सन् १९९१ मा इराकले कुवेतमाथि हमला गर्दा अमेरिकाले कुवेतलाई साथ दियो। ज्वाइन्ट चिफअफ स्टाफ थिए कोलिन पावेल। त्यतिबेला उनले इराकी सेनाका विषयमा दिएको अभिव्यक्ति निकै चर्चामा थियो। उनले इराकलाई चाँडै पराजय गर्ने भन्दै भनेका थिए–वी आर गोइङ टु कट इट अफ अफ, एण्ड देन वी आर गोइङ टु किल इट।’
खाडी युद्धका बेला चलाएको ‘अपरेशन डेजर्ट’ र व्यापक रुपमा प्रयोग गरिएको सैन्य शक्तिले चाँडै नै इराकी सेनामाथि अमेरिकाले विजय प्राप्त गर्यो। उनको रणनीतिलाई ‘पावेल सिद्धान्त’ का रुपमा त्यसपछिका वर्षमा अमेरिकी सुरक्षा रणनीतिमा पनि समावेश गरियो।
इराकका विषयमा दिएको यस्तो खालको अभिव्यक्ति र त्यसपछि इराकी नेता सद्धाम हुसेनमाथिको विजयले उनलाई अमेरिकामा निकै चर्चित बनाएको थियो। उनी एक हिसाबले घरघरै नाम लिइने व्यक्ति बनेका थिए।
तर एक दशकपछि नै उनको त्यो व्यक्तित्वमा कालो धब्बा लाग्यो। कारण थियो–त्यही इराक।
सन् २००३ को फेब्रुअरी ५ मा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा उनले दुई वटा ठूला स्क्रीनमा स्याटेलाइट तस्बिर र डायग्राम प्रदर्शन गर्दै इराकमा ठूलो मात्रामा विनाशकारी हतियार भएको दाबी गरे। यसका लागि अमेरिकी गुप्तचर स्रोतलाई हवाला दिएका थिए उनले। उनले दाबी गरेका थिए–इराकले विनाशकारी हतियारको गोप्य भण्डारण गरेको छ र घुम्ती प्रयोगशाला, ट्रक र रेल कारहरु इराकसँग छन्।
उनले केही इराकी नेतासँग रासायानिक तथा जैविक हतियार रहेको र आणविक हतियार पनि हुन सक्ने भएकाले त्यो गम्भीर खतरा साबित हुने उल्लेख गर्दै त्यसलाई गुप्तचर संयन्त्रले प्रमाणित पनि गरेको दाबी गरेका थिए। ‘सेप्टेम्बर ११ पछिको विश्वमा आमविनाशकारी हतियारसहितका सद्धाम हुसेनलाई केही महिना या वर्ष छाड्नु विकल्प होइन,’ उनले घोषणै गरेका थिए।
धेरैले उनले राष्ट्रसंघमा दिएको भाषणको प्रशंसा गरे। तर बेलायतको च्यानल फोर न्युजले पावेलले पेश गरेका कागजात अमेरिकी विद्यार्थी इब्राहिम अल माराशीको निबन्धबाट चोरी गरिएको र पूराना सामग्रीमा आधारित रहेको भनी रिपोर्ट प्रसारित गर्यो। २००४ मा पनि इराक सर्भे ग्रुपले पावेलले इराकसँग आमविनाशकारी हतियार छ भनेर प्रस्तुत गरेका प्रमाण गलत रहेको निष्कर्ष निकाल्यो।
पछि विदेश मन्त्रालयले पनि पावेलको भाषणको ड्राफ्टमा दर्जनौं तथ्यगत समस्या रहेको पत्ता लगाएको थियो।
बिस्तारै जनतालाई युद्धको समर्थक बनाइयो
सन् २००२ को अक्टोबरमा अमेरिकी कंग्रेसले ‘इराक रिजोलुसन’ पास गर्दै इराकमाथि सैन्य आक्रमण गर्ने नगर्ने निर्णय गर्ने अधिकार राष्ट्रपति जर्ज बुशलाई दियो। जनवरी २००३ मा गरिएको एक सर्वेक्षणमा अधिकांश अमेरिकी इराकमाथि आक्रमणभन्दा कूटनीतिक तरिकाबाट यसलाई सुल्झाउनुपर्ने पक्षमा देखिएका थिए। तर युद्धका पक्षमा जनतालाई पार्न अमेरिकी सरकारले जनताबीच अभियान नै थाल्यो। त्यसपछि ८५ प्रतिशत अमेरिकीहरु सद्धाम हुसेनले आमविनाशकारी हतियार राखेको कुरामा विश्वस्त भए। २००३ को फेबु्रअरीसम्ममा ६४ प्रतिशत अमेरिकीहरु इराकमाथि सैन्य कारबाहीको पक्षमा देखिइसकेका थिए।
