आफ्नै पदचाप पछ्याउँदै ‘स्थापित’

अमृत दाहाल

काठमाडौं

–सानो तहका माओवादीलाई टिकट दिने, पासपोर्ट, लुगा दिने। ल आऊमात्र भन्यो भने ८० प्रतिशत माओवादी भाग्छन्। एउटा मेयरले कमाएको भन्दा ७ गुणा बढी कमाउछ भने ‘सुपर मेयर’ बन्न को जाँदैन!

को हतियार बोकेर ओढारमा बस्छ? प्रधानमन्त्री राजी हुनुहुन्छ एक अर्ब रुपैयाँको कोष बनाउन। सबैभन्दा पहिले तल्लो तहका माओवादी तयार छन् भाग्नलाई। यो सहज छ र एक दुईवटा निर्णय गर्‍यो भने फलिभूत हुन्छ। मेरो कार्यक्रम भनेको प्रचण्डको कार्यक्रमभन्दा झन् प्रचण्ड छ।

–हामीलाई विद्युत वितरण गर्न दिने हो भने हामी वर्षको १–२ अर्ब रुपैयाँ नाफामा जान्छौं, अहिलेको ४० प्रतिशत चुहावट रोक्न सकियो भने त्यसपछि नाफा हुन्छ।


–स्थानीय जनतासँग मिलेर (त्यतिखेर चोभार) मल कारखाना खोलेपछि फोहोरको समस्या समाधान हुन्छ। एकछिनको निर्णयले यसको निर्णयले फोहोरको समाधान हुन्छ। पैसा पनि जोगिनछ र वर्षको ३२ हजार टन मल पनि उत्पादन हुन्छ। शेरबहादुरजीले १ मिनेटमा यो जग्गा फलानोलाई भो भन्ने निर्णय गरे हामी त्यो जग्गा बैंकमा राख्छौं, बैंक तयार छ र हामी कारखानालाई लाग्ने १६–१७ करोड रुपैयाँ तिरिदिन्छौं।

–अबको मेयर मैं हुँ। मेरो त दाबी नै हो। मैले राप्रपा, नेपाली कांग्रेस सबैसँग भनेको छु। शेरबहादुरजी आफैं भन्नुहुन्छ तपाईं मेयर हुन उपयुक्त मान्छे हो भनेर।

–एक दिनभित्र रत्नपार्कमा ठूलो बोर्ड लगाएर जनताको आग्रह के छ भनेर विचार लिँदैछु। जसमा सानो विशेषज्ञ टोलीले जनताको थप विचार देखाएर डकुमेन्ट बनाउँछ। त्यसलाई ६ महिनाभित्र सम्पूर्ण अवस्था परिवर्तन गर्छौं।

–विष्णुमतिको ट्रिटमेन्टका लागि अध्ययन गराउँछौं, त्यो केहीमहिनाभित्र टुंगिन्छ र त्यसमा आधारित भएर केही जापानी संस्थाले ठूलो लगानीमा विष्णुमतिलाई पुनर्जीवित गराउँदैछन्, टुकुचा सफा गर्दैछौं, बागमती करिडोर बनाउन आन्तरिक रिंगरोड बनाउँदैछौं।
०००

योजनाका ‘उडन्ते पण्डित’

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दिएका केशव स्थापितसँग जोडिएका केही संयोग देखिएका छन् २० वर्षपछि पनि। २० वर्षअघि २०५९ सालमा महानगर प्रमुखका रुपमा स्थापितको कार्यकाल सकिँदै गर्दा प्रधानमन्त्रीमा शेरबहादुर देउवा थिए। अहिले पनि उनै देउवा प्रधानमन्त्री छन्। र, स्थापित पुनः मेयर बन्ने दाउमा उम्मेदवार बनेका छन्।

२०५४ सालमा मेयर बनेका स्थापित त्यतिखेर ‘हावामा योजना बनाउने’ मानिसको रुपमा परिचित थिए। २०५९ सालमा कार्यकाल सकिनै लाग्दा नेपाल समाचारपत्रलाई दिएको अन्तर्वार्ता (तस्बिर) मा उनले बताएका केही योजना त्यसकै शृङखलाका रुपमा थिए। यी योजना न उनले आफनो कार्यकालमा पूरा गरे, न अहिलेसम्म त्यसको कुनै प्रक्रिया नै अघि बढ्यो।

