यसरी ढलेको थियो ३२ वर्षअघि बर्लिनको पर्खाल

अमृत दाहाल/ काठमाडौं - दोस्रो विश्वयुद्ध समाप्त भएपछि बर्लिन सहरको स्थिति अचम्मको बनेको थियो। यो सहरलाई चार मुलुकले नियन्त्रणमा लिएका थिए। ती थिए–सोभियत संघ, अमेरिका, बेलायत र फ्रान्स।
सन् १९४८ मा एक अलग देश पश्चिमी जर्मनीलाई अस्तित्वमा ल्याउने प्रयास गरियो। तर त्यसमा स्टालिन असहमत थिए।
स्टालिनले बदला लिनका लागि आफ्नो क्षेत्रसँग जोडिएको पश्चिमी बर्लिनको भागलाई पश्चिमी जर्मनीसँग अलग गरिदिए।

अवस्था यस्तो बन्यो कि पूर्वी जर्मनी आसपास क्षेत्रका लागि पश्चिमी बर्लिन स्थायी रुपमा घाँटीको हड्डी बन्यो र १३ अगष्ट १९६१ मा रातारात अवस्था नाटकीय रुपमा परिवर्तन भयो।

बर्लिन पर्खाल
१३ अगष्टको बिहानै १ बजे पूर्वी जर्मनीका सीमा प्रहरी र सशस्त्र बल सोभियत संघको नियन्त्रणमा रहेको क्षेत्रको सीमामा तैनाथ गरिए। अर्कोतर्फ थिए अमेरिका, बेलायत, फ्रान्स र पश्चिमी बर्लिनका प्रहरी।

पूर्वी जर्मनीतर्फ ठूलो संख्यामा काँडेदार तार लगाउन सुरु गरियो। कंक्रिटका पोल रातारात ठड्याइए।

यहाँसम्मकी बिजुलीको खम्बा पनि घेराबन्दीमा परेको थियो।

चार दिनपछि पूर्वी जर्मनीले कंक्रीटको स्थायी पर्खाल निर्माण गर्न सुरु गर्‍यो।

यही नै थियो बर्लिनको पर्खाल।

पूर्वी जर्मनीबाट पश्चिमतर्फ भइरहेको पलायन नै यो पर्खाल निर्माणको कारण थियो। त्यतिखेर अवस्था यस्तो थियो कि, पूर्वी जर्मनीका हरेक छैटौं व्यक्ति पश्चिम जर्मनी गइरहेका थिए। र, यो पलायन बर्लिनको बाटोबाट भइरहेको थियो।

डाक्टर, प्राध्यापक, इन्जिनियर हरेक पढेलेखेका मानिसहरु पश्चिम जर्मनीतर्फ भागिरहेका थिए।

यो देखिरहेको पूर्वी जर्मनीको कम्युनिष्ट प्रशासन १९५८ पछि चनाखो भयो। सरकारले अपनाएको कडा तथा नरम दुवै खालका नीतिले पलायन रोक्न सकिरहेको थिएन।

बर्लिनलाई नियन्त्रणमा लिएका चारै मुलुकबीच सहरमा उनीहरुको नियन्त्रण क्षेत्रका सीमा खुला राख्ने सहमति भएको थियो।
यही सहमतिले पूर्वी जर्मनीबाट पलायनलाई बढावा दिइरहेको थियो।

सन् १९६० को मेमा पूर्वी जर्मनीमा गुप्तचर प्रहरी संगठन स्थापना भयो। तर यसले पनि पलायन पूरै रोक्न सकेन । यसले पलायन हुने ५ जनामध्ये एक जनालाई मात्र पक्राउ गर्न सफल भइरहेको थियो।

अब एकमात्र विकल्प थियो–पश्चिम जर्मनीसँग अलग हुनु।

यसबाट पूर्वी जर्मनीका मानिसलाई पलायन हुनबाट रोक्न पनि सकिन्थ्यो र दुवै जर्मनीबीच सम्पर्क पनि कायम राख्न सकिन्थ्यो।

पूर्वी जर्मनीका अधिकारीहरुले ५० को दशकबाटै यो विषयमा जोड दिइरहेका थिए। तर सोभियत संघले कूटनीतिक रुपबाट समाधान हुनुपर्छ भन्दै भिटो प्रयोग गर्दै आएको थियो।

सन् १९६१ को मे महिनामा पूर्वी जर्मनीका नेता वाल्टर उलब्रिच्टले सोभियत संघसँग यसबारेमा औपचारिक रुपमा आग्रह गरे।

सोही वर्षको जुन महिनामा सोभियत नेता निकिता खुस्चेभ र अमेरिकी राष्ट्रपति जोन एफ केनेडीबीच भेट भयो।

भेटलगत्तै जुलाई महिनाको अन्यतिर सोभियत संघले बर्लिनको पर्खाल बनाउने योजनालाई स्वीकृति दियो।

पर्खाल बनाउने योजनालाई केहीसमय गोप्य राखियो। किनभने योजना सार्वजनिक गरिँदा पूर्वी जर्मनी छाड्ने योजनामा रहेकाहरुबीच भागदौड मच्चिन सक्थ्यो।

खु्रस्चेभले पूर्वी जर्मनीमा आफ्ना राजदूतमार्फत् वाल्टर उलब्रिच्टलाई सन्देश पठाए। जसमा थियो–यो काम कुनै पनि हालतमा शान्तिसम्झौता समाप्त हुनुअघि पूरा हुनुपर्छ।

