अमृत दाहाल
काठमाडौं–तनहुँको व्यास नगरपालिकाको मेयर पदमा चुनाव लड्ने घोषणा गरेपछि दीपकराज जोशीले अधिकांश समय गाउँमै बिताउने गरेका छन्। त्यसमध्ये पनि बालबालिकासँग नजिकिन रुचाउँछन्।
अनि, बालबालिकालाई उनको प्रश्न हुन्छ–के खान्छौं? बालबालिकाका बाबुआमालाई सोध्छन्–आफ्ना छोराछोरीलाई कतिको समय दिनुहुन्छ?
नेपालको कूल जनसंख्यामा १४ देखि २५ वर्षसम्मको उमेर समूहका नागरिकको संख्या करिब ४५ प्रतिशत छ। ‘मेरो चासो अल्फा जेनेरेसनमा छ, खासगरी सन् २०१० पछि जन्मेका बालबालिकासँग अन्तरक्र्रिया गर्न म मन पराउँछु, उनीहरुलाई परिवर्तन गर्न सकियो भनेमात्र समाज परिवर्तन गर्न सकिन्छ, नत्रभने त पछि गएर परिवर्तन गर्न गाह्राे हुन्छ,’ उनी भन्छन्।
मानिसको विचार निर्माण गर्न प्रमुख भूमिका निर्वाह गर्ने कुरा नै आहार हो। यहीकारण बालबालिकालाई भेटेपछि उनले उनीहरुका खानाबारे सोध्ने गर्छन्।
अनि बालबालिकाका बाबुआमालाई ‘छोराछोरीलाई कत्तिको समय दिनुहुन्छ, उनीहरुसँग समय बिताउने कुरालाई कत्तिको ख्याल गर्नुहुन्छ’ भनेर सोध्छन्।
अधिकांशको जवाफ नकारात्मक हुन्छ।
‘बिपी कोइरालाले पनि ८ घण्टा राजनीति गर्नु, बाँकी समय आफू र परिवारलाई दिनु भन्नुहुन्थ्यो। तर हामीकहाँ नेताहरु बिहानदेखि रातिसम्म खटेको पाइन्छ, जबसम्म तपाईंले आफैंलाई समय दिनुहुन्न, फिल्म हेर्ने, पत्रिका हेर्ने फुर्सद छैन, देशलाई केही गर्न सक्नुहुन्न,’ उनी भन्छन्।
उनी बच्चाहरुको प्रतिक्रिया सुन्छन्। योग र स्वास्थ्यका ज्ञान बाँड्छन्। अधिकांश बालबालिकामा आजकाल ‘भाइरल हुनुपर्छ’ भन्ने धारणा पाएका छन्। ‘पपुलिजम कल्चर’ छ। तर आफ्नो भूगोलबारेको साधारण जानकारी पनि छैन। वडाध्यक्षको नाम थाहा हुन्न। ‘उनीहरुलाई आफू बसेको भूगोलबारे पढाइनुपर्छ, कारणवश हराए भने पनि वडा कार्यालय र वडाध्यक्षका बारेमा थाहा हुनुपर्छ, राज्यले आफूलाई संरक्षण गर्छ भन्ने थाहा हुनुपर्यो, तर अँह यसबारे उनीहरुलाई केही थाहा हुन्न,’ उनी भन्छन्।
अधिकांश बालबालिकाले स्कुलमा नैतिक शिक्षा सिक्न पाएका हुँदैनन्। जीवनसँग जोडिएका कुरा सिक्न पाउँदैनन्। अभिभावकले पनि नैतिक शिक्षा दिँदैनन्। त्यसैले दैनिक रुपमा कम्तीमा पनि ३० मिनेट भए पनि के सही र के गलत भनेर सिकाउनुपर्छ भन्छन् उनी। ‘यही कुरा नै विदेशमा र यहाँ फरक छ, विदेशमा नागरिकले आफ्नो दायित्व निर्वाह गर्छ, यहाँ यस्तो कुरा कतै सिकाइन्न,’ उनले भने।
शैक्षिक चेतना प्रमुख उद्देश्य