त्यतिमात्रै नभई उनले पटक–पटक काठमाडौंका पार्किङको समस्या समाधान गर्न अण्डरग्राउण्ड बसपार्क बनाउने योजना रहेको कुरा सार्वजनिक गरे। कमलपोखरीमा बहुतल्ले बहुउद्देश्यीय भवन बनाउने, डेटिङ पार्क बनाउनेजस्ता योजना रहेको बताइरहे। तर यी योजना उनको सपनामामात्रै सीमित रह्यो।

पहिलो कार्यकाल सकिएपछि उनी राजा ज्ञानेन्द्रको शासनकालमा पुनः मेयर मनोनित भए। तर त्यो कार्यकाल उनको धेरै समय टिक्न पाएन। राजाबाट मनोनित भएपछि उनको केही वर्ष सक्रिय राजनीतिबाट हराए। अरुका नजरमा राजावादी भए।

कहिले प्रजापरिष्दलाई पुनः ब्युँताउने भन्दै सक्रिय भएका देखिए। तर प्रजापरिषद्मा पनि उनी धेरै टिकेनन्।

उनले आफ्नो काल्पनिक योजनाबाट तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई समेत प्रभावित पारिछाडे। त्यसको परिणामस्वरुप २०६९ सालमा उनले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त हात पार्न सफल भए। तर नौ महिना नबित्दै उनलाई पदमुक्त गरियो।

राजनीतिमा अस्थिर, जहिल्यै विवादित

यी २ दशकमा राजनीतिमा निकै अस्थिर भए र जहिल्यै विवादित। जसलाई उनले आफैं पुष्टि गरेका छन्।

सोमबार काठमाडौंको मेयरमा मनोनयन दर्ताका बेला उनीमाथि लागेको यौन दुव्र्यवहारको आरोपको प्रसंग उप्किएपछि उनले भनेका थिए, ‘विवादहरु आएनन्, चर्चामा नभए त कसरी केशव स्थापित। ५० वटा मुद्दा लागेको बेला अरु ५ वटा पनि थपिपाऊँ भनेर निवेदन दिने मान्छे मै हुँ।’

२०५४ मा काठमाडौंको मेयर जित्दा एमाले रहेका उनी सोही वर्ष एमाले विभाजन हुँदा वामदेव गौतम नेतृत्वको नेकपा मालेमा पसे। कार्यकाल सकिएर निस्कँदा ‘राजावादी’ भए। बीचमा प्रजापरिषद्का अध्यक्ष भए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी पार्टीबाट काठमाडौं ६ को उम्मेदवार बने। र, घुम्दैफिर्दै २०७४ को आमनिर्वाचनअघि उनी पुनः एमालेमै फर्किए।

२०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्यमा निर्वाचित भए। भौतिक पूर्वाधार मन्त्री पनि भए। मन्त्री छँदै एक महिलाले ‘स्थापितले आफूलाई यौन प्रस्ताव राखेको, तर आफूले नमानेका कारण जागिरबाटै हटाइदिएको’ भनेर दिएको अभिव्यक्ति सार्वजनिक भएपछि बर्खास्तीमा परेका थिए।

मन्त्रिपरिषद्कै बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप उनीमाथि लागेको थियो। स्थापितको कार्यशैली सुस्त रहेको र कार्यप्रगति शून्य रहेको टिप्पणी पौडेलले गरेपछि उनी गालीगलौजमा उत्रिएका थिए।

मन्त्री छँदा पनि उनले आफूलाई १३ अर्बको टार्गेट दिइएकोमा २० अर्बको काम गरिसकेको भन्दै दाबी गरेका थिए।

स्थापितका सफल योजना

यद्यपि माइतीघर मण्डला तथा तीनकुनेका वस्तीलाई हटाएर त्यसमा पार्क बनाउने अवधारणा उनले अघि सारेका थिए। माइतीघर सुन्दर पार्कमा परिणत भएपनि तीनकुनेमा पार्क बन्ने अवधारणाले अझैसम्म मूर्तरुप लिन सकेको छैन।

यस्तै, उनकै कार्यकालमा बानेश्वरबाट शंखमुल जाने बाटो फराकिलो भयो। रत्नपार्कका घर–टहरा हटाएर सुन्दर पार्क पनि उनकै पालामा निर्माण भयो।

Comments

Popular posts from this blog

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल

कविता : यो भोटो कसको ?

Kaliprasad Rijal, Senior Lyricist