पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको नाक काटेकै हुन्?



 अमृत दाहाल/काठमाडौं- पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा कीर्तिपुरमाथि तेस्रो प्रयासमा १८२२ चैत ३ गते विजय प्राप्त गरे। पहिलो आक्रमणमा काजी कालु पाँडेलाई गुमाए भने दोस्रो आक्रमणमा भाइ सुरप्रताप शाहको आँखा फुट्यो। महिनौं नाकाबन्दी लगाएर तेस्रो प्रयासमा उनले कीर्तिपुरमाथि विजय प्राप्त गरे।

विजयपछि उनले कीर्तिपुरेहरुको नाक काटेको चर्चा इतिहासमा गर्ने गरिन्छ। धेरैजसो लेखकहरुले पृथ्वीनारायण शाहको कीर्तिपुर विजयको २५ वर्षपछि आएका कर्कप्याट्रिकले ‘एन अकाउन्ट अफ किंगडम अफ नेपाल’ नामक पुस्तकमा लेखेको विवरणलाई हवाला दिने गरेका छन्।त्यसमा उनले ‘नेपाल आउँदै गर्दा भारी बोक्ने केही नेपाली अनुहार अनौठो किसिमको देखेको, उनीहरुको नाक नभएको र सोधखोज गर्दा कीर्तिपुरलाई गोरखालीहरुले विजय हासिल गरिसकेपछि नाक काटिएको’ जवाफ पाएको उल्लेख गरेका छन्। विशेषगरी कीर्तिपुरमाथि विजय प्राप्त गर्न गर्नुपरेको श्रमको प्रतिशोधस्वरुप अमानवीय तरिकारले नाक काटिएको उल्लेख गरेका छन् कर्कप्याट्रिकले।

यस्तै, लेखक बासु पासाले ‘कीर्तिपुर’ नामक पुस्तकमा ‘युद्धमा पटक–पटक कीर्तिपुरे जनताको चोटले गर्दा क्रुद्ध भएका गोरखाली सैनिकले सम्पूर्ण कीर्तिपुरका बासिन्दाप्रति रिस फेर्ने नियतले ओठसमेत काटने अभियान चलाएको’ उल्लेख गरेका छन्। ‘युद्धमा बाँचेकाहरुमध्ये धेरैले आफ्नो परिवारका सदस्य गुमाईसकेपछि गोरखाली सेनाको कुटाईपिटाई र पाता कसाईमा पर्नुका साथै नाक र ओठ पनि कटाउनुपर्‍यो, जसमा बुढाबुढी र काखका बच्चाबच्चीहरुको पनि नाक बाँकी रहेन’ भनेर उल्लेख गरेका छन्।

केहीले पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको नाक काटेर १७ धार्नी पुर्‍याएको उल्लेख गर्ने गरेका छन्।

पृथ्वीनारायण शाहले वास्तवमा कीर्तिपुरेहरुको नाक काटे कि काटेनन् भन्ने विषयमा दुई थरि मतहरु पाइन्छन्। उनलाई एकीकरणको नायक भन्नेहरुले यसलाई ‘अनर्गल’ भन्दै आएका छन्। उनीहरुले यसलाई पृथ्वीनारायणबाट पराजित र निस्कासित अंग्रेजहरुले चलाएका ‘हल्ला’ भनेका छन्। अर्काथरिले भने पृथ्वीनारायणलाई ‘क्रुर शासक’ का रुपमा चित्रित गर्दै पुस २७ गतेलाई विरोध दिवसका रुपमा मनाउने गरेका छन्।

के पृथ्वीनारायणले नाक काटेकै थिए त?
विद्वानहरुका अनुसार चर्चा चलाइएजस्तो १७ धार्नी नभएर केहीको नाक भने गोरखाली सेनाले काटेका थिए। पृथ्वीनारायण शाहले आफूलाई दुई पटकसम्म असफल पारिदिने कीर्तिपुरका केही विद्रोहीहरुको नाक काटी घमण्ड तोडे पनि त्यहाँका देवताहरुको पूजाको निमित्त गुठी राखी धार्मिक जनतामा प्रभाव पारेका थिए। (पूर्णिमा वर्ष ३, अंक ३)

केही कीर्तिपुरेहरुले ८/१० जना गोरखाली सैनिकलाई मारिदिए। पृथ्वीनारायण शाहले बदला लिन कीर्तिपुरेको नाक, कानमात्र काटेर छाडिदिए। (पूर्णिमा पूर्णांक ५०)

कीर्तिपुरेहरुको नाक काटियो भनेर प्रचार गर्नेमा पृथ्वीनारायण शाहविरुद्ध अंग्रेजी सेना ल्याउन सुझाव दिने धर्मप्रचारक जोसेपी पनि थिए। उनले ‘सुरप्रताप शाहले कीर्तिपुरका मुख्य मान्छेहरुको ज्यानै लिएको, अरुको नाक ओठ काटेको र मुखले बाजा बजाउने र दूध खाने बालबच्चामात्र बचेको’ भनेर लेखेको इतिहासकारहरुले उल्लेख गरेका छन्।

