अमृत दाहाल
बिहान ब्युँझदासम्म देशकै एउटा इतिहास मेटिइसकेकाे छ भन्ने कुनै भेउसम्म थिएन।
०००
बिहान ६ बजेदेखि नै बज्ने एफएमका समाचारहरुले ‘नेपाल समाचारपत्र’ लाई उद्दृत गरेर समाचार फुक्दै थिए- राजदरबारमा गोलीकाण्ड, कयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिक अपुष्ट। सबैतिर ‘मौन त्रास’ को अवस्था थियो। जवाफविहीन प्रश्नहरु सबैका मुखबाट निस्किइरहेका थिए–कसरी मारिए राजारानी? कसले मार्यो?
बबरमहलमा बस्थेँ। अफिसबाट फोन आएको पनि थिएन। तर पनि म कपडा लगाएर सडकमा निस्किएँ। भद्रकाली सैनिक मुख्यालयको बीच सडक (त्यतिबेला त्यो बाटो सर्वसाधारणका लागि खुला हुन्थ्यो) हुँदै भीमसेनस्थान कार्यालय पुगेँ।
प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ (हाल स्वर्गीय), सम्पादक कपिल काफ्लेलगायतका सिनियर र सहकर्मीहरु पनि कार्यालय पुगिसकेका थिए। मिटिङ बस्यो। आज कसले के गर्ने भन्ने जिम्मेवारी बाँडफाँड भयो।
मेरो जिम्मामा ‘भक्सपप’ लिने पर्यो। अर्थात् जनताले राजारानीलाई कसरी स्मरण गरिरहेका छन् भन्ने प्रतिक्रिया लिएर समाचार बनाउने।
म असन, इन्द्रचोकजस्ता भित्री वस्तीतिर लागेँ, जुन कार्यालय रहेको भीमसेनस्थाननजिकै पर्थ्याे। सडकमा जताततै भीड थियो। सबैका हात–हातमा नेपाल समाचारपत्र थियो। धेरैमा हातमा समाचारपत्रका फोटोकपी पनि। त्यो दिन समाचारपत्रका वितरकले अखबार वितरण गर्न पाएनन्। हारालुछ भयो। फोटोकपी गरेर बेच्नेहरुले पनि निकै कमाए।
दुई वर्षअघि नेपाल समाचारपत्रमै लेखेको एक स्मरणमा सम्पादक कपिल काफ्लेले भनेका छन्, ‘नेपाल समाचारपत्र ओसार्ने वा बेच्ने साइकलब्वाईहरुले ग्राहकको भीड छिचोल्न नसकेर लुटिनुपर्यो। काठमाडौंको भीमसेनस्थानबाट भूगोलपार्क निस्कने बेलामा बसन्तपुरमा पुगेका साइकल ब्वाईहरुलाई लुटेर नागरिकहरुले पत्रिका लगे। नेपाल समाचारपत्रकै कारण त्यसदिन फोटोकपी व्यापारीहरुले पनि खुबै पैसा कमाए। पहिलो पानाको मुख्य समाचार फोटोकपी गरेर सय रुपैयाँसम्ममा बेच्न भ्याए उनीहरुले।’
निकै डिमाण्डका कारण जेठ २० गते दिउँसोसम्म अखबार पुनर्मुद्रण गरिरह्यो कामना प्रकाशनले।
राजदरबारमा भएको त्यो नृशंस हत्याकाण्डबारेको सूचना नेपाल समाचारपत्रमा जेठ १९ कै राति १० बजे आइसकेको थियो। अखबारको पहिलो पृष्ठ फाइनल गर्ने बेलामा आएको सूचना भएका कारण त्यसबारे थप जानकारी लिँदा ढिलो भइसकेको थियो। जेठ २० को बिहान अलि अबेर छापियो। अरु अखबारले त्यो समाचार छापेनन्। स्पेसटाइमले खाली यस्ताे घटनाकाे संकेतसम्म गरेकाे थियाे।
बीबीसी, सीएनएनले भने रातिदेखि नै समाचार प्रसारण गर्न थालिसकेका थिए। अहिलेजस्ताे केवल टीभी र इन्टरनेटकाे जमाना भएकाे भए याे समाचार साेही राति नै सबैलाई थाहा भइसक्ने थियाे। तर तिनताका त्यस्ताे थिएन। त्यसैले नागरिकले २० गते बिहानमात्र थाहा पाएका थिए।
गोरखापत्रले जेठ २१ गतेमात्र ‘राजदम्पतीसहित आठ जनाको स्वर्गारोहण’ भनेर छाप्यो।
०००
असन, इन्द्रचोकतिर डुलेर मैले धेरै मानिसको प्रतिक्रिया लिएँँ। सबैको प्रतिक्रिया हुन्थ्यो–अब यस्ता सज्जन राजारानी फेरि जन्मनेछैनन्…झल्झल्ती राजारानीको अनुहार सम्झिरहेको छु.. आदि।
