Skip to main content

नारायणी किनारमा उत्रिएको एमाले

अमृत दाहाल/चितवन – प्रदुषणका कणहरूले बाक्लिएको हुस्सु र तुँवालोले बिहानैदेखि आकाश छोपिरहेको थियो। चितवनको नारायणी किनारभरि छरिएको हुल पारिको बलौटे बगरमा उभिएको मञ्च स्पष्ट देखिरहेका थिएनन्। नीलो हुन थालेको नारायणीमाथि बाक्लिएको तुँवालो छिचोल्दै कार्यकर्ताको हुल एकैछिनमा पुल र बगरभरि बटुलियो।
शुक्रबार दिनैभरि त्यही फोहोरी हुस्सु र तुँवालोसँग लुकामारी खेलिरह्यो ‘सूर्य।’
एमाले अध्यक्ष केपी ओलीको सम्बोधन हुनै लाग्दा उद्घोषक प्रदीप ज्ञवालीले एउटा भिडियो देखाउने घोषणा गरे। सबैको ध्यान मञ्चको छेउमा राखेको ठूलो पर्दामाथि खिचियो।

८ मिनेटको त्यो भिडियोमा केही दृश्यहरू थिए। जसमा ओलीकै जयजयकार थियो अनि एमालेको प्रशंसाले भरिएका शब्दहरू थिए।

वृत्तचित्रमा ओलीले आफ्नो कार्यकालका उपलब्धी भनेर दाबी गरिएका फेहरिस्त थिए। जसमा वृत्तचित्रका भ्वाइसओभरकर्ताले ‘ल भन्नुस् त’ भनेपछि दर्शकदीर्घाका नेता–कार्यकर्ता ठूलो स्वरमा भन्थे– केपी ओली। केपी ओली।

आफ्नो प्रशंसाले भरिएको वृत्तचित्र सकिएपछि माइकअगाडि उभिएका ओली नारायणी पुलसम्म फैलिएको नेता, कार्यकर्ता र रमितेहरूको हुल देखेपछि निकै हौसिए।

करिब एक घण्टाको भाषणमा ओलीले विगतमा जस्तो माधव नेपाल र प्रचण्डप्रति कमै आलोचना गरे। र, आफ्नो सम्बोधन महाधिवेशनमा नेतृत्व चयनभन्दा आगामी चुनावमै बढी केन्द्रित गरे। उनले आफ्नो कार्यकालमा आफूले गरेका कार्यको फेहरिस्तहरू फेरि दोहोर्‍याए।

‘स्थानीय तहको, प्रदेश र संघीय चुनावहरू आउँदैछन्, त्यसको तयारीतर्फ जानेछौं, हामी एकातिर जनमतको तयारी गर्नेछौं एकातिर, जनमतबाट हामीले एकल बहुमत ल्याउनुपर्नेछ यो देशका लागि हो, एमालेका लागि होइन,’ उनले भने, ‘देशको सार्वभौमसत्ताको रक्षा, लोकतन्त्र फेरि गुम्न नपाओस् भनेर, विकासको लहर चलाउन, संविधानको गलत व्याख्यालाई जनअभिमतबाट सच्याएर अघि बढ्नका लागि नेकपा एमालेले बहुमत ल्याउनैपर्छ।’

सँगै बसेका शेरबहादुर देउवालाई इंगित गर्दै उनले ‘प्रधानमन्त्रीकै अगाडि गोप्य कुरा खोल्नुपर्ने बाध्यता’ सुनाए। उनले आउँदो चुनावपछि एमालेको सरकार बन्ने र विकासका बाँकी काम अघि बढाएर सुखी नेपाली, समृद्ध नेपालको सपना पूरा गर्ने दाबी गरे। स्थानीय तहको चुनावमा ५० प्रतिशतभन्दा सिट एमालेले हासिल गर्ने जिकीर पनि गरे।

उनले दैनिक रुपमा एमाले प्रवेश गर्नेहरुको संख्या सयौं रहेको उल्लेख गर्दै महाधिवेशन उद्घाटनका बेला मौका पाउने हो भने लाखौं मानिस एमाले प्रवेश गर्ने र अब हिउँदभरि एमाले प्रवेश अभियान चल्दै जाने बताए। त्यही बेला प्रचण्डलाई सम्झिएर उनले हज्जारौं पूर्व लडाकुहरू पनि एमाले प्रवेशको तयारीमा रहेको बताए।

