अमृत दाहाल/काठमाडाैं-
१९८५ सेप्टेम्बर १६।
फैजावाद सहरको सिभिललाइन क्षेत्रमा रहेको राम भवनमा मानिसहरुको आवतजावत करिब–करिब शून्यजस्तै थियो। त्यही भवनमा लामो समयदेखि बस्दै आएका थिए एक साधु। उनी को हुन्, कहाँबाट आए भन्नेबारेमा स्थानीय बासिन्दालाई चासो पनि थिएन र कुनै जानकारी पनि।
एक दिन उनको मृत्यु भयो।
यही आधारमा अनुमान गरियो–त्यहाँ रहने साधु अरु कोही थिइनन् नेताजी सुभाषचन्द्र बोस नै थिए।
१९४५ को १८ अगष्टका दिन एक हवाइ दुर्घटनामा उनको मृत्यु भएको भनिएको थियो। तर केही दिनमै हवाई दुर्घटना नै नभएको बताइयो। त्यसपछि उनको मृत्यु एक रहस्य बनेर रहँदै आएको छ। फैजावादको उक्त घटनाले पनि पुष्टि गरेन त्यही साधु नै नेताजी थिए भनेर।
फैजावादजस्तै अरु कतिपय ठाउँमा पनि सुभाषचन्द्र बोस फेला परेको समाचार त्यसपछि आइरहे। तर कतैबाट पुष्टि भएन।
०००
१९४५ को अगष्ट २३ का दिन जापानको एक संस्थाले सुभाषचन्द्र बोस चढेको विमान तत्कालीन समयमा जापानको नियन्त्रणमा रहेको फोर्मोसा (ताइवान) मा दुर्घटना भएको र सोहीकारण उनको मृत्यु भएको खबर सार्वजनिक गर्यो। भारतमा यही खबरलाई आधिकारिक मानिएको थियो। तर केही दिनमै जापान सरकारले भन्यो–ताइवानमा उक्त दिन कुनै विमान दुर्घटना नै भएको थिएन। यसबाट संशय अझै बढ्यो–आखिर विमान दुर्घटना नै भएको थिएन भने नेताजी कहाँ गए?
सुभाषचन्द्र बोसको बेपत्ता घटना यसकारण थप रहस्यमय बन्यो, जतिबेला बोसको परिवारले जवाहरलाल नेहरुले आफूहरुको जासुसी गराएको आरोप लगाए। घटनाको ७० वर्षपछि अप्रिल २०१५ मा यो मुद्दाका विषयमा अनुसन्धान ब्यूरोका दुई वटा फाइल सार्वजनिक भयो, जसले पुनः विवाद सृजना गर्यो। ती फाइलका अनुसार भारत स्वतन्त्र भएपछि पनि करिब २ दशकसम्म नेताजीको परिवारको जासुसी गरिएको थियो। लेखकहरुका अनुसार नेहरुलाई पनि सुभाषचन्द्र बोस मरेकै हुन् भन्ने कुरामा शंका थियो। त्यसैले बोस परिवारसँगको सम्पर्कमा छन् कि छैनन् भनेर उनले परिवारको निगरानी गर्न लगाएका थिए।
पछि नेताजीको मृत्युसँग सम्बन्धित ३७ वटा फाइल सरकारले सार्वजनिक गर्यो। तर तिनमा पनि उनको मृत्यु विमान दुर्घटनामा भएको भन्नेबारे कुनै प्रमाण थिएनन्। नेताजीका समर्थकहरु भारत स्वतन्त्र भएका बेला उनी जिवितै भएको दाबी गर्छन्। तर, त्यसको पनि कुनै प्रमाण छैन।
आज पनि मानिसहरुका मनमा प्रश्न कायमै छ–१९४५ को विमान दुर्घटनामा सुभाषचन्द्र बोसको मृत्यु भएको थियो? यदि हो भने त्यो दुर्घटना थियो या हत्या? यदि होइन भने उनी कहाँ गएँ ? र, विश्वसामु किन लुकेर बसे?
