कविता : यो भोटो कसको ?



अमृत दाहाल

 

अघिल्ला अनि,

झन् अघिल्ला वर्ष झैं

यस पटक पनि देखाइयो भोटो

तर, लिन कोही पनि आएन

कसैले दाबी गरेन ।

किनकि, त्यसमा अत्तरको बासना थिएन

कर्कोटक नागले दिँदाजस्तो मणि पनि चम्किएको थिएन

थियो त, पसिनाको गन्ध, अनि कट्कटाउँदो मैलो ।

 भोटो देखाउने लहरमा थिए–

 मच्छिन्द्रनाथका पुजारीको सट्टा, सत्ताका पुजारीहरु

शक्तिका पुजारीहरु

तिनीहरुलाई किन मन पर्थ्यो र ?

पसिनाले लत्पतिएको भोटोको गन्ध ।

फेरि चारैतिर देखाइयो

सोधियो–कसको हो यो भोटो ?

 कसैले मेरो भनेन ।

 कसैका लागि आफ्नो भएन ।

जसलाई चाहिएको छ भोटो,

जो वर्षौंदेखि नांगै छ,

जो आफ्नो प्रिय सन्तानलाई भोटो लगाइदिन,

खाडीको तातो घाममा आङ डढाइरहेको छ

जात्रादेखि निकै टाढा रहेको उ

आउनै पाएन भोटो हेर्न

उ त भोकले आकुलव्याकुल परिरहेका

सन्तानलाई हातमुख जोड्न

खाडीमा पसिना चुहाइरहेछ ।

काँधमा दर्‍हा फलाम बोकेर उक्लिरहेछ गगनचुम्बी भवन,

 भवनभन्दा पनि अग्ला सपना साँचेर मस्तिष्कमा,

हो, उसको त्यही आङमा चाहिएको छ, भोटो ।

 उसका ‘बाबा’पुकारिरहेका साना नानीहरुलाई

चाहिएको छ भोटो

 उ फर्कने बाटो कुरिरहेकी

जहानलाई चाहिएको छ भोटो ।

कसैले दाबी नगरे त के भो ?

जसलाई चाहिएको छ, उसैका आङमा लगाइदिँदा हुन्न भोटो ?

जसले हुरी, बतास, शीत, घाम सबै छेकुन् ।

अहिले लगाउन पाए भोटो,

कुनै युगमा भुतले दाबी गरे पनि,

किसानले दाबी गरे पनि,

फेरि मच्छिन्द्रनाथलाई जिम्मा लगाउँला नि हुन्न ?

अनि फेरि सोधुँला,

…यो भोटो कसको हो ?

०००

Comments

Popular posts from this blog

Kaliprasad Rijal, Senior Lyricist

कथा