काठमाडौं-अमृत दाहाल
६९ वर्षका केपी ओली, ७५ का शेरबहादुर देउवा र ६८ का सीपी मैनाली हालै सम्पन्न आ–आफ्ना पार्टीका महाधिवेशनमा पार्टी प्रमुखका रुपमा विजयी भए। सम्भवतः नेकपा माओवादी केन्द्रको केही समयपछि हुने महाधिवेशनमा ६७ वर्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै पार्टीप्रमुख हुनेछन्।
एमालेबाट विभाजित भएर हालै नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल ६८ वर्षका छन्। भर्खरै पार्टी प्रमुख भएका उनी अझै केही वर्ष यो पदमा रहने निश्चित छ। ८६ वर्षका मोहनविक्रम सिंहले नेकपा मसालमा ‘एकछत्र’ नेतृत्व गरिरहेकै छन्। वयोवृद्ध उमेरका मोहन वैद्य र नारायमान बिजुक्छे पनि पार्टी प्रमुखको रुपमै छन्।
एमालेले हालै नेतृत्वको उमेर हद ७० वर्ष कायम गरे पनि अरु पार्टीले यसबारेमा कुनै चासो देखाएका छैनन्। मृत्युपर्यन्त नेतृत्वमा रहने सुविधा नेपालका नेताहरुलाई छ। कांग्रेसका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सभापति पदमा बहाल रहेकै बेला निधन भयो।
उता अमेरिकामा पनि ७९ वर्षका जो बाइडेनले विश्वकै शक्तिशाली मुलुक हाँकिरहेका छन्।
अमेरिकामै गत राष्ट्रपति निर्वाचनका बेला उमेर हद तोकिनुपर्ने बहस उठेको थियो। त्यतिखेर ७८ वर्षका जो बाइडेन र ७४ वर्षका डोनाल्ड ट्रम्प चुनावी मैदानमा थिए। अमेरिकीले यी दुई वृद्धमध्ये एकलाई रोज्नुपर्ने अवस्था थियो। यद्यपि अमेरिकी संविधानमा एकै व्यक्ति दुई कार्यकाल राष्ट्रपति हुन नपाउने व्यवस्था छ ।
तर, दक्षिण अफ्रिकी मुलक र दक्षिण एशियाली मुलुकमा राष्ट्रप्रमुख तथा सरकारप्रमुखको कार्यकाल तथा राजनीतिक नेतृत्वको सक्रियताको उमेर हद तोकिएको छैन।
तर विश्वका केही यस्ता मुलुक छन्, जहाँ युवाहरुले सरकार चलाइरहेका छन्।
नेतृत्वमा युवा
संयुक्त राष्ट्रसंघ, युनेस्को तथा विश्व श्रम संगठन (आइएलओ) ले १५ देखि २४ वर्षसम्मको उमेर समूहलाई युवा भनेको छ। यद्यपि युवाको परिभाषा सामाजिक, आर्थिक, सांस्कतिक परिस्थितिले फरक पार्ने राष्ट्रसंघको निष्कर्ष छ। अरु केही संस्थाले युवा उमेर समूहको वर्गीकरण भिन्न तरिकाले गरेका छन्। युएन ह्याविट्याटले १५ देखि ३२, युनिसेफले १५ देखि २४ र अफ्रिकन युथ चार्टरले १५ देखि ३५ वर्षसम्मका व्यक्तिहरुलाई युवा भनेको छ।
यसअनुसार युवा भनिने केही व्यक्तिमात्र विश्वमा सरकार तथा राष्ट्रप्रमुखको रुपमा छन्।
केही दिनअघिमात्र दक्षिण अमेरिकी मुलुक चिलीमा ३५ वर्षका गाब्रियल बोरिक राष्ट्रपतिमा निर्वाचित भए। चिलीमा सन् १९७३ मा साल्भाडोर एलाण्डेको निधनपछि सबैभन्दा कम उमेरमा राष्ट्रपति हुने उनै हुन्। चिलीमात्रै होइन, विश्वका अधिकांश मुलुक वयोवृद्धले चलाइरहेका बेला बोरिकको निर्वाचनले विश्वभर नै सनसनी मच्चियो।
उनी सन् २०११ को विद्यार्थी आन्दोलनबाट उदाएका थिए। सोही आन्दोलनको परिणाम सरकार न्युन आय भएका विद्यार्थीलाई ट्युसन शुल्कमुक्त शिक्षाको निर्णय गर्न बाध्य बनेको थियो। त्यसपछि सन् २०१४ मा उनी संसद सदस्यका रुपमा निर्वाचित भएका थिए।