फर्केर आएपछि समाचार बनाएँ। केही समय हाल निर्वाचन आयोग रहेको कान्तिपथको भवनतिर गएँ, जहाँ त्यतिखेर राजपरिषद् स्थायी समितिको बैठक बसिरहेको थियो। त्यतिन्जेलसम्म हत्याकाण्डमा संलग्न भएको भनिएका युवराज दीपेन्द्रको निधन भइसकेको थिएन।
राजपरिषद् बैठकले दीपेन्द्रलाई महाराजधिराज घोषित गर्यो। उनी कोमामा भएका कारण ज्ञानेन्द्रलाई राज्यसहायक घोषित गर्यो।
त्यसको भोलिपल्ट दीपेन्द्रको पनि निधन भयो। इतिहासमा दीपेन्द्रको नाम एक दिनको राजाका रुपमा अंकित भयो।
त्यसपछि राजपरिवारको शव राखिएको सैनिक अस्पताल गएँ। वरपर मानिसहरुको भीड उर्लिएको थियो। त्यहाँ गएर समाचार या सूचना संकलन गर्न असम्भवजस्तै थियो। म पनि त्यही भीडमा मिसिएँ। अरु सहकर्मी कता छलिए पत्तो थिएन। स्वर्गीय राजारानीको अनुहार हेर्न पाइन्छ भन्ने आशाले मानिसहरु घण्टौंदेखि धुलो र घामको समेत पर्वाह नगरी उभिइरहेका थिए।
रेडियो नेपालले ओबि भ्यान नै लगेर प्रत्यक्ष प्रसारण गरिरहेको थियो।
साँझ पर्नैलाग्दा बल्ल राजा वीरेन्द्र, रानी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरुको शव छाउनी अस्पतालबाट निकालियो।
भीडपछि पछि लाग्यो। बीच–बीचमा भीडले नारा पनि लगाइरहेको थियो। शवयात्रा नारायणहिटीअगाडि हुँदै कमलपोखरीतिर लागेपछि मचाहिँ बबरमहलस्थित कोठातिर लागेँ।
०००
भोलिपल्ट सहरमा राजारानीको निधनको शोकमा कपाल खौरेका मानिसहरु जताततै देखिन थाले। र, सहरमा ‘खानेपानीमा विष मिसाइएको’, ‘प्रधानमन्त्री गिरिजालाई सेनाले थुनेको’ ‘दीपेन्द्रको मुकुण्डो लगाएर सुरक्षाकर्मीले नै मारेका हुन्,’, जस्ता हल्ला प्रशस्त सुनिन थाले।
०००
राजा घोषणा भएको भोलिपल्टै दीपेन्द्रको निधन भयो। नेपालको राजपरिवारमा अबका एकमात्र विकल्प थिए ज्ञानेन्द्र, जो राज्य सहायक पनि थिए।
त्यतिन्जेलसम्म जनमानसले यो सम्पूर्ण घटनाको कारकमा रुपमा ज्ञानेन्द्र हुन् भन्न थालिसकेको थियो। राज्यारोहण गर्ने दिन ज्ञानेन्द्रविरुद्ध चर्का प्रदर्शन, नाराबाजी हुन थाले।
सेनाले बल प्रयोग गर्दै ज्ञानेन्द्रलाई राज्यारोहणस्थल हनुमानढोकाको नासलचोक पुर्याएको थियो। हनुमानढोकाको चारैतिर सेनाको कडा घेराबन्दी थियो। मानिसहरुले ज्ञानेन्द्र र पारसविरुद्ध उत्तेजक नारा लगाइरहेका थिए। स्थिति निकै तनावपूर्ण भएको थियो त्यतिबेला।
सोहीदिन काठमाडौंको वीर अस्पताल, रत्नपार्क, बागबजार, दरबारमार्ग, पुतलीसडक, नयाँ बानेश्वर, चाबेललगायतका स्थानमा प्रदर्शन भयो।
काठमाडौंभर प्रदर्शन चर्कँदै गएपछि २२ बजे ४ बजेदेखि नै प्रशासनले कर्फ्यु घोषणा गर्यो। यति हुँदाहुँदै पनि कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी रहे। सुरक्षाकर्मीले बल प्रयोग गर्ने क्रममा चार जनाको मृत्यु भएको समाचार आयो।
०००
यो घटना भएको पनि २१ वर्ष बितिसकेको छ। तर अझै मानिसहरुका मनमा एउटा प्रश्न अझै छ–आखिर दरबार हत्याकाण्ड कसले गरायो?
सायद यो प्रश्नको जवाफ युगौंयुगसम्म अनुत्तरित रहनेछ।
Comments