अनि, फेब्रुअरी ५ मा पावेलले राष्ट्रसंघमा गरेको भाषण इराकमा आमविनाशकारी हतियार रहेको दाबी गरे। भाषणमा पावेलले जर्मनीमा बसोबास गर्ने इराकी नागरिक रफिद अहमद अल अलवान अल जानावीको दाबीमा आधारित तथ्यहरु प्रस्तुत गरेका थिए। पछि रफिदले आफ्नो दाबी गलत रहेको बताए।, यस्तै, पावेलले इराक र अल कायदाबीच सम्बन्ध रहेको भनेर बताएको तथ्य पनि गलत साबित भयो।
पावेलको भाषणपछि अमेरिका,बेलायत, इटाली, अस्ट्रेलिया, डेनमार्क, जापान र स्पेनले इराकमा सैन्य आक्रमण गर्ने रिजोलुसन प्रस्ताव गरे। तर नेटो सदस्य मुलुकहरु क्यानडा, फ्रान्स, जर्मनी, रुस भने यसविरुद्ध थिए। सैन्य कारबाहीभन्दा कूटनीतिलाई निरन्तरता दिनुपर्छ भन्नेपक्षमा उनीहरु थिए।
अमेरिकी गठबन्धनले सैन्य कारबाहीको तयारी गरिरहँदा बुशले १७ मार्च २००३ मा देशवासीलाई सम्बोधन गर्दै सद्धाम हुसेन र उनका दुई छोराहरुलाई आत्मसमर्पण गर्न र इराक छाड्न ४८ घण्टे अल्टिमेटम दिए।
अल्टिमेटमको समय सकिएपछि अमेरिकाले इराकमाथि आक्रमण गर्यो। सद्धाम हुसेन पक्राउ परे। लाखौं इराकीले ज्यान गुमाए। केही हजार अमेरिकी सेनासमेत मारिए।
तर पावेलले दाबी गरेजस्तो विनाशकारी हतियार इराकमा कहिल्यै भेटिएन।
यसले उनको त्यो लोकप्रिय छबिमा कालो धब्बा लाग्यो। सन् २००५ मा विदेशमन्त्रीबाट बाहिरिएपछि दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए–त्यो मेरो रेकर्डको धब्बा हो।
उनले राष्ट्रसंघमा गरेको भाषण यो लिंकमा हेर्नुहोला
भियतनाम युद्धबाट उदाएका थिए
पावेलको व्यक्तित्व भियतनाम युद्धबाट उदाएको थियो।
उनी भियतनाममा दुई पटक खटिए, जसले उनको ३५ वर्षे सैन्य करिअरलाई आकार दिएको थियो। उनी दुवै पटक घाइते भए। पहिलोपटक बाँसको ट्र्यापमा परे र खुट्टामा विषालु किलाले छेड्यो। दोस्रो पटक पनि उनी हेलिकोप्टर दुर्घटनामा मुस्किलले बाँचे। आफू दुर्घटनामा परे पनि अरुलाई बचाएवापत् उनले ‘सोल्जर्स मेडल’ पाए। तर त्यसको तीन महिनापछि नै उनी भियतनाम फर्किए। उनको बटालियनको एउटा युनिटले माइ लाइ भन्ने ठाउँमा सयौं भियतनामी सर्वसाधारणको हत्या गर्यो।
उनले एउटा संस्मरणमा आफ्नै आलोचना गर्दै लेखेका छन्,‘एक विनाशक लोलुपताले सेनालाई संक्रमित बनाएको थियो र म त्यसको एक अंग थिएँ।’
भियतनाम युद्धपछि उनले सैन्य वरियतामा चाँडो उपलब्धी हासिल गरे। सन् १९८३ देखि १९८६ सम्म उनी रक्षामन्त्री कास्पर वेनवर्गरको वरिष्ठ सैन्य सहायक थिए।
त्यतिबेला उनले सेनामार्फत् केन्द्रीय गुप्तचरनिकाय सिआइएलाई मिसाइल पठाउने व्यवस्था गर्थे। सिआइएले उक्त मिसाइल इरान र निकारागुवाका विद्रोहीलाई बेच्थ्यो।
