रममा बिपीलगायतका नेताहरु पक्राउ परे। २००३ चैत २७ र २८ गते भएको जोगबनी सम्मेलनले कार्यवाहक सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन ग¥यो। २००४ मा मातृकाले कार्यवाहक सभापतिबाट राजीनामा दिएपछि डिल्लीरमण रेग्मी कार्यवाहक सभापति भए। २००४ साउन १ देखि ३ गतेसम्म भएको बनारस सम्मेलनले रेग्मीलाई कार्यवाहक सभापति बनाएको थियो।
तर, बिपी रिहा भएपछि डा रेग्मीले पनि पद छाड्न मानेनन्। २००४ असोज २८ गते बिपीले आफू कार्यवाहक सभापति भएको घोषणा गरे। रेग्मीले पनि जेलमा रहेका टंकप्रसाद आचार्यलाई बर्खास्त गरेर आफूलाई सभापति घोषणा गरे। त्यतिखेर नेपाल राष्ट्रिय कांग्रेस नामका दुई पार्टी भएका थिए।
त्यसपछि सुवर्णशमसेर, महावीर शमसेरको पहलमा कोलकातामा नेपाल प्रजातन्त्र गठन भयो। जसमा सभापति थिए महेन्द्रविक्रम शाह।
२००६ मा नेपाल प्रजातन्त्र कांग्रेस र नेपाली राष्ट्रिय कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेस गठन भयो। २००६ चैत २७ देखि २९ सम्म कोलकातामा भएको सम्मेलनले सभापतिमा मातृकाप्रसाद कोइराला र महामन्त्रीमा महेन्द्रविक्रम शाह रहनेगरी नेपाली कांग्रेस गठन ग¥यो। त्यसमा बिपी सदस्यमात्र थिए।
प्रजातन्त्र स्थापनापछि २००९ मा भएको पाँचौ महाधिवेशनबाट बिपी कोइराला सभापति चुनिए। जसमा मातृकाप्रसाद कोइराला सदस्य थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइराला र बिपीबीच मतभेदका कारण २००९ भदौ २९ मा पार्टी विभाजन भयो। विभाजित पार्टीको सभापतिमा मातृकाप्रसाद कोइराला भए।
२०१२ मा वीरगन्जमा भएको छैटाैं महाधिवेशनबाट सभापतिमा सुवर्णशमसेर राणा निर्वाचित भए। गिरिजाप्रसाद कोइराला उक्त कार्यसमितिको सदस्य थिए।
२०१४ मा विराटनगरमा भएको विशेष महाधिवेशनबाट सभापतिमा बिपी कोइराला चुनिए। बिपी नेतृत्वको नेपाली कांग्रेसले राजा महेन्द्रलाई चुनाव गराउन बाध्य बनायो, जसमा पार्टीले दुई तिहाई मत पायो।
२०१७ वैशाखमा काठमाडौंमा भएको सातौं महाधिवेशनले सभापतिमा बिपीलाई चुन्यो। उक्त कार्यसमितिमा मातृकाप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला सदस्य थिए।
२०१७ पुस १ मा महेन्द्रले ‘कू’ गरेपछि बिपीलगायतका नेता पक्राउ परेपछि सुवर्णशमसेर राणालाई कार्यवाहक सभापति बनाइयो। २०३४ को पटना सम्मेलनले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति बनायो। जसमा गिरिजाप्रसाद कोइराला महामन्त्री थिए।
त्यसपछि पञ्चायती शासनभर नेपाली कांग्रेसको महाधिवेशन भएन। २०४८ झापामा भएको आठौं महाधिवेशनमा सभापतिमा कृष्णप्रसाद भट्टराई निर्वाचित भए भने गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र नोना कोइराला सदस्य निर्वाचित भए।
त्यसपछि नेपाली कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारमा पुग्यो। २०५३ वैशाखमा भएको नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला सभापति भए। नोना कोइराला सदस्य भइन्। पोखरामा भएको दशौं महाधिवेशनमा पनि कोइराला नै सभापति भए। उक्त कार्यसमितिमा सुशील कोइराला महामन्त्री चयन भए भने प्रकाश कोइराला र नोना कोइराला सदस्य भए।
२०५९ मा पार्टी विभाजन भए नेपाली कांग्रेस प्रजातान्त्रिक गठन भयो। कोइरालाहरु भने मूलधारमै रहे।
यता २०६२ भदौमा ललितपुरमा एघारौं महाधिवेशनबाट पनि गिरिजाप्रसाद कोइराला नै सभापति भए भने सुशील कोइराला उपसभापति भए।
२०६४ मा प्रजातान्त्रिक कांग्रेस एकीकृत भइसकेपछि भएको एकता महाधिवेशनबाट पनि गिरिजाप्रसाद कोइराला नै सभापति भए भने सुशील कोइरालालाई कार्यवाहक सभापति बनाइयो। २०६७ असोजमा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइराला सभापति बने।
२०७२ फागुनमा भएको १३ औं महाधिवेशनबाट महामन्त्रीमा डा शशांक कोइराला निर्वाचित भए।
Comments