काठमाडौं-अमृत दाहाल
मुलुककै पूरानो दल नेपाली कांग्रेस यतिखेर १४ औं महाधिवेशनको रमितामा रमिरहेको छ। नेतृत्वमा जित हासिल गरेकाहरु बधाइ खाइरहेका छन्। गलामा खादा र माला पहिरिइरहेका छन्। कुन गुट र समूहको नेताले जिते भनेर हिसाब भइरहेको छ।
तर त्यही कांग्रेसको बिजारोपण गर्ने संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९७ औं जन्मजयन्तीलाई पार्टीले औपचारिक रुपमा सम्झन आवश्यक ठानेन। कांग्रेसका नवनिर्वाचित नेताहरुले ती सन्त नेताका तस्बिरमा माला पहिर्याउने औपचारिकतासमेत पूरा गरेन। फगत् बाँडेगाउँको आश्रममा किसुनजीलाई श्रद्धा गर्ने नेताहरु फाट्टफुट्ट पुगे। शालिकमा फुल–माला चढाए। केही नेताले फेसबुकमा श्रद्धाञ्जलीका दुई शब्द लेखे।
किसुनजीले जीवनका अन्तिम क्षण बिताएका ललितपुरको बाँडेगाउँस्थित आश्रममा पनि दुई वर्षयता किसुनजीलाई सम्झिएर कुनै कार्यक्रम भएका छैनन्। कोरोनाको अवस्था सहज हुँदासमेत यसपटक बिहीबार कुनै कार्यक्रम गरिएन।
‘बाँडेगाउँमा त्यस्तो कुनै औपचारिक कार्यक्रम गर्न सकेनौं,’ बिहान आश्रम पुगेका नेता अमात्यले भने, ‘अमिताले किसुनजीले असाध्य मन पराउने खिचडी खुवाउनुभयो, हामीले खायौं, खुसी भएर फर्कियौं।’
सन्तनेता भट्टराई बाँचिरहेका भए जन्मका हिसाबले बिहीबारबाट ९८ वर्ष लागेका हुन्थे। तर ११ वर्षअघि नै २०६७ फागुन २० गते उनको निधन भयो।
उनलाई कांग्रेसले औपचारिक रुपमा नसम्झेकोमा नेता लोकेश ढकालको पनि गुनासो छ। उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसमा रहेर उहाँले खेल्नुभएको उच्च योगदानको कदर न देशले, न उहाँले जीवन बिताएको पार्टी नेपाली कांग्रेसले नै गरेको छ। आज उहाँको जन्मदिनको अवसरमा नेपाली कांग्रेस पार्टीले कतै कार्यक्रम गरेको समाचार पढ्न पाइनेछैन।’
‘कांग्रेस र सिंगो नेपाली राजनीतिको दयनीय अवस्थामा यो देशमा किसुनजीजस्ता महान आदर्शवादी नेता पनि कुनै बेला थिए भनेर सम्झँदा मन यसै भावुक बन्दछ,’ नेता ढकालले भनेका छन्।
ललितपुर कांग्रेसका पूर्वसभापति एवं केन्द्रीय सदस्य मदनबहादुर अमात्यले पनि नेता भट्टराईको निकट रहेर लामो समय काम गरे।
‘उहाँ मेरो आदर्श हुनुहुन्छ, अहिलेको राजनीतिमा मूल्य र मान्यताको राजनीति गर्ने र नैतिकवानहरुको एकदमै खाँचो छ, उहाँलाई सम्झिने धेरै छन्,’ उनी भन्छन्। उनले किसुनजीको सेवा गरेको प्रतिफलस्वरुप आफूले १४ औं महाधिवेशनमा केन्द्रीय समितिमा जितेको पनि बताए।
नेता अमात्यले किसुनजीका विचारलाई प्रशिक्षणमार्फत् कार्यकर्तामाझ पुर्याउन कार्यक्रम गर्न लागेको बताए। ‘किसुनजीलाई सम्झनेमात्र होइन, उहाँको विचार, मूल्यमान्यता र आस्थालाई कार्यकर्तामाझ पुर्याउँछौं,’ उनले भने।
नेता रामहरि खतिवडाले पनि ‘नेपाली राजनीतिक आदर्शपुरुष’ भन्दै किसुनजीलाई सम्झिएका छन्।
जसले गरे कांग्रेसको बिजारोपण