उनले गायत्री मन्त्र पनि वाचन गरे र चुनावचिन्ह सूर्यको बखान गरे। एमालेको सूर्य चिन्ह बोक्न कसैलाई गाह्रो नहुने भन्दै उनले ‘एमालेमाथि कसैले वाण चलाउँछ भने सूर्य झण्डाले रोक्ने’ बताए।

हँसिया हथौडाअंकित कम्युनिष्ट झण्डाको प्रसंगमा उनले माधव नेपालको आलोचन गरे।

‘हँसिया हथौडाको झण्डा बोकेर वामपन्थी सरकार ढाल्नेहरूले पनि त्यही झण्डा बोकेका छन्, तर यिनले किन यो झण्डा किन छाड्दैनन्?’ उनले भने।

यस्तै, ‘प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीजत्तिकै शक्तिशाली छु’ भनेर केही दिनअघि प्रचण्डले दिएको अभिव्यक्तिप्रति संकेत गर्दै ओलीले बहिर्गमित लडाकूका समस्या समाधान गर्न चुनौती दिए। आफूले पूर्वलडाकूको समाधान गर्ने उल्लेख गर्दै अब केहीदिनमै १० औं हजार पूर्वलडाकूलाई एमाले प्रवेश गराउने उनले घोषणा पनि गरे।

उनले अब आफूहरुले छलफलको माध्यमबाट छिमेकीसँगको सम्बन्ध सुल्झाउने उल्लेख गर्दै कालापानीको जमीन पनि संवादको माध्यमबाट फिर्ता लिने र फिर्ता नलिँदासम्म हेपिएको अनुभव हुने बताए।

कार्यक्रममा बोलेका नेता रामबहादुर थापा ‘बादल’ ले यो महाधिवेशनले जनादेशमार्फत् यो देशको बागडोर एमालेले लिने संकल्प गर्ने बताएका थिए। नेकपा विभाजनपछि बादल एमालेमै बसेका हुन्।

कस्तो एमाले देख्न चाहन्छन्कार्यकर्ता?

नेता–कार्यकर्ता पनि नेतृत्व सर्वसम्मत ढंगले आओस् भन्ने चाहन्छन् र अब एकताबद्ध एमाले चाहन्छन्। जिफन्टआबद्ध निर्माण मजदूर युनियन अध्यक्ष नरनाथ लुइँटेलले देश चलाउन सक्ने, सक्षम, सुदृढ र एकताबद्ध एमाले आफूहरुले चाहेको बताए।

‘श्रमजीवी वर्गका पक्षमा नीति निर्माण गरेर त्यसलाई कार्यान्वयन गर्न सक्ने शक्तिका रुपमा अगाडि आओस्,’ उनले भने। नेतृत्व सर्वसम्मत ढंगले आउदा त्यसले एकताबद्ध छ भन्ने सन्देश जाने उनको भनाइ छ।

चितवन महाधिवेशनमा आएका सिन्धुलीका भुवनबहादुर शाही अबको चुनावमा दुई तिहाईको एमाले सरकार आफूहरुको चाहना रहेको उल्लेख गर्दै अबको एमाले अजम्बरी खालको नभएर खुला, स्वतन्त्र, सबैले बोल्न पाउने र उम्मेदवारी दिन पाउने खालको हुनुपर्ने बताए।

मोरङका विदुर सुवेदी अबको एमाले स्थायित्व दिनसक्ने खालको हुनुपर्ने बताउँछन्।

‘सबैलाई समेटेर लैजान सक्ने, देश हाँक्न सक्ने, सबल र सक्षम नेतृत्व हुनुपर्छ,’ उनले भने। एकताको महाधिवेशन भएकाले सर्वसम्मतिले नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ।

अछाम जिल्ला कमिटीका अध्यक्ष नन्दबहादुर कडायत अबको एमाले एकताबद्ध, गुटविनाको र सुदृढ हुनुपर्ने बताउँछन्। ‘एमाले जनताको आशा र भरोसाको केन्द्र बनोस् भन्ने चाहन्छौं र ओलीको अघिल्लो कार्यकालमा भन्दा अझ बढी विकास गर्ने खालको सरकार बन्नुपर्छ,’ उनले भने।

अछामका भीमबहादुर बिष्टले एमालेलाई पुनः सत्तामा पुर्‍याउन र समृद्धिको बाटोमा लैजान ओलीको नेतृत्वमा सक्षम व्यक्तिहरू रहेको केन्द्रीय समिति चयन हुनुपर्नेमा विचार राखे।

