अमृत दाहाल/काठमाडौं-
जनयुद्ध चल्दै गर्दा २०५७ माघ २६ देखि फागुन १ सम्म भएको दोस्रो राष्ट्रिय सम्मेलनमा माओवादीले पहिलोपटक प्रयोग गरेको थियो–प्रचण्डपथ। त्यतिबेला पार्टीको पथ प्रदर्शक विचारको रुपमा ‘मार्क्सवाद लेनिनवाद माओवादी र प्रचण्डपथ’ पारित भएको थियो। यही आधारमा माओवादीले त्यसपछिका वर्षहरुमा आफ्ना वैचारिक, राजनीतिक, सांगठनिक र फौजी कारबाही गरेको थियो।
दोस्रो सम्मेलनमा प्रचण्डले प्रस्तुत गरेको ‘महान अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता’ शीर्षकको प्रतिवेदनमा उनले प्रचण्डपथको आवश्यकता औंल्याएका थिए। प्रतिवेदनमा उनले भनेका थिए, ‘पार्टी एक दशकदेखि विचार संश्लेषणको यो उचाइसम्म महामन्त्री क.प्रचण्डको सही र अविछिन्न नेतृत्वका कारण आज पार्टी एकताको केन्द्रविन्दुको रुपमा क प्रचण्डको बलियो सर्वहारा हेडक्वार्टरको विकास भएको छ। अतः सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रुपमा विकसित विचार श्रृंखलालाई पार्टी प्रचण्डपथ नामकरण गर्दछ।’
उक्त प्रतिवेदनमा भनिएको थियो–सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न २१ औं शताब्दिको वर्तमान परिस्थितिमा दीर्घकालीन जनयुद्धको रणनीतमा आश सशस्त्र जनविद्रोहका कार्यनीतिहरुको समेत समायोजन गर्नुपर्छ भन्ने मूलभूत संश्लेषणका साथै नेपाली नयाँ जनवादी क्रान्ति पूरा गर्ने कार्य नैतिक श्रृंखलाका रुपमा सर्वपक्षीय सम्मेनल, अन्तरिम सरकार र संविधानसभा प्रस्तुत गर्नु नै प्रचण्डपथका संश्लेषणका प्रमुख आधार हुन्।’
उक्त राष्ट्रिय भेलामा नेता मोहन वैद्यले फरक मतसहित अलग्गै राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने प्रचण्डपथलाई पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा पुनर्विचार गर्नुपर्ने बहस भएको थियो।
तर त्यहीक्रममा २०६५ पुस ३० गते नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रसँग माओवादीले एकता ग¥यो। त्यही विन्दुबाट माओवादीले एक दशकसम्म अवलम्बन गरेको प्रचण्डपथलाई त्याग्यो। एकता केन्द्रसँगको एकता अधिवेशनमा प्रचण्डले नै तत्कालका लागि प्रचण्डपथलाइ पार्टीको मार्गनिर्देशक विचारबाट स्थगित गरी मार्क्सवादी–लेनिनवाद–माओवाद विचारधारालाई पार्टीका पथप्रदर्शक सिद्धान्तको रुपमा प्रस्ताव गरेका थिए।
अहिले आठौं महाधिवेशनबाट माओवादीले यसलाई पूर्णतः परित्याग गरेको छ। अब यसलाई अंगाल्नु ‘पश्चगामी सोच हुने’ निष्कर्षमा प्रचण्ड पुगेका छन्।
उनले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘कतिपय कोणबाट पुनः प्रचण्डपथ स्थापित गर्नुपर्ने हो कि भन्ने तर्क पनि उठेको देखिन्छ। अब त्यसरी सोच्नु बिल्कुल पश्चगामी सोच हुन पुग्छ।र, त्यसरी सोच्नु पनि हुँदैन। बरु आजको आवश्यकता भनेको समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत नयाँ विचार संश्लेषणको निमित्त अध्ययन, अनुसन्धान, चिन्तन, मनन, बहस र संघर्षलाई अगाडि बढाउनु हो। माओवादी आन्दोलनले विकास गरेको प्रचण्डपथ र २१ औं शताब्दिको जनवाद त्यसका विभिन्न महत्वपूर्ण अनुभव र सन्दर्भसामग्री भने अवश्य हुनेछन्।’
उनले दोस्रो राष्ट्रिय सम्मेलनले स्वीकारे पनि शान्ति प्रक्रियामा आएपछि ‘प्रचण्डपथ’ पदावली स्वीकार्य हुन नसक्नुको कारणसमेत औंल्याएका छन्। उनले भनेका छन्, ‘शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछिको बदलिएको राजनीतिक परिस्थितिमा कम्युनिष्ट आन्दोलनको वृहत्तर एकताका निम्ति प्रचण्डपथ पदावली सबैको निमित्त स्वीकार्य हुन सम्भव थिएन। तर तात्कालीन नेकपा माओवादीले युद्धको बीचमा जीवन हत्केलामा राखेर सम्पन्न गरिएको दोस्रो राष्ट्रिय सम्मेलनको सर्वसम्मत निर्णय तथा आम माओवादी कार्यकर्ता एवं समर्थक जनसमुदायले समेत सगर्व अनुमोदन गरेको प्रचण्डपथ न केन्द्र्रीय समितिमा, न राष्ट्रिय भेला वा सम्मेलन आयोजना गरेर कुनै खालको बहस, छलफल र निर्णय प्रक्रियाविना नै प्रचण्डको व्यक्तिगत पूँजीजस्तो गरी स्थगित गर्नुले पनि पार्टीभित्र गम्भीर आशंका र अराजकतालाई टेवा पुर्यायो।’
उनले प्रचण्डपथ एक्कासी स्थगित गरिएकोमा पनि आत्मालोचना र पश्चाताप गरेका छन्। ‘वास्तवमा प्रचण्डपथका बारेमा पार्टीभित्र गम्भीर बहस, छलफलसहित सम्भव भए राष्ट्रिय सम्मेलन, सो सम्भव नभए कम्तीमा केन्द्रीय समितिको बैठकमार्फत् त्यसबारे एकरुप धारणा बनाएर निर्णय लिनुपथ्र्यो। तर शान्ति प्रक्रियामा आएपछि विचार र नेतृत्वबारे आवश्यक बहस, छलफल गरी निष्कर्ष निकाल्ने काम गर्न सकिएन। यी दुवै कुरा नगरी अत्यन्त हल्का ढंगले विषयलाई पन्छाइनु गलत भएको छ।’
महाधिवेशनको उद्घाटन समारोहमा बोल्ने क्रममा नेता मातृका यादवले पनि प्रचण्डपथ छाडिनु गलत भएको बताएका थिए। उनले भनेका थिए, ‘माओवादी जनयुद्धले स्थापित गरेको विचार प्रचण्डपथ हो। यसलाई विचार गर्नुको साटो हामीले छाडिदियौं। क्रान्ति रनभुल्लमा पर्यो। कमरेड प्रचण्डले के गरेको हो? आममान्छेमा प्रश्नहरु उठ्न थाले। र, सबैभन्दा पहिला त ममा नै उठ्यो। सबैभन्दा पहिला मैले छाडेँ र अरुले पनि छाड्नुभयो।’
प्रचण्डले प्रचण्डपथ छाडेकोमा पटक–पटक पश्चाताप गरेका छन्। यही पुस १० गते सम्पादकहरुसँगको अन्तरक्र्रियामा उनले यही कुरा उल्लेख गरेका थिए। उनले भनेका थिए, ‘प्रचण्डपथ हामीले युद्धकालीन अवस्थामा पारित गरेका थियौं। शान्ति प्रक्रियामा आएपछि देशअनुसार पार्टीलाई ढाल्ने र वृहत्तर कम्युनिष्ट एकताका लागि प्रचण्डपथ स्थगन गरियो। तर हतारमा छलफल र समीक्षा नै नगरी स्थगन भयो भन्नेबारेमा अहिले पनि पार्टीमा कुराहरु उठिरहेका छन्। कहीँ न कहीँ हामीले प्रचण्डपथ छाड्नुमा गल्ती थियो भन्ने भइरहेको छ।’
नेता यादवले भनेजस्तै माओवादीका अन्य नेताहरुले पनि प्रचण्डपथ छाड्दा पार्टी टुटफुट भएको बताउने गरेका छन्। गत असोजमा भएको एक कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टी टुटुफुट भएको बताएका थिए। उनले भनेका थिए, ‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो। तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो।’
हुन पनि नारायणकाजी श्रेष्ठ नेतृत्वका एकता केन्द्रसँगको एकीकरणपछि प्रचण्डपथ छाडेयता शीर्ष नेताहरुले धमाधम पार्टी छाडे। मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा, सिपी गजुरेलहरुले पार्टी छाडे। यद्यपि बादलहरु पछि मूलप्रवाहमै फर्किए पनि पुनः बाटो मोडेर एमालेतिर लागे।
नेता शर्माले त्यतिबेला पुनः प्रचण्डपथ अँगाल्नुपर्ने बताएका थिए। तर आठौं महाधिवेशनबाटै पार्टीले प्रचण्डपथलाई सदाका लागि त्याग्यो। यद्यपि अध्यक्ष प्रचण्डलगायतका नेताहरु यसप्रति ‘पश्चाताप’ को भावना व्यक्त गरिरहेका छन्।
Comments