बोरिकमात्रै नभई युवा उमेरका राष्ट्र तथा सरकार प्रमुख बनेका अरु पनि छन्। फ्रान्समा सन् २०१७ मा ४० वर्षको उमेरमा राष्ट्रपति निर्वाचित हुँदा इम्यानुअल म्याक्रोंले विश्वकै कम उमेरका राष्ट्रपतिको रुपमा चर्चा पाएका थिए।
उत्तर कोरियाका नेता किम–जोङ–उनले बाबुको निधनपछि सन् २०११मा सत्ता सम्हाल्दा २८ वर्षका थिए भने भुटानमा राजा जिग्मे सिंघे वाङचुकले आफ्ना छोरा जिग्मे खेसर नाम्गेल वाङचुकलाई २००६मा २६ वर्षको उमेरमा गद्दी सुम्पेका थिए।
कतारका अमिर तमीद विन हमाद अल थानीले २०११ मा ३३ वर्षको उमेरमा पद सम्हालेका थिए भने फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सन् २०१९ मा पद सम्हाल्दा ३६ वर्षकी थिइन्। जर्जियाका प्रधानमन्त्री इराक्ली गारिबाश्भिलि यसै वर्ष ३९ वर्षको उमेरमा प्रधानमन्त्री भएका छन् भने न्युजिल्याण्डकी प्रधानमन्त्री ज्याकिण्डा आर्डेनले २०१७ मा सत्ता सम्हाल्दा ४१ वर्षको थिइन्।
नेपालमा कानुनले रोकेको नेतृत्व
केही मुलुकमा पूरानो पुस्ता नै सरकार तथा पार्टीको नेतृत्वमा रहे पनि विश्वका धेरै मुलुकका नागरिक परिवर्तन चाहन्छन् भन्ने पछिल्ला विश्व राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेका छन्। यसको पछिल्लो उदाहरण चिलीमा ३५ वर्षका नेता राष्ट्रपतिमा निर्वाचित हुनु हो।
नेपालमा पनि लामो समयदेखि पुस्तान्तरण र रुपान्तरणका मुद्दाले बहसको रुप लिँदै आएको छ। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्व परिवर्तन भयो। राजेन्द्र लिङदेन अध्यक्ष भए। नेपाली कांग्रेसको महाधिवेशनमा पनि गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेलगायतका नेताहरु नेतृत्वमा निर्वाचित हुन सफल भए । यद्यपि उनीहरुको उमेरसमूह राष्ट्रसंघको वर्गीकरण गरेजस्तो युवामा भने पर्दैन । तर पनि रुपान्तरणको चाहना पार्टीभित्र प्रस्फुटित भयो। कांग्रेसमा यसपटक स्थानीय तहमा युवापंक्ति पनि नेतृत्वमा आएका थिए। महाधिवेशन प्रतिनिधि पनि ४० प्रतिशत सहभागी भएको बताइएको थियो।
तर नेपालको निर्वाचन कानुनले नै युवापंक्ति सरकार प्रमुखका रुपमा आउन रोक लगाएको छ।
नेपालको राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले राष्ट्रपति हुन ४५ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था लागू गरेको छ। यसअनुसार यो कानुन परिवर्तन नहुन्जेल चिलीका जस्ता युवा व्यक्ति राष्ट्रपति हुन पाउने अवस्था छैन। यस्तै, संसद सदस्य हुन २५ वर्ष र राष्ट्रिय सभा सदस्य हुन ३५ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ।
तर, त्यस्ता केही मुलुक छन्, जहाँ नागरिक समुदाय र युवाहरुको आन्दोलनले राष्ट्र तथा सरकार प्रमुखको प्रतिस्पर्धा गर्ने उमेर घटाइएको छ। धेरै मुलुकमा भने राष्ट्रपति हुनुपर्ने उमेर ३५ वर्षभन्दा माथि छ।
कुन देशमा कति उमेर?