माओवादी मिसिएको एमाले

२०७५ साल जेठ ३ गते माओवादीसँग एकीकरण गरेर नेकपा गठन हुँदा एमाले नेताहरुले वृहत कम्युनिष्ट एकताको रुपमा व्याख्या गरेका थिए। तर २०७७ साल फागुन २३ मा  सर्वोच्च अदालतको फैसलापछि दुई वर्षमै दुवै पार्टी आ–आफ्ना बाटोमा फर्किए। तर माओवादीको एक अंश एमालेमै रह्यो, माओवादीमा फर्किएन। रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापासहित अरू पनि केही नेता कार्यकर्ताहरू एमालेमै रहे।

पूर्वमाओवादी नेताहरुको यो समूहले माओवादीमा नफर्कने आफूहरुको निर्णयलाई नेकपाकै एकताको निरन्तरता भन्ने गरेका छन्। यद्यपि महाधिवेशन प्रतिनिधिमा यो समूहको सहभागिता अत्यत्नै झिनो छ। शुक्रबारको महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै स्थायी कमिटी सदस्य बादलले भनेका थिए, ‘महाधिवेशन समाजवाद र समृद्धिको आन्दोलन हो, नीति र नेतृत्वको विजयको सफलता हो र कम्युनिष्ट आन्दोलनको एकीकरणको निरन्तरता हो।’

एमाले नेताहरू भने उनीहरू पूर्वमाओवादी नै भन्न रुचाउँछन्। माओवादी मिसिएको एमालेमा अब आउने नेतृत्वले पूर्वमाओवादी समूहको ‘एकताको निरन्तरता’ को भावनालाई कत्तिको सम्मान गर्नेछ, त्यो केही घण्टामै थाहा हुनेछ।

ओलीको विकल्प ओली नै

‘एमाले बनाएका’ माधव नेपालहरू अहिले एमालेमा छैनन्। विभाजनको एउटा नमिठो यादसँगै चिवतनमा अधिवेशन सुरू गरेको एमालेले यो महाधिवेशनलाई एकताको सन्देश बाँड्ने ‘महाकुम्भ’का रूपमा लिएको छ।

केही नेताहरूले ‘अनौपचारिक’ गुटहरूमा लागे पनि ओलिभक्त कार्यकर्ताहरू चाहन्छन्, ‘फरक धारणारहित एमाले।’

त्यसैका लागि अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधि चयन गर्दा सुरुमै सर्वसम्मतीका लागि निर्देशन नै दिए। सोहीअनुसार केहीलाई छाडेर अधिकांश प्रतिनिधि सर्वसम्मत रुपमा चयन भए।

खासमा ओलीको चाहना आफू सर्वसम्मत अध्यक्ष चयन हुने थियो। तर त्यसमा बाधक बनेका छन् भीम रावल। भीम रावलले ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् र आफूले ‘ब्याक’ नहुने बताइरहेका छन्। केही दिनअघि पत्रकारहरूसँगको अन्तर्क्रियामा ओलीले यसलाई आफूले रावलको ‘स्नेहपूर्ण’ सुझावका रुपमा लिएको बताएका थिए।

तर रावलले अध्यक्षको उम्मेदवारी दिए पनि उनी पुनः अध्यक्ष चयन हुने ओलीको चाहनामा बाधक बन्ने देखिँदैनन्। किनभने महाधिवेशन प्रतिनिधिमा अधिकांश ओली पक्षधर छन्। त्यसकारण ओलीको विकल्प ओली नै हुने देखिएको छ। यद्यपि रावलसँग चुनावी प्रतिस्पर्धा गर्न भने उनी मानसिक रुपमा तयारै छन्।

चुनाव सुरु हुन केही घण्टामात्र बाँकी रहँदा पनि केहीबाहेक अधिकांश नेताले उम्मेदवारी घोषणा गर्न सकेका छैनन्।

उद्घाटनका बेला ओलीले नै भनेका थिए– ‘आज उद्घाटन भयो। भोलि बन्दशत्र हुन्छ। पर्सी हामीले चितवनबाट एकतावद्ध एमाले दिनेछौं।’

सहमतिको प्रयास जारी रहने भनिए पनि मतदानका लागि एक सय वटा विद्युतीय मेशिन भने तयारी अवस्थामा राखिएका छन्।

यसपालि एमाले महाधिवेशनमा पर्चा र पम्प्लेटहरू छैनन्। प्रचारका लागि मोबाइलमा मिस्कल अलर्ट, एसएमएस र भिडियो सन्देशहरू पठाउने प्रविधिहरूको प्रयोग गरिएको छ।

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME