काठमाडौं। २०४८ भदौ ९ गते प्रदर्शनमा आएको चलचित्र ‘युगदेखि युगसम्म’ का लागि कमल थापाले लेखेका थिए–‘तीन पाते डाँडा काटेर, कहाँ जान लाग्यौ सारंगी दाइ पिरतीको भाका बोकेर…’
त्यसको ठ्याक्कै ३० वर्षपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्यागको घोषणा गरेका छन्, जहाँ बसेर उनी दर्जनौं पटक सत्ताको चासनीमा चुर्लुम्म डुबे।
राप्रपाको नेतृत्वबाट पाखा लगाइएको २ महिनामै उनले गृहनगर हेटौंडा पुगेर घोषणा गरे–अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु।’
०००
राप्रपाको टुटफुटको ‘रेकर्ड’
२०४६ सालको परिवर्तनपछि नेपाली राजनीतिले पूरै ‘कोर्स’ बदल्यो। नेपाली कांग्रेस र नेकपा एमाले मुलुकको प्रमुख राजनीतिक शक्तिका रुपमा अगाडि आए। त्यतिखेर आमरुपमा एउटा प्रश्न थियो–पञ्चायती राजनीतिलाई ३ दशकसम्म हाँकेका हस्तीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, राजेश्वर देवकोटाहरुले अब के गर्लान्? तीन दशकसम्म राजनीतिक दलहरुको स्वतन्त्रताका विरुद्ध सक्रिय राजतन्त्रलाई साथ दिएका उनीहरुले नयाँ पार्टी खोल्लान्?
लामो विमर्शपछि २०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी अस्तित्वमा त आयो, तर दुई नाममा । नेतृत्व कसले गर्ने भन्ने मतभेदका कारण पार्टीको जन्म नै विभाजित अवस्थामा भयो। राप्रपा (थापा) को नेतृत्व सूर्यबहादुर थापाले गरे भने राप्रपा (चन्द) को नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरे। दुवै पञ्चायतकालदेखि नै प्रतिस्पर्धीका रुपमा परिचित थिए।
दुवै राप्रपाले २०४८ को निर्वाचनमा भाग लिए। भर्खर बहुदलीय संस्कार विकास हुँदै गरेको त्यो अवस्थामा भएको निर्वाचनमा दुवैले नराम्रो पराजय बेहोरे। राप्रपा थापाले १ सिट र राप्रपा चन्दले ३ सिट जित्यो।
यसले दुवै दललाई नजिक्यायो। अर्को वर्ष २०४८ माघमा दुई राप्रपा एक भए। २०४९मा काठमाडौंमा भएको पहिलो महाधिवेशनबाट सूर्यबहादुर थापा अध्यक्ष चुनिए भने लोकेन्द्रबहादुर चन्द र राजेश्वर देवकोटा सहअध्यक्ष भए।
एकीकरणको नतिजा २०५१ को मध्यावधि निर्वाचनमै देखियो। संसदमा २० सिट जित्दै राप्रपा तेस्रो ठूलो दल बन्न सफल भयो। यसले राप्रपालाई सत्ता राजनीतिको खेलमा अगाडि ल्यायो। त्यसपछि बनेका विभिन्न गठबन्धन सरकारमा राप्रपा सहभागी हुन थाल्यो।
२०५३ मा चन्द समूह एमालेसँग नजिक भएको थियो भने सूर्यबहादुर थापा समूह नेपाली कांग्रेससँग। एमालेसँग गठबन्धन गर्दै चन्द २०५३ फागुन २९ गते प्रधानमन्त्री भएपछि थापा समूहले चन्दसहित ९ जनालाई निस्कासन गरेको थियो। त्यसपछि थापाले आफ्नै सरकार ढाल्न अविश्वास प्रस्ताव दर्ता गरे। चन्द सरकार ढलेपछि थापा प्रधानमन्त्री बने।
२०५४ मा वीरगन्जमा भएको दोस्रो महाधिवेशनमा सूर्यबहादुर थापा पुनः राप्रपा अध्यक्ष चयन भए। सोही कार्यसमितिका प्रवक्ता थिए कमल थापा।
पार्टीभित्रको विवाद चर्कँदै गएपछि २०५६ सालमा राप्रपा पुनः फुट्यो। लोकेन्द्रबहादुर चन्दले राप्रपा फुटाएर राप्रपा राष्ट्रवादी गठन गरे।