किसुनजी परिवार भारत निर्वासनमा रहेका बेला बनारसमा विसं १९८१ मा जन्मिए, उतै हुर्किए। भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएर राजनीतिमा लागे। नेपालमा निरंकुश राणाशासन समाप्त पार्ने उद्देश्यले २००३ सालमा बनारसमै देवीप्रसाद सापकोटाको नेतृत्वमा बनेको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसका महामन्त्री भए। २००३ माघमा कोलकातामा गठन गरिएको नेपाली राष्ट्रिय कांग्रेसमा संगठन मन्त्री भए। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस मिलेर २००६ चैतमा गठन भएको नेपाली कांग्रेसका सहमहामन्त्री भए। २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर–उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डर भएर काम गरे।
२००७ सालमा प्रजातन्त्र स्थापनापछि २००८ सालमा गठन भएको सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराई २०१५ सालको आमनिर्वाचनपछि प्रतिनिधिसभाका सभामुख भएका थिए। उक्त निर्वाचनमा उनी गोरखा निर्वाचन क्षेत्रबाट पराजित भएका थिए।
२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि तरुण दलको सभास्थलबाट उनी प्रधानमन्त्री बिपी कोइरालासँगै पक्राउ परे। त्यसपछि पटक–पटक गरेर १४ वर्षभन्दा बढी समय जेल बसे।
२०३४ को पटना सम्मेलनबाट बिपीले कार्यवाहक सभापति बनाए भने २०३९ मंसिरमा गणेशमान सिंह निवास चाक्सीबारीमा भएको सम्मेलनबाट पुनः कार्यवाहक सभापति भई बहुदलीय प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा होमिए। उनकै नेतृत्वमा नेपाली कांग्रेसले २०४२ सालमा
पञ्चायतविरुद्ध देशव्यापी सत्याग्रह गर्यो। २०४६ को परिवर्तनपछि २०४८ मा भएको नेपाली कांग्रेसको आठौं महाधिवेशनबाट उनी सर्वसम्मत रुपमा सभापति भए।
घात–अन्तर्घात र कांग्रेस परित्याग
आफैंले जन्माएको, राणा र पञ्चायतविरुद्ध दशकौंसम्म संघर्ष गरे पनि बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिका सहज दिनहरु उनको राजनीतिक जीवनका लागि भने कठिन सावित भए। निरंकुशताविरुद्ध होमिएका आफ्नै सहकर्मी र सहयोद्धाहरुको घात–प्रतिघातको शिकार हुनुपर्यो। जसको सुरुवात २०४८ सालकै आमनिर्वाचनबाट भयो। २०४७ सालमा उनी अन्तरिम प्रधानमन्त्री थिए र उनले आफ्नै नेतृत्वमा सफल आमनिर्वाचन गराएका थिए। तर आमनिर्वाचनमा उनी पराजित भए भने २०५१ सालमा भएका मध्यावधि निर्वाचनमा पनि पराजित भए। पार्टीको आन्तरिक कलह र एउटा समूहले गरेको अन्तर्घात पराजयको कारक मानियो। त्यो बेला पार्टीमा गिरिजाप्रसाद कोइराला हाबी थिए।
२०५६ सालको आमनिर्वाचनमा पार्टीले ‘अबको प्रधानमन्त्री’ भनेर उनकै नाममा सुविधाजनक बहुमत ल्यायो। सुरुमा उनैलाई प्रधानमन्त्री बनाइयो। तर केही समयपछि नै गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आफनै पार्टीका ६९ जनाले अविश्वास प्रस्ताव राखेपछि उनले २०५६ चैत ३ गते प्रतिनिधिसभामा विशेष मन्तव्य राख्दै राजीनामा घोषणा गरे।
उनले त्यतिबेला निकै मार्मिक मन्तव्य दिएका थिए। भनेका थिए, ‘देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरुको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुट्कारा पाउने हो? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटील राजनीतिका खेलहरुको विसर्जन र पारदर्शीताको प्रदर्शन हैन?’