उक्त घटनाबारे छानबिन गर्न भारत सरकारले तीन वटा आयोग गठन गरिसकेको छ। जसमध्ये १९५६ र १९७० का दुई वटा आयोगले विमान दुर्घटनामै मृत्यु भएको निष्कर्ष निकाल्यो। तर, जापान सरकारले नै त्यतिबेला ताइवानमा उक्त दिन कुनै दुर्घटना नै नभएको बताएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ जनवरी २०१५ मा नयाँदिल्लीस्थित नेशनल आर्काइभ्समा नेताजीसँग सम्बन्धित १ सय वटा फाइल सार्वजनिक गरेका थिए। मोदीले ती फाइलको डिजिटल भर्सन पनि जारी गरे। यसअघि २०१४ मा मोदी सरकारले नै नेताजी रहस्यमय तरिकाले बेपत्ता भएकोसँग सम्बन्धित ३९ गोप्य फाइल सार्वजनिक गर्न अस्वीकार गरेका थिए।
को हुन् सुभाषचन्द्र बोस?
राजनीतिक तथा देशभक्तिपूर्ण विचारका कारण उनी पहिलोपटक १९२१ मा पक्राउ परेका थिए। १ अगष्ट १९२२ मा जेलबाट निस्किएपछि देशबन्धु चित्तरन्जनदास नेतृत्वको गया कांग्रेस अधिवेशनमा स्वराज दलमा सहभागी भए। १९२३ मा भारतीय युवक कांग्रेसका अध्यक्ष चयन भए। उनी त्यतिबेला ‘फरवार्ड’ पत्रिकाको पनि सम्पादन गर्थे।
१९२४ मा स्वराज दलले कोलकाता नगरपालिकाको चुनावमा भारी सफलता प्राप्त गर्यो। देशबन्धु मेयर बने भने उनी मुख्य कार्यकारी अधिकृत चुनिए। सुभाषचन्द्र बोसको बढ्दो लोकप्रियता देखेर अंग्रेज सरकारले सोही वर्षको अक्टुबरमा उनलाई पक्राउ गर्यो। १९२७ मा उनी नेहरुसहित अखिल भारतीय कांग्रेस कमिटीका साधारण सचिव चयन भए।
१९२८ मा स्वतन्त्रता आन्दोलनलाई तीव्रता दिन उनले भारतीय कांग्रेसको कोलकाता अधिवेशनका क्रममा एक संगठन निर्माण गरे र आफू जनरल अफिसर इन कमाण्ड चुनिए। १९३० मा उनलाई जेल पठाइयो। जेलबाटै उनले कोलकाताको मेयर चुनाव जिते। २३ मार्च १९३१ मा भगतसिंहलाई फाँसी दिइयो। यही घटनापछि उनको र महात्मा गान्धीबीच मतभेद सुरु भयो।
सन् १९३२ देखि १९३६ सम्म नेताजीले स्वतन्त्रताका लागि विदेशी नेताहरुलाई दबाब दिन इटालीमा मुसोलिनी, जर्मनीमा फृेल्डर, आयरल्याण्डमा बालेरा र फ्रान्समा रोनान्डसँग भेटवार्ता गरे। १३ अप्रिल १९३६ मा भारत फर्कने क्रममा उनलाई मुम्बईबाट पक्राउ गरियो।
रिहा भएपछि १९३५ देखि १९३७ सम्म उनल युरोपमा ‘इण्डियन स्ट्रगल प्रकाशित गर्न सुरु गरे। १९३८ मा हरिपुर अधिवेशनमा कांग्रेस अध्यक्ष चयन भए। यहीबीचमा उनलाई रविन्द्रनाथ टैगोरले पनि सम्मानित गरेका थिए।
१९३९ मा महात्मा गान्धीबाट समर्थनप्राप्त उम्मेदवार सीतारमैयालाई हराएर पुनः कांग्रेस अध्यक्ष बने। पछि उनले फरवार्ड ब्लक स्थापना गरे। १९४० मा उनलाई नजरबन्द गरियो।
अंग्रेजविरुद्धको आन्दोलनमा उनले सत्याग्रह गरे। त्यसले उनको स्वास्थ्यमा नराम्रो असर पर्यो। १९४१ मा एक नाटकीय घटनाक्रममा उनी ७ जनवरी १९४१ मा बेपत्ता भए र अफगानिस्तान, रुस हुँदै जर्मनी पुगे। ९ अप्रिल १९४१ मा उनले जर्मन सरकारलाई एक स्मरणपत्र बुझाए। उनले सोही वर्ष नोभेम्बरमा स्वतन्त्र भारत केन्द्र र स्वतन्त्र भारत रेडियोस्थापना गरे।
उनी नौसेनाको सहयोगले जापान पुगे र टोकियो रेडियोबाट भारतीयलाई सम्बोधन गरे। २१ अक्टुबर १९४३ मा आजाद हिन्द सरकार गठन गरे, जसको मुख्यालय थियो अण्डमान एण्ड निकोबर टापुमा। १९४४ मा आजाद हिन्द फौज अराकान पुग्यो र इम्फालनजिक युद्ध भयो। फौजले कोहिमालाई कब्जामा लियो।
१९४५ मा दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गर्यो। त्यसको केही दिनपछि १८ अगष्ट १९४५ मा उनको हवाई दुर्घटनामा निधन भएको खबर आयो।
रहस्यै रहस्य
मानिसहरु सुभाषचन्द्र बोस १९४५ पछि पनि कैयौं वर्ष जिवितै रहेको दाबी गर्छन्। उनी भारतको उत्तर प्रदेशमा गुमनामी बाबाको नाममा १९८५ सम्म रहेको बताइन्छ। उनको जीवनमा आधारित पुस्तक ‘कुन्ड्रमः सुभाष बोस लाइफ आफ्टर डेथ’ का लेखक अनुज धरले उत्तर प्रदेशको फैजावादमा कैयौं वर्षसम्म रहने मानिस बोस नै भएको बताएका छन्। उनका अनुसार तत्कालीन सरकारका अलावा नेताजीका परिवार पनि गुमनामी बाबाका बारेमा जानकार थिए। तर उनीहरु यसबारे खुलासा गर्न चाहँदैनथे। उनको मृत्युको समयमा १३ जनामात्र उपस्थित थिए।
गुमनामी बाबा नै नेताजी हुन् कि होइनन् भनेर अनुसन्धान गर्न नागरिकहरुले माग गरे। त्यसपछि २०१६ मा तत्कालीन अखिलेश यादव सरकारले इलाहावाद उच्च न्यायालयको आदेशपछि न्यायाधीश विष्णु सहायको नेतृत्वमा आयोग गठन गर्यो। ३ वर्षपछि आयोगले रिपोर्ट युपी विधानसभामा पेश ग¥यो। रिपोर्टपछि योगी आदित्यनाथ सरकारले र्साजनिक गर्दै भनेको छ, ‘आयोगले गुमनामी बाबा उर्फ भगवनको पहिचान गर्न सकेन। गुमनामी बाबाका बारेमा केही अनुमानमात्र लगायो।’
अनुमानअनुसार गुमनामी बाबा एक बंगाली थिए भने हिन्दीका साथै अंग्रेजी भाषाका जानकार थिए। उनलाई युद्ध, राजनीति र सामयिक विषयमा गहन जानकारी थियो। उनी नेताजीजस्तै हाउभाउको स्वरमा बोल्थे। उनी संगीत, सिगार र भोजनका सौखिन थिए। उनको अधिकांश समय पूजा र ध्यानमा बित्थ्यो। तर जब उनी नै सुभाषचन्द्र बोस हुन् भन्ने हल्ला फैलन थाल्यो, उनले बासस्थान बदले।
मानिसहरु भन्छन्, गुमनामी बाबासँग नेताजीको जस्तै गोलोखालका दर्जनौं चश्मा थिए। ५५५ ब्राण्डको चुरोट र विदेशी रक्सी थिए। उनीसँग सुभाषचन्द्र बोसको बाबुआमाका र परिवारको एक निजी तस्बिर थिए। एक रोलेक्स घडी खल्तीमा हुन्थ्यो। आजाद हिन्द फौजको एक बर्दी थियोृ। यसका अलावा १९७४ मा कोलकाताको दैनिक पत्रिका आनन्दबजारको २४ वटा अंक थिए, जसमा भारत र चीन युद्धसम्बन्धी समाचार थिए।
उनको मृत्युका बारेमा अनुसन्धान गर्न गठित आयोगहरु शाहनबाज र खोसला आयेगको रिपोर्ट, सैयौं टेलिग्राम र पत्रमा उनलाई भगवनजीको नामले सम्बोधन गरिएको थियो।
सन् १९९९ मा उच्चतम न्यायालयका पूर्वन्यायाधीश मनोज मुखर्जी नेतृत्वको आयोगले यसअघिका आयोगले (१९५६ को शाहनबाज खान आयोग र १९७० को जीडी खोसला आयोग) को निष्कर्षको ठीक उल्टो विमान दुर्घटनामा मृत्यु भएको भन्ने तर्कलाई नै अस्वीकार गरेको थियो। सन् २००६ मा सार्वजनिक भएको मुखर्जी आयोगको रिपोर्टमा नेताजीको मृत्युको पुष्टि त गरिएको थियो, तर त्यसको कारण अर्कै भएको संकेत गरिएको थियो। त्यसका लाििग अर्कै समिति गठन गरिनुपर्ने उक्त आयोगको सुझाव थियो। तर मुखर्जी आयोगको रिपोर्टलाई तत्कालीन सरकारले खारेज गरिदियो।
नेहरुको हात?
२०१५ को फेब्रुअरीमा सूचना अधिकार कार्यकर्ता सुभाष अग्रवालले सूचनाको अधिकारअन्तर्गत सुभाषचन्द्र बोसको मृत्युसँग सम्बन्धित गोप्य फाइल सार्वजनिक गर्न माग गरे। यसमाथि सरकारले जवाफदियो–फाइल सार्वजनिक हुँदा केही देशसँगको भारतको मैत्रीपूर्ण सम्बन्धमा असर पर्छ।
यो जवाफले अर्को प्रश्न खडा गरिदिएको थियो–के नेताजीको मृत्युका पछाडि यस्तो देशको हात छ, जोसँग भारतको मैत्रीपूर्ण सम्बन्ध छ? भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीलगायतका नेताहरु त्यो देश नै रुस हो भन्छन्। स्वामीका अनुसार दोस्रो विश्वयुद्धमा आजाद हिन्द फौजको हारपछि जब नेताजी रुस पुगे, नेहरुको आदेशमा स्टालिनले उनलाई बन्दी बनाए। त्यसपछि उनलाई साइबेरियामा लगेर फासी दिइयो। नेताजीकी नातिनी राज्यश्री चौधरीले पनि यही बताउँदै आएकी छन्। सुब्रमण्यम स्वामीका अनुसार सुभाषचन्द्र बोसको परिवारको जासुसीमा नेहरुकै हात थियो। उनका अनुसार नेहरुलाई स्टालिनमाथि पनि विश्वास थिएन, त्यसैले नेताजीको मृत्युको खबर पाउँदा पनि उनले परिवारको जासुसी गराइरहे।
षडयन्त्रको शिकार
केहीले भने उनी ठूलो राजनीतिक षडयन्त्रको शिकार भएको दाबी गर्छन्। यसमा उनीहरु दुई खालको सम्भावना व्यक्त गर्छन्। पहिलो–उनलाई ब्रिटिश सरकारले आफ्नो गुप्त एजेन्टको सहयोगले मारेको थियो। केहीले भने उनको मृत्युमा रुसको हात देख्छन्।
सन् २००५ मा प्रकाशित बिबिसीको एउटा समाचारअनुसार बेलायती गुप्तचर एजेन्टहरुलाई सन् १९४१ मै सुभाषचन्द्र बोसको हत्या गर्ने आदेश दिइएको थियो। आइरिस इतिहासकार यूनन ओ हेल्पिनका अनुसार नेताजीले जापान र जर्मनीको सहयोग लिने प्रयास गरेपछि बेलायत रिसाएको थियो र उनको हत्या गर्ने आदेश दिएको थियो।
बेलायती गुप्तचरहरुलाई मध्यपूर्व हुँदै जर्मनी जाने प्रयासमा रहेका नेताजीलाई बीचमै हत्या गर्न आदेश दिइएको थियो। तर बेलायतको उक्त प्रयासमा सफलता हासिल भएन। १९४५ मा भएको भनिएको दुर्घटनामा उनको मृत्यु भएको बताइयो।
०००
र, आइतबार भयो मूर्ति अनावरण
आइतबार उनकाे १२५ औं जन्मजयन्ती हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै दिल्लीको इण्डियागेटमा सुभाषचन्द्र बोसको होलोग्राम प्रतिमा अनावरण गरेका छन्। वास्तविक मूर्ति भने पछि बन्नेछ।
यसमा प्रोजेक्टरमार्फत् तस्बिर सृजना गरिनेछ। तर यो थ्रिडीजस्तो भने भने होइन। फिल्ममा देखाइने थ्रिडीमा एकतर्फमात्र देखिन्छ भने होलाग्राममा तस्बिरका सबै भाग देखिन्छ। तस्बिरलाई चारैतिर घुमाउन सकिन्छ र अलग–अलग एंगलमा देखाउन मिल्छ।
भारतीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा
Comments