सामान्यतः स्थानीय तहका उम्मेदवारले स्थानीय क्षेत्रका सडक, खानेपानीजस्ता पूर्वाधार विकासलाई प्रमुख नारा बनाएको पाइन्छ। र, नागरिकको अपेक्षा पनि यही कुरामा हुन्छ। तर उनको सोचाइ भिन्न छ। उनले आफ्नो प्रमुख एजेण्डा शिक्षा र स्वास्थ्यलाई बनाएका छन्, त्यो पनि पूर्वाधार विकासमा होइन, शैक्षिक चेतना जगाउनमा। ‘मेरो उद्धेश्य सचेतना जगाउने हो, बाँकी रह्यो बजेटको कुरा, बजेट मैले बनाउने होइन, त्यो त निरन्तरको प्रक्रिया हो,’ उनी भन्छन्।
उनलाई लाग्छ, नेपालको डिग्री ‘दिशाविहीन’ छ। ‘हामीकहाँ यस्तो शैक्षिक प्रणाली बनेको छ कि त्यसले तपार्इंको सोच्ने शक्ति नै दबाएको छ, तर्क गर्न नसक्ने बनाएको छ, त्यसैले सचेतनासतिको शिक्षाको रुपमा अगाडि बढाउनुपर्छ,’ उनी भन्छन्।
विकासमा नयाँ परिकल्पना
भियतनाम, चीन तथा दक्षिणपूर्वी एशियाली मुलुकमा स्थानीय सरकारका कार्यालयको संरचना निर्माण गर्दा स्थानीय स्रोतसाधनको प्रयोगलाई प्राथमिकता दिइन्छ। भियतनाममा सरकारी कार्यालय स्थानीय रुपमा हुर्काइएका बाँस प्रयोग गरेर बनाइन्छ। यसले त्यहाँका किसान लाभान्वित हुन सकेका छन्।
‘तर, नेपालमा भने सबै निर्माणमा कमिसन हुन्छ। जति बजेट ल्याउन सक्यो, जति खर्च गर्न सक्यो, उति कमिसन आउछ भन्ने हुन्छ, विकास बजेट प्रयोगविहीन छ,’ उनले भने।
नेपालमा सडक निर्माण गरिसकेपछि पिच गर्नैपर्छ भन्ने धारणा पाइन्छ। तर यसमा उनको फरक धारणा छ। भन्छन्, ‘सडकमा गाडीको आवागमन कत्तिको हुन्छ, त्यहीअनुसार पिच गर्नुपर्ने हुन्छ, थोरै गाडी हिड्ने बाटो रहेछ भने ग्राभेल गराएर प्राकृतिक रुपमै रहन दिनुपर्छ, जस्तो निकुञ्ज क्षेत्रमा गरिन्छ। १० किलोमिटर बाटो पिच गर्ने खर्चले २ वटा गाउँमा खानेपानी सुविधा पु¥याउन पुग्छ। त्यसैले भौतिक संरचना विकासमा पनि पुनःविचार गर्नुपर्छ।’
विपक्षी सहभागिता
संसारकै प्रजातान्त्रिक प्रणालीकै विशेषता के हो भने निर्णय प्रक्रियामा जित्नेहरुकै भूमिका हुन्छ, पराजित हुने समूहलाई प्रायशः सहभागी गराइँदैन। तर उनी पराजित हुने समूहलाई पनि स्थानीय सरकारको निर्णय प्रक्रियामा सहभागी गराउनेबारेमा सोचिरहेका छन्।
‘मानौं मैले ५१ प्रतिशत ल्याएर जितेँ। तर त्यहाँ ४९ प्रतिशत ल्याउनेहरुको मत पनि हुन्छ। तिनीहरुको भूमिका अहिलेको स्थानीय सरकारमा छैन। तर म विपक्षीहरु पनि प्रत्येक छलफलमा सहभागी हुनुपर्छ भन्ने पक्षमा छु,’ उनी भन्छन्।
विकसित देशमा कुनै पनि निर्णय गर्दा सबै नागरिकलाई सहभागी गराइन्छ। नीति बनाउँदा तथा अधिकांश विकासका काममा सबै नागरिकका धारणा नसुनी निर्णय गरिँदैन। तर यहाँ पराजित समूहको कुरा नै सुन्ने चलन छैन। यो परम्परा हटाउन चाहन्छन् उनी।
बाबुको छायाँ