यस्तै, लेखक राजकुमार दिक्पालले इतिहासकार भागवत नेवारबाट प्राप्त टिपोटमा पनि कीर्तिपुरेहरुको नाक र ओठ काट्दा तामाङ जातिको प्रयोग गरिएको भेटिएको उल्लेख गरेका छन्। उक्त टिपोटमा कीर्तिपुरेहरुको नाक र ओठ काटिसकेपछि उनीहरुको वस्तीमा आगो लगाइएको उल्लेख गरिएको उनले लेखेका छन्।

यस्तै, भाषा वंशावलीमा पनि कीर्तिपुरेहरुको नाक काटेको उल्लेख छ। त्यसमा ‘गोर्खालीहरु कीर्तिपुरभित्र प्रवेश गर्दा सामुन्ने देखा परेका धेरैलाई मारेको र १२ वर्षभन्दा बढी उमेरका मानिसलाई सुरप्रताप शाहले रिसले नाक काटेको, हुलमा लुकेर जानेहरुको नाक बँचेको’ उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रद्वारा प्रकाशित ‘कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास’ शीर्षकको पुस्तकमा पनि ‘आफ्ना बाबु मारिएको रिसमा वंशराज पाण्डेले र आँखा फुटेको रिसमा पृथ्वीनारायण शाहका भाइ सुरप्रताप शाह मिली नुवाकोटबाट पृथ्वीनारायण शाहको अनुमतिमा आमहत्या, अंगभंगगर्नेजस्ता कार्य गर्न थाले’ भनिएको छ।

अंग्रेजमाथि पृथ्वीनारायण शाहको विजय
अंग्रेजहरु भारत कब्जा गर्दै ल्हासा पुग्ने अभियानमा थिए। सोही क्रममा उनीहरु नेपाललाई कब्जा गर्न चाहन्थे। त्यसलाई बुझेका पृथ्वीनारायण शाहले अंग्रेजविरुद्ध लड्न बलियो शक्ति निर्माण गर्ने उद्धेश्यले नेपाल एकीकरण अभियान थाले।

क्रिश्चियन धर्मप्रचारकहरुले भारत र तिब्बतमा ओहोरदोहोर गर्ने सजिलो बाटोको रुपमा प्रयोग गरेका थिए। उनीहरुले कान्तिपुरका राजा भास्कर मल्लको शासनकालमा १७७२ ताका इसाई धर्मको अखाडा स्थापना गर्न सफल भएका थिए। क्रमैसँग भक्तपुर र ललितपुरमा पनि उनीहरुको प्रभाव पर्न थाल्यो। (एन्सेन्ट नेपाल १४ अंक)

विसं १७९९ मा राजा भएपछि काठमाडौंमा आक्रमण गर्ने बन्दोबस्त मिलाउन बनारस जाँदा धर्मप्रचारकहरुले भारतमा गरेको विध्वंस देख्ने र बुझ्ने मौका पाएका थिए। १८०१ मा नुवाकोटमाथि विजय प्राप्त गरे र उपत्यकावरपरका राज्यहरु जितेर काठमाडौं उपत्यकाभित्र आर्थिक नाकाबन्दीको स्थिति सिर्जना गरे। यसबाट नेपालमा रहेका क्रिश्चियनहरु आफूहरु हट्नुपर्ला भनेर डराइरहेका थिए।

त्यतिखेर काठमाडौंमा धर्मप्रचारकका रुपमा रहेका जोसेपीले अंग्रेजसँग सहायता मागी गोरखालीलाई हराउनुपर्छ भनेर सल्लाह दिएका थिए। त्यसपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल र भक्तपुरका राजा रणजित मल्लसहित भएर जोसेपीको सिफारिसमा कोलकाताका अंग्रेज गभर्नरलाई पत्र पठाइयो। सोही पत्रपछि कप्तान किनलकलाई आक्रमण गर्न पठाइएको थियो। तर सो कुरा थाहा पाएका पृथ्वीनारायण शाहले आफ्ना सेनालाई तयार राखे।

उनले १८२४ मा किनलकको मातहतमा अंग्रेजी सैन्य सिन्धुलीगढीसम्म आइपुगेको थियो। गोर्खाली सैन्यले उनीहरुलाई परास्त गरे। त्यसपछि कान्तिपुरभित्र प्रवेश गर्न सफल भए। लगत्तै ललितपुरमाथि विजय प्राप्त गरे भने १८२६ मा भक्तपुरमा विजयी भए।

यस्तै, पृथ्वीनारायण शाहले क्रिश्चियन धर्मप्रचारक पादरी केपुचीनसहितलाई निस्कासन गरेको पनि इतिहासकारहरुले उल्लेख गर्ने गरेका छन्। लेखक दीर्घराज प्रसाईंका अनुसार पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि क्रिश्चियन धर्मप्रचारक पादरीलाई यहाँबाट निकालेर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएको हुनाले केपुचिन आक्रोशित हुँदै पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर कर्कपेट्रिकलाई लेख्न लगाएका थिए। तर पृथ्वीनारायण शाह त्यति क्रुर नभएको र आफ्नो कब्जामा आइसकेका राज्यका जनताको संरक्षण गर्नु राजाको कर्तव्य हो भन्ने कुरा उनलाई राम्ररी थाहा भएको प्रसाईंको भनाइ छ।

Comments

Popular posts from this blog

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल

कविता : यो भोटो कसको ?

Kaliprasad Rijal, Senior Lyricist