कांग्रेसमा टुटेको ‘चिरञ्जीवी’ यात्रा-गिरिजालाई चुनौती, राजाले लगाएको त्यो मुद्दा र अब इतिहासका किताब
काठमाडाैं/अमृत दाहाल
करिब ६ दशक समय बिताएको नेपाली कांग्रेस चौधौं महाधिवेशनमा होमिइरहेका बेला उनी भने आफ्नै लयमा थिए। मंगलबार दिउँसोतिर चाबहिल बुलबुलेस्थित घरमा पुग्दा एकताका गिरिजाप्रसाद कोइरालालाई चुनौती दिने व्यक्तित्वको छवि बनाएका चिरञ्जीवी वाग्ले पुस्तक, पत्रपत्रिका र लामा–लामा रजिस्टरका थुप्रोबीच केही लेख्दै थिए।
‘अहिले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासबारेमा लेख्दैछु, यो पौने ६ सय पेजजति भइसकेको छ, प्रिन्ट गर्दा ५ सय जति होला। केही थप्न बाँकी छ। यसलाई प्रकाशित गर्छु र अर्को लेखिरहेको पूरा गर्छु,’ उनले नजिकैका रजिस्टरका चाङ देखाउँदै भने।
प्रजातान्त्रिक आन्दोलनबारेको पुस्तकसँगै उनले उनले २००७ सालका क्रान्तिपूर्व र पछिको कालखण्डको पुस्तक पनि लेखिरहेका छन्। जुन सक्न एकाध महिना लाग्ने उनले बताए।
यसका साथै बहादुर शाह तथा भीमसेन थापालाई नायक बनाएर लेखिएका, अनि भीमसेन थापा मारिएपछिको कालखण्डका बारेमा ऐतिहासिक उपन्यास लेखिसकेका छन्। बहादुर शाहका बारेमा लेखिएको उपन्यास प्रेसमा गइसके पनि कोरोनाका कारण प्रकाशित हुन सकेको छैन।
यसअघि नै उनका जेलबसेका बखत लेखिएको ‘बन्धनशालामा खिर’ उपन्यास, पृथ्वीनारायण शाहलाई नायक बनाएर लेखिएको उपन्यास, ‘नेपाली साहित्य मेरो दृष्टि’ नामक समालोचना र ‘उज्यालोतिरको यात्रा’ नामक कविता संग्रह गरी चार पुस्तक प्रकाशित भइसकेका छन्। ‘बन्धनशालामा खिर’ राजा, संसदीय दल, माओवादी र गाउँका कार्यकर्ताका अवस्थाको सेरोफेरोमा लेखेका थिए।
‘जेल नपरेको भए म सायद राजनीतिमै अल्झिरहेको हुन्थेँ होला, तर जेल परेपछि लेखनमा लागेँ, घटनाक्रमले प्रेरित गर्यो, संविधानसभामा उठेका मुद्धा र आफूलाई लगाइएको मुद्दाले प्रेरित गर्यो,’ उनी भन्छन्, ‘लेख्न थालेपछि सबैले यसैबाट बाँचिन्छ लेख्नुस् भन्न थाले, मलाई पनि लेख्ने इच्छा जागृत हुँदै गयो र दुई–अढाई वर्षमा मैले लेख्छु भनेको धेरै कुरा लेखेँ।’
उनलाई अझै संसदमा भएका आफूसम्बन्धित सामग्रीलाई पुस्तकाकार रुप दिन मन छ। र, आफ्नो लामो राजनीतिक अनुभवबारे लेख्न मन छ। अहिले आएर उनलाई लागेको छ–राजनीतिबाट भन्दा लेखनबाट बढी समाजलाई योगदान दिन सकिन्छ। ‘विगतका कति मन्त्रीलाई सम्झन्छौं हामी?’ उनी भन्छन्, ‘तर ती सबै कालको खाडलमा गइसके, मैले राम्रो लेख्न सकें भने मन्त्री अथवा माननीय भएर गर्नेभन्दा बढी योगदान समाजलाई हुन्छ भनेर यतातिर लागेको छु।’
मनको कुनामा अझै छ राजनीति
उनी केन्द्रीय राजनीतिमा नदेखिएको लामो समय भइसकेको छ। जेलबाट निस्किएपछि पनि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए। त्यो बेला हारेपछि पार्टी राजनीतिमा सक्रियता घट्यो। सहकर्मी नेताहरुसँगको दिनहुँको उठबस, भेटघाट पातलियो। यसबाट धेरैले उनी सक्रिय राजनीतिबाट टाढिएको अनुमान लगाउँछन्।
तर, दैनिक क्रियाकलापका हिसाबले लेखनमा सक्रिय भए पनि मनको कुनामा भने अझै राजनीति छ। पन्चतन्त्रको श्लोक उल्लेख गर्दै उनले भने, ‘प्रारम्भिक रुपमा बसेको संस्कार कहाँ मेटिन्छ र?’