२०५६ मा भएको निर्वाचनमा राप्रपा फुटको असर फेरि देखियो। जसमा सूर्यबहादुर थापा नेतृत्वको पार्टीले ११ सिट जित्यो भने चन्द नेतृत्वले कुनै पनि सिट जित्न सकेन।
फेरि नेताहरुमा फुटको आत्मबोध भयो। एकीकरणको घोषणा गरे।
राजाले संकटकाल लगाउँदै अलि–अलि गरेर देशको कार्यकारी अधिकार आफ्नो हातमा लिन थालेका थिए।
२०६० सालमा पोखरामा भएको तेस्रो महाधिवेशनमा पशुपतिशमशेर राणा अध्यक्षमा निर्वाचित भए। कमल थापा महामन्त्री भए। यो महाधिवेशनमा पार्टी विधानअनुसार दुई वर्षको कार्यकाल समाप्त भएकाले सूर्यबहादुर थापा नेतृत्वबाट किनारा लागेका थिए।
राजाले प्रधानमन्त्रीका लागि दरखास्त आव्हान गरेर प्रजातन्त्रलाई कमजोर बनाउने शृङखला सुरु भएको थियो। त्यहीक्रममा २०६० मा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएका थिए। तर बहुदलीय व्यवस्थालाई कमजोर पारेको भन्दै पार्टीले थापालाई प्रधानमन्त्रीबाट राजीनामा गर्न आग्रह ग¥यो। सोहीअनुसार उनले २०६१ भदौ १९ गते पदबाट राजीनामा दिए।
तर राजाको कदमका विषयमा पार्टी पंक्तिमा मतभेद सुरु भइसकेको थियो। सूर्यबहादुर थापासहितले राजाको कदमका विषयमा आलोचना गरेका थिए भने कमल थापाले समर्थन। यहीकारण पार्टी विभाजन भयो। सूर्यबहादुर थापाले २०६१ मा राष्ट्रिय जनशक्ति पार्टी गठन गरे।
यहीबीचमा राप्रपाका कमल थापासहितले राजाको कदमलाई समर्थन गरे। २०६१ माघ १९ मा राजाले सत्ता हातमा लिएपछि उनलाई गृहमन्त्री बनाए। राप्रपासँग उनी टाढिइसकेका थिए। २०६२ पुसमा उनले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरे। दोस्रो जनआन्दोलन उनले भूमिका निभाएको चर्चा पनि चल्यो।
२०६३ को परिवर्तनपछि भएको २०६४ को संविधानसभा निर्वाचन मा राप्रपाले समानुपातिक प्रणालीअन्तर्गत ९ सिटमा जितेको थियो। त्यसपछि राप्रपा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी भयो। २०६९ मा राष्ट्रिय जनशक्ति पार्टी र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाबीच एकता भयो, जसको नेतृत्व सूर्यबहादुर थापाले गरेका थिए। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपाले १३ सिटमा चुनाव जितेर छैटौं ठूलो राजनीतिक दल बन्यो। त्यसपछि एमाले र कांग्रेसको गठबन्धन सरकारमा पनि सहभागी बन्यो।
२०७३ मंसिर ६ गते कमल थापा नेतृत्वको राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरण घोषणा भयो। २०७३ फागुनमा भएको विशेष महाधिवेशनमा कमल थापा पार्टी अध्यक्ष चुनिए।
त्यसपछि फेरि राप्रपामा मतभेद सिर्जना भयो। सोहीकारण प्रकाशचन्द्र लोहनीले २०७३ चैत १६ गते एकीकृत राप्रपा (राष्ट्रवादी) गठन गरे भने पशुपतिशमशेर राणाले राप्रपा (प्रजातान्त्रिक)। २०७४ को निर्वाचनमा राप्रपा नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिक गठबन्धनअन्तर्गत रहेर मैदानमा उत्रियो। तर वामपन्थी गठबन्धनको समर्थनमा राप्रपाले एक सिटमा मात्र जित्यो।
