सन् २०१४ को नोभेम्बर २६ र २७ मा काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलन आयोजना भयो। जसअनुसार नेपालले सार्कको अध्यक्षता लियो। १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमा तय भयो। मिति पनि तोकियो- १५ र १६ नोभेम्बर २०१६।
तर तोकिएको मितिभन्दा २ महिनाअघि १८ सेप्टेम्बरमा भारतको जम्मुकश्मीरको उरीमा आतंकवादी हमला भयो। जसमा १७ सैनिक मारिए। करिब ३० जना घाइते भयो। यो आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाउँदै भारतले तयारी अवस्थामा रहेको सार्क सम्मेलन बहिस्कार गर्यो। त्यही बेला अफगानिस्तान, बंगलादेश र भुटानले पनि सम्मेलनमा सहभागी हुन नसक्ने बताए। सम्मेलन रोकियो।
पाकिस्तान अझै सार्क सम्मेलन गर्न चाहन्थ्यो। त्यसैले पाकिस्तानका तत्कालीन प्रधानमन्त्री शाहिद खक्कान अब्बासीले नेपालको भ्रमण गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सार्क सक्रिय बनाउन आग्रह गरे।
त्यसपछि राष्ट्रसंघ महासभाको अवसर पारेर नेपालले आठ वटै सार्क मुलुकका विदेशमन्त्रीको बैठक आयोजना गर्याे। तर तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज बीचैमा उठेर हिँडिदिँदा बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।
गत वर्ष असोजमा नेपालले भिडियोमार्फत् सार्क मन्त्रिपरिषद्को बैठक आयाेजना गरेकाे थियो। त्यो बैठकमा पनि नेपालले यथाशिघ्र १९ औं शिखर सम्मेलन हुनुपर्नेमा जोड दिँदै यसको व्यावहारिक विकल्प खोज्न सदस्यमुलुकसँग आग्रह गरेको थियो।
भारतीय नरेन्द्र मोदीले २ चैत २०७६ मा सार्क शीर्ष नेताहरुको भिडियो सम्मेलन आयोजना गरेका थिए। त्यसमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान सहभागी भएनन्।
१९ औं सम्मेलनकाे पनि ६ वर्ष बितिसकेको छ। विशेषगरी भारत र पाकिस्तानबीचको द्वन्द्व र तिक्तताका कारण यतिखेर सार्क मृतप्रायः अवस्थामा छ। बरु भारतले पाकिस्तानलाई एक्ल्याउन अगाडि बढाएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का बैठक नियमित भइरहेका छन्। गत चैतमा बिमस्टेकको १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक भएको थियो।
यहीबेला सार्क संगठनको भविष्यलाई अझ अन्योलमा बनाउने गरी सदस्य मुलुक अफगानिस्तान राजनीतिक संकटमा फसेको छ। अफगानिस्तानमा अतिवादी तालिवान युद्धमार्फत् सत्तामा आएको छ। तालिबानले औपचारिक रुपमा सरकार गठन गरिनसके पनि अब याे मुलुक अतिवादीहरुको हातमा पुगिसकेको छ। राष्ट्रपति असरफ घानी देश छाडेर भागिसकेका छन्।
सन् २००७ मा भारतको नयाँदिल्लीमा आयोजित १४ औं शिखर सम्मेलनबाट अफगानिस्तान सार्कको कान्छो सदस्य मुलुकका रुपमा भित्रिएको थियो।
पछिल्लो घटनाक्रमले सार्कमा कस्तो असर गर्छ? सार्कको भविष्य के हुन्छ?
‘सार्क यसै पनि थला परेर बसेको छ, अफगानिस्तान घटनाले यसको सान्दर्भिकता अझ बढाएजस्तो लाग्छ,’ परराष्ट्रविद् डा दिनेश भट्टराई भन्छन्, ‘भारत र पाकिस्तानबीचको सम्बन्धलाई सुधार गरेर सार्कलाई पुनः जीवित गर्न सक्यो भने यस क्षेत्रका समस्या समाधान हुनसक्थ्यो।’
तर सार्कलाई पुनः चलायमान बनाउन अन्य मुलुकभन्दा भारत र पाकिस्तानबीचकै समझदारीमा भर पर्ने उनको भनाइ छ।
सार्क स्थापनायता भएका सम्मेलनमा आतंकवादविरोधी थुप्रै निर्णय भइसकेको अवस्थामा अफगानिस्तान घटनाले सबै सदस्य मुलुकलाई असर गर्न सक्छ भनेर यो संगठनलाई पुनःजीवित गराउनुपर्ने उनले बताए। तर यो घटनाले सार्कको सान्दर्भिकता अझ बढेको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख प्रेम खनाल विद्रोहीहरु सत्तामा आइसकेपछि उनीहरुले कस्तो नीति अवलम्बन गर्छन् भनेर अहिल्यै भन्न नसकिने बताउँछन्। तालिबानले सार्कमा नबस्ने या अतिवादका रुपमा सत्तामा उदय भएको उसलाई सार्क सदस्य मुलुकका रुपमा राख्न नसक्ने आँकलन पनि गर्न थालिएका छन्। तर, खनालले भने, ‘उनीहरुलाई पनि छिमेकी मुलुक, अन्तर्राष्ट्रिय समुदायको समर्थन, साथ चाहिने भएकाले क्षेत्रीय संगठन चाहिँदैन भन्न नसक्लान्।’
सार्कको अध्यक्ष मुलुकको हैसियतले यस क्षेत्रमा सन्तुलन कायम राख्न नेपालले भूमिका निर्वाह गर्नुपर्ने कूटनीतिज्ञहरुको राय छ।
Comments