१९८९ को अक्टोबर १ मा जर्ज बुशले उनलाई ज्वाइन्ट चिफ अफ स्टाफ नियुक्त गरे। ५२ वर्षकै उमेरमै यो पदमा पुग्ने उनी पहिला व्यक्ति थिए भने यो पदमा पुग्ने पहिला काला जातिका व्यक्ति थिए।
आफ्नो पदावधिमा उनले दुई दर्जनजति अमेरिकी सैन्य अभियानको नेतृत्व गरे र सोभियत संघको पतनपछि अमेरिकी रणनीतिलाई नयाँ दिशा दिने विषयमा सहयोग गरे। जसअनुसार सैन्य बलको संख्यामा २५ प्रतिशत कटौति गरियो।
यो अवधिमा उनले २८ वटा संकट समाधानमा नेतृत्व गरे। जसमा पानामाका जनरल म्यानुअल नोरिगालाई हटाउन अमेरिकाले आक्रमण गर्यो भने खाडी युद्धका बेला अपरेशन डेजर्ट सञ्चालन गरे। यसले उनको ख्यातिलाई बढायो।
तर, बोस्निया संकटमा तत्कालीन राष्ट्रसंघका लागि अमेरिकी दूत म्याडलिन अलब्राइट, रक्षामन्त्री लेसली एस्पीनसँगको मतभेदका कारण उनले म्याद सकिनुअगावै सेप्टेम्बर ३०, १९९३ मा ज्वाइन्ट चिफ अफ स्टाफबाट राजीनामा दिए।
अवकाशपछि बालबालिकाको वकालतका लागि सक्रिय समूह ‘अमेरिका प्रोमाइस’ मा सक्रिय रहे।
सन् १९९५ मा उनले रिपब्लिकन पार्टीमा लाग्ने घोषणा गरे र रिपब्लिकन उम्मेदवारको समर्थनमा अभियान सुरु गरे। र, १९९६ को राष्ट्रपति निर्वाचनमा उनलाई उपराष्ट्रपतिको सम्भावित उम्मेदवारका रुपमा पनि हेरियो। तर उनले त्यसमा रुची देखाएनन्। यद्यपि उनले न्यूह्याम्पशायरको उपराष्ट्रपतिको प्राइमरीको लिखित मतदानमा उनले जितेका थिए।
त्यस्तै २००० को राष्ट्रपतिनिर्वाचनमा पुनः सम्भाव्य उम्मेदवारका रुपमा चर्चा भयो। यसपटक पनि उनले अस्वीकार गरे। उक्त निर्वाचनमा टेक्सासका गभर्नर जर्ज डब्लु बुसले राष्ट्रपति जिते। उनले पावेललाई २००१ मा विदेशमन्त्री नियुक्त गरे।
२००१ मा ट्वीनटावरमाथि आक्रमणपछिका २ वर्षमा उनले विभिन्न देशका अधिकारीलाई १५ सय पटक फोन गरे, जसमा उनले अल कायदाविरुद्धको कारबाहीका लागि वकालत गरिरहे, विशेषगरी अफगानिस्तान र पाकिस्तानबाट सहयोग मागे।
सुरुमा उनी इराक आक्रमणको विरुद्धमा थिए। तर पछि सुरक्षा परिषद् बैठकमा उनले सद्धाम हुसेनसँग जैविक हतियार रहेको र अझ बढी उत्पादन गर्ने क्षमता रहेको दाबी गरेका थिए।
बुस पुननिर्वाचित भएपछि आतंकवादविरुद्ध अमेरिकी अभियानलाई लिएर उनको आलोचना भयो। उनी २००५ मा पदबाट बाहिरिए। सन् २००६ मा सिनेटर जोन म्याककेनलाई पत्र लेख्दै उनले भनेका थिए,‘विश्वले आतंकवादविरुद्धको हाम्रो लडाइँको नैतिक आधारमा शंका गर्न थालेको छ।’ उनले संसदमा ल्याइएको नयाँ अध्यादेशले विदेशमा रहेका आफ्ना सेनालाई संकटमा पार्ने चेतावनी पनि दिएका थिए।
सन् १९९५ को एक संस्मरणमा उनले आफूलाई ‘कठिनाईको सामना गर्दै चारतारे जर्नेल र राष्ट्रपतिका सल्लाहकारसम्म बनेको ‘विना आशाको एक काले केटा’ भनेका छन्।
विभेदको शिकार
उनी सन् १९३७, अप्रिल ५ मा आप्रवासी जमैकन बाबुआमाको कोखबाट जन्मेका थिए। उनले जीवनका सुरुवाती दिनहरु हार्लिममा बिताए। त्यसपछि उनी ६ वर्षको हुँदा परिवार ब्रोङस सर्यो।