मन्तव्यमा उनले थप भनेका थिए, ‘एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक–पटक अनेक किसिमका घात–प्रतिघात र अन्तर्घात बेहोर्नुपरेको छ। तर विचलित छैन।’
उनले त्यो १५ मिनेट लामो मन्तव्यमा आफू विचलित नभएको बताए पनि त्यो घटनाले भावनात्मक रुपमा विचलित भएका थिए। र, पार्टीबाट झन्–झन् टाढा हुँदै गएका थए।
पार्टीभित्र सिर्जना भएको गुट–उपगुट र अन्तरकलहको परिणामस्वरुप २०५९ सालमा नेपाली कांग्रेस विभाजन भयो। यो घटनाले किसुनजीको हृदयमा झन् ठूलो चोट लाग्यो। उनी न नेपाली कांग्रेसतिर लागे, न नेपाली कांग्रेस (प्रजातान्त्रिक) तर्फ। मौन बसे।
२०६३ को परिवर्तनपछि उनी राजा हटाउने पक्षमा थिएनन्। उनको इच्छाविपरीत गिरिजप्रसाद कोइरालाकै नेतृत्वमा राजा हटाएर गणतन्त्र स्थापना भयो। पार्टीमा उनको कुरा सुन्न छाडियो। अनि उनी मौन बस्न थाले। त्यसपछि राजनीतिक जीवनको अन्तिम समयतिर आएर उनले कांग्रेस परित्याग गरेको घोषणा गरे। यद्यपि आफूले हुर्काएको कांग्रेस टुक्रा–टुक्रा भएकोमा विक्षिप्त बनेका भट्टराई संविधानसभा निर्वाचनअघि एकीकरण हुँदा भने खुसी थिए।
उनले २०६४ असोज ९ गते कांग्रेस छाडेको घोषणा गरे।
पार्टी सभापतिलाई बुझाएको पत्रमा पनि उनले गणतन्त्र घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका थिए। गणतन्त्रलाई ‘निरर्थक’ भनेका थिए।
पत्रमा उनले भनेका थिए–
‘लामो कालदेखि विभाजित स्थितिमा रहेको हाम्रो प्यारो संस्था नेपाली कांग्रेस एक भएकोमा मलाई ठूलो खुसी लागेको थियो। जुन कारणले गर्दा हिजो एकीकरणको सम्मेलनमा आफ्नो शारीरिक आयुर्ध्याजन्य असक्षमतालाई एकछिनका लागि बिर्सेर पनि म त्यहाँ लामो समयसम्म उपस्थिति थिएँ र आफनो हार्दिक समर्थन जनाएको थिएँ।
यति हुँदाहुँदै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको लामो तर पूर्णतया निरर्थकको नाम दिएर यस ऐतिहासिक संस्थालाई हाम्रो देशका दुई सर्वकालीक स्वर्गीय नेता श्री बिपी कोइराला र गणेशमान सिंहजीलाई चटक्कै बिर्सिँदै छ।
त्यस हुनाले यस पार्टीसँग अब उपरान्त मेरो कुनै खालको पनि सम्बन्ध वा सम्पर्क रहनेछैन। तपाईं सबै सहयोगी साथीहरुसँग अब म भारी मन लिएर सदैवका लागि बिदा लिँदैछु।’
भट्टराईको पार्टी परित्यागको घटनालाई उल्लेख गर्दै नेता लोकेश ढकालले लेखेका छन्, ‘स्वामी आनन्द अरुणको शब्दमा भन्ने हो भने द्वापर युगमा भगवान कृष्णको निधनपछि कलियुग प्रारम्भ भयो भने २०४८ सालमा कृष्णप्रसाद भट्टराईको पराजयले नेपाली राजनीतिमा कलियुगको प्रारम्भ भयो। कृष्णप्रसाद भट्टराईको कांग्रेस पार्टी परित्यागले कांग्रेसको जीवनमा कलियुग प्रारम्भ भएको अनुभूति हुन्छ। कांग्रेसको जीवनमा बिपी, गणेशमान सिंह र किसुनजीको विचार, मूल्य र जीवनगाथा हराएको छ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि किसुनजीलाई सम्झिएका छन्। उनले पनि पार्टीभित्रका घात–प्रतिघातको स्मरण गरेका छन्। भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रप्रति अटल आस्था राखेर आजीवन संघर्ष गर्ने किसुजनीका विचार र उहाँले भोग्नुभएका घात र प्रतिघातहरुको संस्मरणले नेपाली राजनीतिमा संग्ल्याउन प्रेरणा देओस्।’
Comments