मेयरको उम्मेदवारी घोषणापछि उनी नगरका जहाँ–जहाँ पुगेका छन्। सबैको सकारात्मक प्रतिक्रिया आएकै छ। युवाहरुले सहयोग गर्छौ भनिरहेकै छन्। सहयोग पनि गरिरहेकै छन्। तर अधिकांशको टिप्पणी हुन्छ–कि कांग्रेसबाट, कि एमालेबाट उम्मेदवार घोषणा हुनुपर्थ्यो।
‘अलिक अघिल्लो पुस्ताका मानिसहरु मप्रति प्रभावित छन्, यसले केही गर्छ भनेर थोरै भए पनि आस छ, एकथरि कार्यकर्तापंक्तिलाई खासै फरक पर्दैन। तर मैले मेरो कुरा स्पष्ट राखिरहेको छु, आफ्ना प्रगतिशील एजेण्डा राखिरहेको छु, यसले खासगरी युवापंक्तिमा केही आशाका किरण देखिएको छ,’ उनी भन्छन्,‘तर कुनै पनि पार्टीमा नभएकाले यसले जित्दैन कि भन्ने पनि सोचिरहेको पाइन्छन्।’
उनी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन्। त्यस नाताले उनलाई केही फाइदा पनि छ र बेफाइदा पनि। पूर्वमन्त्री जोशी राजनीतिक रुपमा त्यति सक्रिय नभएको १८ वर्ष भइसक्यो। तर पनि उनका ‘फलोअर’ हरु उत्तिकै छन्। कतिपय जोशीले मन्त्री हुँदा गरेको काम, आफ्ना परिवारका लागि गरेको कामका लागि कृतज्ञ भइरहेका भेटिन्छन्। त्यसले उनीप्रति पनि सकारात्मक भावना राख्नेहरु प्रशस्तै हुन्छन्।
गोविन्दराज जोशीका छोराका नाताले कांग्रेसका नेताहरुमा उनको पहुँच सहज हुन्छ। कांग्रेस नेताहरुले पनि कुनै न कुनै रुपमा उनको योग्यतालाई चिनेका छन्।
‘तर म बुबाको नामले चिनिन चाहँदिन र वंशवादमा पनि विश्वास गर्दिनँ। त्यसैले मैले जिल्ला घुम्दा म योग्य छैन भने मतदाताका रुपमा तपाईं मेरो बारेमा बुझ्नुस् र निर्णय गर्नुस् भन्ने गरेको छु,’ उनी भन्छन्।
तर जिल्लामा कांग्रेसका अर्का नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीबीच ‘टकराव’ छ। अघिल्लो निर्वाचनमा अन्तर्घात गरेको भन्दै जोशीलाई पार्टीले साधारण सदस्यताबाट समेत निस्कासन ग¥यो। जिल्ला कार्यसमितिले निस्कासन फुकुवाको निर्णय गरेर सिफारिस गरे पनि केन्द्रले कारबाही अझै फुकुवा गरेको छैन। यसले जोशीको पार्टीगत जिल्ला राजनीतिक ‘शून्य’ मा पुगेजस्तै छ।
गोविन्दराज जोशी आगामी निर्वाचनमा स्वतन्त्र रुपमा भए पनि उम्मेदवार दिने घोषणा गरेर घरदैलो अभियानमा व्यस्त छन्। यहीबेला उनकै ‘विरासत’ को रुपमा दीपकराज जोशी पनि स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर अभियानमा छन्।
‘जोशीको मात्र छोरा होइन, यसले पनि गर्न सक्छ भन्ने धारणा मानिसहरुमा छ। तर एउटा वर्ग बुबाको विरोधमा छ। उहाँको नामै सुन्न नचाहनेहरु पनि छन्, यो मानिस नआओस् भन्ने चाहन्छन्, यो आइहाल्यो भने नराम्रो काम गर्दैन, माथि पुग्नुभन्दा पहिल्यै तल नै सकाउनुपर्छ भनेर सोच्ने वर्ग छ,’ उनी भन्छन्, ‘तर म आफ्ना स्पष्ट एजेण्डाका साथ अगाडि बढिरहेको छु।’
Comments