यही भएर उनी पार्टीको महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि जिल्ला (गोरखा) गएर १५ दिन बसे। जिल्लामा सभापति, क्षेत्रीय सभापतिहरुलाई सर्वसम्मत गर्न पहल गरे।
पार्टीले लिएको बाटो र दिशाप्रति पनि उनलाई चिन्ता लाग्छ। ‘पार्टीले बाटो बिरायो,’ उनले भने, ‘गिरिजाप्रसाद कोइरालाकै नेतृत्वका बेलादेखि बाटो बिरायो, आफूलाई कहाँ फाइदा हुन्छ त्यसैतर्फ गयौं, शेरबहादुरजीमा पनि त्यही देख्छु, गएको चुनावमा पार्टीको हार हुनुमा पनि यिनै कारण छन्।’
तर, आफू प्रत्यक्ष रुपमा निर्वाचनमा संलग्न नभएकाले कसले हार्छ, कसले जित्छ भन्ने विषयमा कम चासो रहेको उनको भनाइ छ। भन्छन्, ‘व्यक्तिका प्रति मेरो कुनै रागद्वेष छैन, यो व्यक्ति आउनुपर्छ, यो हार्नुपर्छ भन्ने पनि छैन, तर त्यतिभन्दा भन्दै पनि चासोचाहिँ के छ भने नेपाली कांग्रेसले जुन बाटो लिनुपर्थ्याे, त्यो लिएको छैन।’
अब आउने नेतृत्वले देश र जनताका समस्या एवं आकांक्षालाई मुखरित गरोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताए।
अहिले नेतृत्व संकीर्ण हुन थालेको र टिकट बाँड्ने बेलामा जित्नेभन्दा आफ्ना मान्छे हेर्ने प्रवृत्ति बढेको उनको भनाइ छ। ‘पहिला कांग्रेस एउटै परिवारजस्तो थियो। विराटनगरमा लाठीचार्ज भयो भने काठमाडौंमा हामीलाई दुख्थ्यो। तर अहिले दुख्ने त कुरै छाडिदिनुस्, हामी आफ्नै दुस्मन आफैं भएका छौं, हामीभित्र स्वजातीभक्षक प्रवृत्ति विकास भएको छ, आफ्ना मानिसलाई सिध्याउन पाए हुन्थ्यो। सबै मानिसहरु हारे भने मेरो राज्य हुन्छ भन्ने प्रवृत्ति छ,’ उनी भन्छन्।
अहिले पार्टीमा विचारै नभएको उल्लेख गर्दै उनले चुनावका बखत नेता र जनताका बीच संवाद हुनुपर्ने बताउँछन्।
पार्टीको क्रियाशील सदस्यताको विवाद लामो समय जस्ताको तस्तै राखिएको भन्दै उनले यस्तो विवाद नितान्त व्यक्तिगत रुपमा रहेको उल्लेख गरे। ‘यसलाई मेट्नुपर्छ भनेर पहिले मैले विगतमा धेरै प्रयास गरें, तर नेताहरुको रुची भएन,’ उनी भन्छन्।
‘सक्रिय राजनीतिबाट अलग हुन खोजेको हो ?’ भन्ने प्रश्नको उत्तर उनले स्पष्टसँग ‘हो’ भनेर दिएनन् र ‘होइन’ पनि भनेनन्। भने, ‘मान्छेको इच्छामात्रैमा पनि भर पर्दैन, परिस्थितिले मान्छेलाई के, कसरी गर्न बाध्य बनाउँछ मलाई थाहा छैन, यो हाम्रो प्रारब्ध र नियतिको पनि कुरा हो। यसलाई होइन भन्ने कुरा पनि म गर्दिन। तर मैले अहिले जे गर्न खोजेको छु (लेखन) त्यो पूरा गरौं भन्ने लागेको छ।’
अब पन्ध्रौं महाधिवेशनमा उठ्ने सम्भावनालाई नकार्न नसकिने बताए। साथै, त्यतिन्जेलसम्म ८० वर्ष पूरा भइसक्ने भएकाले रिटायर हुनसक्ने पनि उनको भनाइ छ।
सक्रिय राजनीतिमा नरहे पनि आफ्ना केही सहकर्मी राजनीतिज्ञहरुसँग अझै सम्बन्ध छ। जस्तो, रामचन्द्र पौडेल बेला–बेला फोन गरिरहन्छन्। अरु नेताहरु पनि उनीसँग सरसल्लाह माग्छन्। ‘सम्बन्धन नरहने, मेटिने भन्ने होइन, मेरो कसैसँग साधारणतया नराम्रो सम्बन्ध छैन,’ उनी भन्छन्।