२०७४ पुसमा बसेको केन्द्रीय समितिको बैठकले हारको कारण पार्टीविभाजन र कांग्रेसको धोका भएको निस्कर्ष निकालेको थियो। र, २०७५ जेठ ६ देखि ९ सम्म भएको केन्द्रीय परिषद् बैठकपछि राप्रपाले पार्टी एकताका लागि बुद्धिमान तामाङको अध्यक्षतामा वार्ता समिति गठन गर्यो।
त्यसपछि २०७६ फागुन २६ गते कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहने गरी राप्रपा एकीकृृत भएको थियो।
त्यसपछि २०७८ मंसिरमा भएको एकता महाधिवेशनमा राजेन्द्र लिङदनेले अध्यक्ष कमल थापालाई पराजित गरे।
राजनीतिमा ‘मुसा’ प्रवृत्ति
सत्ता र शक्तिमा रहन जे गर्न पनि तयार रहने पात्रका रुपमा कमल थापालाई लिइन्छ, जसलाई नेताहरुले ‘मुसा प्रवृत्ति’ भनेर चित्रित गर्ने गर्छन्।
विचार मिल्ने होस् या नमिल्ने, सिद्धान्त मिल्ने होस् या नमिल्ने, अथवा आफैंले सैद्धान्तिक रुपमा आलोचना गरेको गणतन्त्रमा नै किन नहोस्, उनी पटक–पटक सत्ताको केन्द्रमा पुग्ने गरेका छन्। त्यसका लागि पार्टीलाई नै विभाजन गरेका छन् उनले।
उनी पञ्चायतको उत्तराद्र्धतिर नै मन्त्री बनेका थिए। २०३० को दशकमा राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष, गाउँफर्क राष्ट्रिय अभियानमा नारायणी अञ्चलको सदस्यसचिवजस्ता विभिन्न पञ्चायती पृष्ठभूमिमा काम गरेको भए पनि उनी पहिलोपटक २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। त्यहीबेला मरिचमान सिंहको मन्त्रीमण्डलमा उनी वन तथा भूसंरक्षण मन्त्री भए।
२०४६ को परिवर्तनपछि केही समय राजनीतिमा गुमनाम भए पनि २०४९ सालपछि भने उनी परिदृश्यमा देखिए। २०४९ मा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द समूहबीच एकता भएर बनेको पार्टीमा कमल थापा प्रवक्ता भए।
२०५२ सालपछि उनको पुनः सत्तारोहण सुरु भयो, जसमा मलजल ग¥यो नेपालको अस्थिर राजनीतिले। २०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा उनी कानुन, न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री भए।
त्यसपछि पार्टी फुटको फाइदा उनैले उठाए। एमालेको समर्थनमा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि उनी सोही मन्त्रीमण्डलमा आवास तथा भौतिक योजना तथा परराष्ट्रमन्त्री भए।
त्यहीबेला सूर्यबहादुर थापा नेतृत्वको समूहले कांग्रेसको समर्थनमा चन्दविरुद्ध अविश्वास प्रस्ताव पेश ग¥यो। प्रधानमन्त्रीमा प्रस्तावित थिए सूर्यबहादुर। तर उनले आफ्नै प्रधानमन्त्रीविरुद्ध मत दिए।
आफ्नै मन्त्रीले आफूविरुद्ध संसदमा मत हालेपछि चन्दले संसदमा सम्बोधन गर्दै ‘मुसा प्रवृत्ति’ को संज्ञा दिएका थिए।
अविश्वास प्रस्तावमा चन्द पराजित भएपछि सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो। त्यसमा उनैले बाजी मारे। त्यसमा उनी परराष्ट्रमन्त्री र कृषिमन्त्री बने।
२०६० सालमा बनेको सूर्यबहादुर थापा मन्त्रिमण्डलमा उनी सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री बने। २०६१ माघ १९ गते ज्ञानेन्द्रले शाही ‘कू’ गरेपछि गठन भएको सरकारमा उनी गृहमन्त्री बने।