दोस्रो विश्वयुद्ध र कोरियाली युद्धका कथाबाट प्रेरित भएर उनी न्युयोर्कको सिटी कलेज पढ्दै गर्दा रिजर्भ अफिसर्स कप्र्सको तालिममा भर्ना भए। सन् १९६४ मा नागरिक अधिकार ऐनले जातीय विभेदलाई गैरकानुनी मान्नुअगावै उनी सेनामा भर्ना भइसकेका थिए। तर सेनाको अधिकृतका रुपमा उनी रेस्टुँरा या होटल जान सक्दैनथे, किनभने उनी काला जातिका थिए। सेना एकीकृत भइसके पनि जातीय विभेद कायमै थियो।
कायमै छ इराकी आक्रोश
उनको निधनपछि पनि उनीप्रति आक्रोश इराकीमा कायमै छ। इराक तहसनहस हुनुमा उनैलाई जिम्मेवार ठान्छन् इराकीहरु।
‘उनले झुट बोले (राष्ट्रसंघमा) र हामी कहिल्यै समाप्त नहुने युद्धमा फस्यौं,’ मरियम नामकी ५१ वर्षीया लेखिका भन्छिन्।
मुन्तादिर अल जइदी नामका इराकी पत्रकारले ट्वीटमा लेखेका छन्, ‘इराकमा गरेको अपराधका लागि अदालतमा नउभिई कोलिन पावेलको निधन हुँदा म दुःखी छु।’ उनै जइदीले सन् २००८ मा जर्ज डब्लु बुशमाथि जुत्ता प्रहार गरेका थिए।
सन् २०११ मा पावेलले अल जजिरासँग गुप्तचरले आफूलाई ‘मिसलिड’ गरेका कारण अमेरिकी आक्रमण भएकोमा आफूलाई पश्चाताप भएको र यो आफ्नो रेकर्डको धब्बा भएको बताएका थिए। उनले गुप्तचरले प्रयोग गरेका धेरै स्रोत गलत भएको बताएका थिए।
अर्का इराकी पत्रकार सैफ सलाह अल हेइतिले पनि ट्वीट गर्दै भनेका छन्, ‘उनीसहित उनलाई सहयोग गर्ने र सहभागी हुने सबैलाई भगवानले जज गर्नेछन्।’
‘उनको पश्चातापले हामीलाई के ग¥यो र? पूरै देश ध्वस्त भयो र हामीले त्यसको मूल्य तिरिरहनु परेको छ,’ युद्धमा आफ्नो पिता गुमाएका अल रुवाईले भनेका छन्।
युद्धको विनाश
अमेरिका, बेलायत, अस्ट्रेलिया र पोल्याण्डको संयुक्त फौजले सन् २००३ को मार्च १९ मा हवाई आक्रमण सुरु गरे। यो अभियान एक महिना चल्यो। जसमा २६ वटा कारबाही भए। औपचारिक रुपमा यसलाई १ मे २००३ मा समाप्त भएको घोषणा गरियो। उक्त दिन बुशले मुख्य कारबाही सकिएको घोषणा गरेका थिए। सन् २०११ मा मात्र अमेरिकी सेना फिर्ता भयो। इराक युद्धमा कति मानिस मारिए भन्ने यकिन कुनै तथ्यांक छैन। विभिन्न संस्थाहरुले सार्वजनिक गरेको तथ्यांक फरक फरक छन्।
‘इराकबडीकाउन्ट डट ओआरजी’ का अनुसार सर्वसाधारण र सैनिक गरेर इराकमा २ लाख ८८ हजारको मृत्यु भयो। स्टाटिस्टा डट कमका अनुसार सबैभन्दा धेरै सर्वसाधारणको मृत्यु सन् २००६ मा भयो। उक्त वर्ष २९ हजार ५ सय १७ जनाको मृत्यु भएको थियो।
यस्तै, इराक परिवार स्वास्थ्य सर्भेले सन् २००३ मार्चदेखि जुन २००६ सम्म हिंसाजन्य घटनाका कारण १ लाख ५१ हजार जनाको मृत्यु भएको जनाएको छ भने लान्सेट सर्भेले उक्त अवधिमा हिंसाजन्य घटनाका कारण ६ लाख १ हजार २७ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ।
एपी, वाशिङटन पोस्ट, अल जजिरालगायतको सहयोगमा
Comments