पार्टीप्रति पनि कुनै चित्त दुखाई नरहेको उनी बताउछन्। ‘मलाई पार्टीले त मुद्दा लगाएको होइन, हो पार्टीले त्यतिबेला मेरो प्रतिरक्षा गरेन त्यो अर्को कुरा हो, तिनीहरुलाई म बिचरा भन्छु, उनीहरुले आफ्नो स्वार्थमात्र हेरे। सम्भावना थियो नि त। माओवादीका हजारौं मुद्दा हामीले फिर्ता लियौं, हामीलाई पनि राजनीतिक स्वार्थवश मुद्दा लगाइएको हो, तर गिरिजाले चाहेनन्। उनीसँग एकदम नजिक थिए गोविन्दराज जोशी, खुमबहादुर, जेपीहरु। उनीहरुका मुद्दामा पनि चाहेनन्। म त उनीसँग लडेको मानिस थिएँ। उनीहरुले जति उचाइबाट आफूलाई हेनुपर्ने हो हेरेनन्,’ उनले भने।
गिरिजालाई चुनौती दिने साहस
२०४८ फागुन १ देखि ३ गतेसम्म झापामा भएको आठौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला महामन्त्री भएका थिए। २०४८ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री भएकाले पनि कोइरालाको पकड पार्टीमा बढ्दै गएको थियो। उनको विरोधमा बोल्न र प्रतिस्पर्धा गर्न हतपति कसैले पनि आँट गर्दैनथे। त्यसमाथि गिरिजा कांग्रेसमा कोइराला परिवारको विरासत कायम राख्न चाहन्थे। यसले गर्दा पनि उनीविरुद्ध कसैले बोल्दैनथ्यो।
२०५३ वैशाख २७ देखि ३१ सम्म काठमाडौंको नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित नवौं महाधिवेशनमा कोइराला सभापतिको उम्मेदवार बने । यस्तो परिस्थितिमा कोइरालालाई दोस्रो पुस्ताका दुई नेताले चुनौती दिए। ती थिए–चिरञ्जीवी वाग्ले र रामहरि जोशी। दुवै जना २०४८ जेठ १५ गते बनेको कोइराला नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री बनेका थिए।
यो कांग्रेस नेतृत्वमा आउने दोस्रो पुस्ताको प्रयास पनि थियो। यद्यपि त्यतिबेला कोइरालाले भारी मत अन्तरले जित हासिल गरे। कूल १४१० मत खसेकोमा कोइरालाले १११४ मत पाएका थिए भने वाग्लेले २५४ र जोशीले १२ मत ल्याए। त्यो महाधिवेशनमा २०५१ भदौ ३१ गते कांग्रेस परित्याग गरिसकेका गणेशमान सिंह उपस्थित भएनन्।
‘मलाई थाहा थियो, त्यो चुनाव मैले जित्दिनथें, तर पनि मैले चुनौती दिएँ,’ वाग्लेलेसम्झिए, ‘त्यो मेरो सांकेतिक र नैतिक लडाइँ थियो।’ पार्टी गलत बाटोमा हिडाउँन थालेकाले गिरिजाप्रसाद कोइरालाले आफूलाई सच्याउनुपर्छ भनेर त्यतिखेर आफू सभापतिमा लडेको उनले बताए। ‘तर सच्याउन खोज्दा (गिरिजालाई) पनि सकिएन, त्यहीबाट हो पार्टीले गलत बाटो समात्दै गएको,’ उनले भने।
जेल सजायँ पाउने पहिलो पूर्वमन्त्री
२०२० को दशकदेखि राजनीतिमा सक्रिय वाग्ले प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा पटक–पटक गरेर आधा दशकभन्दा बढी जेल परे। २०४८ सालयता उनी विभिन्न समयमा मन्त्री भए। तर २०५९ साल पुस ३ गते अख्तियारले उनलाई ३ करोड २ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार अभियोगमा मुद्दा चलायो। ७ साउन २०६१ मा विशेष अदालतले वाग्लेले २ करोड ७२ लाख ५८ हजार भ्रष्टाचार गरेको ठहर गर्दै अढाई वर्ष कैद सजायसमेत सुनायो। त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरे। तर अदालतले ०६७ मा २ करोड ३ लाख रुपैयाँ जरिवाना र १८ महिना जेल सजायको फैसला सुनायो। उनी नेपालकै इतिहासमा अकुत सम्पत्ति आर्जनको मुद्दामा जेल सजाय पाउने पहिलो पूर्वमन्त्री समेत बने।
यसकारण मलाई मुद्दा लगाइयो (वाग्लेको भनाइ जस्ताको तस्तै)
मैले आफ्नै पहलले राजालाई कहिल्यै भेटिनँ। तर २०५९ सालमा कार्यवाहक प्रधानमन्त्री भएका बेला भेटेको थिएँ। त्यतिबेला शेरबहादुर देउवाले कसैलाई पनि थाहै नदिई संसद विघटन गरेका थिए। शान्ति सुरक्षाको स्थिति राम्रो छैन भनेर स्थानीय चुनाव पनि गराएका थिएनन्। मानिसहरुले पनि चुनाव हुँदैन भनिरहेका थिए।
एक दिन राजाले बोलाए। चुनाव हुन सक्दैन भन्नेबारेमा राजाको विचार के होला भनेर जान्ने इच्छा थियो मलाई। तर दरबार गएपछि राजाले सोधे–मन्त्रीजी कस्तो छ देशको अवस्था?
मलाई राजाकै मनको हाल बुझ्ने इच्छा थियो। तर राजाले सोधेपछि भनें–सरकार मानिस चुनाव हुँदैन भन्छन्। किन त्यसो भन्छन्, भन्न सक्दिनँ।
राजा केही बोलेनन्।
मैले फेरि भनें, ‘सरकार मुलुकमा अस्थिरता भयो भने विदेशीहरुले चलखेल गर्छन्। अनि हामीले गर्ने स्वतन्त्र निर्णय प्रभावित पार्ने दुस्प्रयास गर्छन्। त्यसलाई राज्यले रोक्नुपर्छ। रोक्ने भनेको देशमा स्थायीत्व दिएरै हो। मुलुकमा स्थायीत्व दिने प्रमुख अंग संसद हो। र, कुनै पनि मूल्यमा संसद पुनःस्थापना गर्नुपर्छ, चुनाव पनि गर्नुपर्छ।’
राजा केही बोलेनन्। तर एकछिन पछि उनले ‘अस्थिरता भयो भने विदेशीले खेल्छन् भन्ने ठीक हो। तर मुलुकले अस्थिरता कतिसम्म धान्न सक्छ?’ भने।
संसदको चुनाव गर्दा अस्थिरता नै निम्तने हो। स्थायीत्व दिने त म हो भन्न खोजेका थिए। मैले त्यो बुझेँ।
एकछिनपछि ‘साँच्चिकै नेपाली जनता प्रजातन्त्रको पक्षमा छन्?’ भन्ने प्रश्न गरे। यस्तो प्रश्न मैले राजाबाट अपेक्षा गरेको थिइनँ ।
तर मैले ‘राजनीतिक पार्टीका कार्यकर्ता, शिक्षक, विद्यार्थी, पत्रकार, कर्मचारी, समग्रमा सचेत मान्छे सबै प्रजातन्त्रका पक्षमा छन्,’ भनें। मैले नसोची भनेको थिएँ।
त्यति भनेर राजाको अनुहार हेरेँ। उनको अनुहार सोहोरिएको, अँध्यारो भएको देखेँ । मेरो उत्तर उनलाई बिझेको जस्तो लाग्यो।
त्यसपछि घर आएँ। भोलिपल्ट राजाले अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायलाई भेटेको सुनेँ। पर्सिपल्ट ममाथि मुद्दा दायर भइहाल्यो।
मेरो बयानका क्रममा सूर्यनाथले भनेका थिए, ‘तपाईंलाई मुद्दा नलाग्ने रहेछ, तर मैले तपाईंलाई मुद्दा नलगाइ भएको छैन, त्यसनिम्ति तपाईंका छोरालाई मुद्दा लगाउछु’ भने। मैले त्यस्तो पनि हुन्छ? भन्दा सूर्यनाथले ‘किन नहुनु हुन्छ’ भनेका थिए।
०००
Comments