विश्वभर नै राज्यका प्रमुख पदमा चुनाव लड्न उमेर तोकिएको छ। नाइजेरियाको १९९९ को संविधानमा गरिएको संशोधनले राष्ट्रपतिका लागि ३० वर्ष, गभर्नरका लागि ३०, सिनेटरका लागि ३० र सांसदका लागि २५ वर्ष हुनुपर्ने व्यवस्था गरेको छ। त्यसअघि राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न ४० वर्ष पूरा भएको हुनुपर्थ्याे। प्रतिस्पर्धाका लागि उमेर तोकिएकोमा ५४ वटा संगठन विरोध गरेपछि सरकारले संविधान नै संशोधन गरेको थियो।
अमेरिकामा उमेर नपुगेर केही सांसदहरुले पद नै त्याग गर्नुपरेको या उमेर नपुगुन्जेल सपथका लागि कुर्नुपरेका उदाहरण छन्। सन् १९३४ मा रुस होल्ट नामकी महिला पश्चिमी भर्जिनियाबाट सिनेटमा चुनिएकी थिइन्। तर संविधानअनुसार ३० वर्ष नपुगी सिनेटर हुन नपाउने प्रावधान थियो। उनी संसद भवन पुग्न ३० वर्षको ‘बर्थडे’ कुर्नुपर्यो।
१९५४ मा टेनेसी सिनेटका लागि २७ वर्षका रिचार्ड फुल्टन निर्वाचित भएका थिए। उनले सपथ पनि लिइसकेका थिए। तर उमेर नपुगेको पत्ता लागेपछि अर्का प्रतिस्पर्धीलाई सिनेटमा पठाइयो।
संविधानले प्रतिस्पर्धाका लागि ३५ वर्षको उमेर तोके पनि १९७२ को राष्ट्रपति चुनावमा सोसलिस्ट वर्कस पार्टीकी लिन्डा जेनेसले प्रतिस्पर्धा गरेकी थिइन्। २००८ मा पनि उक्त पार्टीले उपराष्ट्रपतिमा २८ वर्षकी एरिन हकिन्सलाई उठाएको थियो। अमेरिकाको साउथ डकोटा र ओरेगनमा त मतदाताले प्रतिनिधिको प्रतिस्पर्धाका लागि उमेर तोकिएकोमा विरोध जनाउँदै मतदान नै बहिस्कार गरेका थिए।
यस्तै, सन् २००० को सुरुमा बेलायती युथ काउन्सिलले उम्मेदवार हुन योग्य उमेर घटाउनुपर्ने माग गर्दै अभियान चलाएको थियो। त्यसपछि सन् २००७ देखि इङल्याण्ड, वेल्स र स्कटल्याण्डमा २१ बाट १८ बनाइएको छ।
अरु देशमा
अस्ट्रेलियामा संघीय, राज्य र स्थानीय सरकारको चुनावमा उम्मेदवार हुन १८ वर्ष पूरा भएको हुनुपर्ने प्रावधान छ। सन् २०१० मा निर्वाचित वेट रोय अहिलेसम्मकै कान्छा सांसद हुन्। अस्ट्रियामा युरोपियन संसद या नेशनल काउन्सिलमा चुनाव लड्न १८ वर्ष पूरा भएको हुनुपर्छ। ब्राजिलमा राष्ट्रपति, उपराष्ट्रपति या सिनेटरमा प्रतिस्पधा गर्न कम्तीमा ३५ वर्ष, राज्य तहमा ३० वर्ष तथा सहरको काउन्सिलमा लड्न १८ वर्ष पुगेको हुनुपर्छ।
क्यानडामा नगर, प्रान्तीय तथा संघीय तहका लागि १८ वर्ष, सिनेटका लािग ३० वर्ष पूरा भएको र आफू प्रतिस्पर्धा गर्न लागेको राज्यमा कम्तीमा पनि ४ हजार डलर बराबरको जग्गा हुनुपर्ने प्रावधान छ।
राष्ट्रपति हुन चीनमा ४५, साइप्रसमा ३५, चेक गणराज्यमा ४०, जर्मनीमा ४०, आइसल्याण्डमा ३५, भारतमा ३५, इण्डोनेसियामा ३५, इरानमा २१, इराकमा ४०, आयरल्याण्डमा ३५, मेक्सिकोमा ३५, पाकिस्तानमा ४५, फिलिपिन्समा ४०, रुसमा ३५ र दक्षिण कोरियामा ४० वर्षको हुनुपर्ने व्यवस्था छ। भारतमा प्रधानमन्त्री, लोकसभा सभामुख, संघीय मन्त्री तथा मुख्यमन्त्री हुन २५ वर्ष पूरा भएको हुनुपर्छ। इटालीमा भने १९४७ को संविधान अनुसार राष्ट्रपति हुन ५० वर्ष र सिनेटर हुन ४० वर्ष पूरा भएको हुनुपर्छ।
Comments