२०६३ सालको दोस्रो जनआन्दोलनपछिको गणतान्त्रिक संविधानलाई आलोचना गर्दै उनले हिन्दू राष्ट्र र राजतन्त्रको वकालत गरिरहे। तर, यही संविधानअन्तर्गत उनी पटक–पटक सरकारमा सहभागी भए। उनी २०७३ मा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री, परराष्ट्र तथा स्थानीय विकासमन्त्री भए भने पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि उपप्रधामन्त्री तथा स्थानीय विकासमन्त्री भए। २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री भएका थिए।
शक्तिबाट हटनुपर्दाको हतास मानसिकता
२०७६ फागुन २८ गते राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा उनले गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिबद्धता गरेका थिए। उनले भनेका थिए, ‘यो गीता हातमा राखेर कसम खान्छु, राप्रपालाई फुट्न दिन्नँ।’
‘विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्नेछैन,’ उनले भनेका थिए।
गत मंसिर दोस्रो साता भएको राप्रपाको एकता महाधिवेशनमा उनी नेतृत्व तत्काल आफ्नो हातबाट फुत्किहाल्ला भनेर सोचेका थिएनन्। उनले अध्यक्षको उम्मेदवारी दर्ता गराउन जाने क्रममा ‘राजेन्द्र लिङदेनले अर्कोपटक नेतृत्वका लागि दाबी गर्नसक्ने’ बताएका थिए।
तर नतिजा उनले सोचेजस्तो भएन। अध्यक्षमा लिङदेनले बाजी मारे। नेतृत्व छाड्नुपर्दाको हतास मानसिकता उनले सपथ समारोहमै दर्शाए। समारोहमा उनी उपस्थित भएनन्। त्यसलगत्तै उनले नवनिर्वाचित नेतृत्वविरुद्ध शृङखलाबद्ध ट्वीट गरे र आफ्नो पराजयमा निर्मलनिवास (पूर्वराजा ज्ञानेन्द्र) को हस्तक्षेपको आरोप लगाए।
मंसिर २७ मा विज्ञप्ति जारी गर्दै उनले राजा बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल गुमाएको बताए। त्यसयता उनले महाधिवेशन निर्वाचनका क्रममा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासको हस्तक्षेपको प्रमाण आफूहरुसँग रहेको दाबी गर्दै बारम्बार त्यसको छानबिनको माग गर्दै आएका छन्। छानबिनबाट मात्र पार्टी एकता र पार्टीको भविष्य सुनिश्चित हुने जिकिर उनले गर्दै आएका थिए।
मंगलबार पुनःपार्टी छाड्दा उनले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर आफ्नो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीमै रमाउने उत्कट चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि आफूले यो निर्णय लिएको उल्लेख गरेका छन्।
फेरि पनि सत्ता र शक्तिको चाहना
स्प्ष्ट छ, २०७९ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको छ र संघीय निर्वाचन पनि हुँदैछ। राप्रपा छाडेपछि उनले पुनः पार्टी खोल्नेछन्। त्यसको अध्यक्ष बन्नेछन्। समानुपातिक प्रणालीमा टेक्दै केही सिट हासिल गर्नेछन्। त्यसैको बलमा उनी पुनः सत्ता र शक्तिमा पुनः पुग्नेछन्। विगतमा निर्वाचनको मुखैमा राप्रपामा देखिएको टुटफुट र विभाजनले यही कुरालाई पुष्टि गर्दै आएको छ।
आखिर ‘तीन पाते डाँडा काटेर..’ जाने गन्तव्य यही हो कि!
Comments