सोभियत संघले त्यसबेला पश्चिमा मुलुकहरुलाई भनेको थियो–शान्ति सम्झौताका लागि तयार हुनुपर्छ, नभए पश्चिमी बर्लिनबाट फिर्ता जान नयार हुनु।

त्यसपछि पश्चिमा मुलुकहरुले शान्ति सम्झौताअन्तर्गत बाध्य भएर पूर्वी जर्मनीलाई स्वतन्त्र देशका रुपमा मान्यता दिए र जर्मन डेमोक्रेटिक रिपब्लिक अस्तित्वमा आयो।

यद्यपि विश्वले पूर्वी जर्मनीलाई सोभियत संघको कठपुतली देशका रुपमा लियो।

स्वतन्त्र मुलुकको मान्यता पाउनेबित्तिकै पूर्वी जर्मनीले दुवै मुलुक जोड्ने मार्गमा नियन्त्रण हासिल गर्‍यो, जसमा सडक, रेल्वे र हवाई तीनै थिए।
त्यतिबेला अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले आफ्नो भाषणमा पश्चिमी जर्मनीलाई बचाउन युद्धको हदसम्म जान तयार रहेको चेतावनी दिएका थिए। तर पूर्वी बर्लिन यो विषयमा मौन रह्यो।

योजना कार्यान्वयन सुरु
त्यसपछि पर्खाल बनाउने अभियान ‘अपरेशन पिंक’ सुरु भयो। निकै गोप्य तरिकाबाट पश्चिमी बर्लिनलाई घेराबन्दी गर्ने योजनामा काम सुरु भयो।

कैयौं सरकारी अधिकारीहरुलाई समेत यो योजना थाहा दिइएन। पूर्वी जर्मनीमा जम्मा ६० जनालाईमात्र थाहा थियो के हुँदैछ भनेर। तीमध्ये एक थिए–पूर्वी जर्मनीको कम्युनिष्ट पार्टीमा दुई नम्बरको बरियतामा रहेका नेता एरिक होनेकर। पार्टी पोलिटब्युरोमा उनको पद सुरक्षा सचिव थियो। उनी देशको आन्तरिक तथा बाह्य दुवै मोर्चामा रक्षाका लागि जिम्मेवार थिए।

२४ जुलाईमा पार्टीको सुरक्षा विभागले हिसाब लगायो २७ हजार मानिसलाई काममा लगाउनुपर्छ र यो काममा ५ सय टन काँडेदार तार चाहिन्छ।
फलामे काँडेदार तारलाई सीमावर्ती क्षेत्रबाट बिस्तारै राजधानी पुर्‍याइयो। यो काम भइरहँदा सुरक्षाका लागि ट्यांकसमेत तैनाथ गरिएको थियो।
यो काम यति गोप्य रुपमा गरियो कि यो योजनाका बारेमा पश्चिमा शक्तिहरुलाई सुइँकोसम्म भएन।

यद्यपि सिआइए र बेलायती गुप्तचर एजेन्सीले यसबारे अड्कल भने काटेका थिए। पश्चिम जर्मनीको गुप्तचर एजेन्सीले चान्सलर कोनराड एडेनाउएरलाई यो योजनाका बारेमा जानकारी दिएको थियो। तर कहिले बन्ला भन्ने थाहा थिएन।

१ अगष्टमा सोभियत नेता निकिता ख्रुश्चेभ र वाल्टरबीच फोनमा लामो वार्ता भयो। त्यसमा दुवैले बर्लिनको सुरक्षाको मुद्दा र पर्खाल लगाउने योजनाका बारेमा कुराकानी गरे।

र, १२ अगष्टमा वाल्टरले ‘अपरेशन पिंक’ कार्यान्वयन गर्न आदेश दिए र भोलिपल्ट १३ अगष्टमा बर्लिन पर्खाल बन्न सुरु भयो।

यो पर्खाल तत्कालीन समयमा शीतयुद्धको प्रतिक थियो। १९८० को दशकमा जब सोभियत संघ पतनको बाटोमा गयो, पूर्वी जर्मनीमा पर्खालको विरोधमा प्रदर्शनहरु हुन थाले। पूर्वी जर्मनीमा पनि राजनीतिक उदारीकरण सुरु भयो र कैयौं सीमा नियम खुकुलो बनाइए । अन्ततः ९ नोभेम्बर १९८९ मा यसलाई ढालियो। र, दुवै जर्मनी एक भए।

एक अनुमानअनुसार दोस्रो विश्वयुद्धपछि १९४९ र १९६२ बीच २५ लाख मानिस पूर्वी बर्लिन छाडेर पश्चिमी बर्लिन गए। पर्खाल लगाएको अवधिमा जम्मा ५ हजारले मात्र पूर्वी बर्लिन छाडे। तीमध्ये कतिपयले हट एयर बेलुनमा उडेर, सुरुङ खनेर, पर्खाल चढेर या तीव्र गतिको गाडीले पर्खाल भत्काउने उपाय अपनाए। पश्चिम बर्लिन छिर्ने प्रयासमा १७१ जनाले ज्यान गुमाए।

२७ माइल लामो यो पर्खाललाई पूर्वी जर्मनीले काँडेदार तार, आक्रमणकारी खतरनाक कुकुर र ५५ हजार बारुदी सुरुङले सुरक्षा दिएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

Comments

Popular posts from this blog

एमसीसी भर्सेस बीआरआई : दुई महाशक्ति मुलुकको ‘ब्याटलग्राउन्ड’ बन्दै नेपाल

कविता : यो भोटो कसको ?

Kaliprasad Rijal, Senior Lyricist