तर तत्कालीन केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को साउन ४ गतेको बैठकले पुस्तकालय निर्माण तत्कालका लागि स्थगित गर्ने निर्णय गर्यो।
यसलाई पुस्तकालयप्रेमीहरुले ‘पुस्तकालयप्रेमीका लागि कालो दिन’ भनेर टिप्पणी गरे।
‘तर सरकारले अर्को निर्णय नभएसम्मका लागि भवन निर्माण नगर्ने नगराउने भनेर रोक्यो। त्यो निर्णयको असर अहिलेसम्म कायम भइरहेको अवस्था हो,’ मैनालीले आयोमेलसँग भने।
त्यसपछि २०७७ चैत १८ गते तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुस्तकालय निर्माणको काम अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए। तर त्यो प्रस्ताव पनि अघि बढ्न सकेन ।
‘मैले आफ्नो तर्फबाट सक्ने कामहरु गर्न दिलोज्यानले लागिरहेको छु,’ पुस्तकालयका प्रमुख मैनाली भन्छन्, ‘अहिलेको मन्त्रिपरिषद्समक्ष यो कुरा पुगिसकेको अवस्था हो, मन्त्रालयका सचिवसँग कुरा राखिसकेको छु, शिक्षामन्त्री नियुक्त भएपछि पनि कुरा राखिन्छ र मन्त्रिपरिषद्ले निर्णय गर्नेबित्तिकै टेण्डर हुन्छ।’
२०७२ को भूकम्पले हरिहरभवनस्थित भवन क्षतिग्रस्त बनाएपछि राष्ट्रिय पुस्तकालयमा रहेका १ लाख ५० हजार पत्रपत्रिका र पुस्तक सुरुमा उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा राखियो। हालचाहिँ सानोठिमीको शिक्षा मानव स्रोत विकास केन्द्र परिसरमा राखिएको छ। मैनालीका अनुसार आगामी कात्तिक ५ सम्ममा पुस्तकालयको सेवा अस्थायी रुपमा सुरु गर्ने तयारी छ। तर, जमलस्थित भवनको निर्माणले सरकारी ‘ग्रीनसिग्नल’ नपाउँदा अन्योल भएको अधिकारीहरु बताउँछन्।
अभियन्ताहरुको लबिइङ
यहीबीचमा अभियन्ता तथा लेखकहरुले रत्नपार्कस्थित पूरानो बसपार्कमा काठमाडौं महानगरपालिकाले बनाउँदै गरेको व्यावसायिक भवनमा पुस्तकालय सार्न लबिइङ सुरु गरेका छन्। बसपार्कको भवन निर्माणको कार्यलाई रोकेर त्यसलाई पुस्तकालयको रुपमा प्रयोग गर्नुपर्ने उनीहरुको भनाइ छ।
‘स्थानीयले दान दिएको पूरानो बसपार्कको जग्गालाई महानगरले कुनै कम्पनीलाई व्यापारिक मुनाफाका लागि दिनु भनेको गलत हो, जति बन्यो त्यतिमै रोकिनुपर्छ,’ अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्, ‘मुनिपट्टी बसपार्क बनाउने र माथिल्लो भागमा पुस्तकालय सार्दा हजारौं मानिसहरु लाभान्वित हन्छन्, धेरैले पुस्तकालय प्रयोग गर्न सक्छन्।’
यसका लागि अभियन्ता तथा लेखकहरु यही असोज १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगे।
‘राष्ट्रपति पनि व्यक्तिगत रुपमा त्यो भवन बन्न दिनुहुन्न भनेर पहिलेदेखि नै लाग्नुभएको थियो,’ तुलाधरले भने, ‘त्यतिबेला सक्नुभएन, अहिले उहाँले नैतिक समर्थन दिनुभएको छ, यो अभियानमा लाग्नुस्, प्रधानमन्त्रीलगायतका निकायमा जानुस् भन्नुभएको छ।’
भूकम्प गएको ७ वर्ष पुग्न लाग्दा पनि पुस्तकालय भवनको पुनर्निर्माण सरकारको प्राथमिकतामा पर्न नसकेको र यही क्रम जारी रहने हो भने पुस्तकालयमा रहेका ग्रन्थ तथा दस्तावेजहरु नासिएर जाने र राष्ट्रिय ज्ञानको स्रोत नै सुक्ने उनीहरुको भनाइ छ।
यसका लागि राष्ट्रिय पुस्तकालयलाई तत्कालै नयाँ भवनमा स्थानान्तरण गर्न ढिला भइसकेको र पूरानो बसपार्कमा बनिरहेको ‘काठमाडौं भ्युटावर’मा पुस्तकालय सारी त्यसलाई विद्याको केन्द्र बनाउन उपयुक्त हुने अभियन्ताहरुको भनाइ छ।
२०६८ असार २६ गते बसेको काठमाडौं महानगरपालिकाको १८ औं नगरपरिषद् बैठकले निजी कम्पनीलाई बसपार्कले ओगटेको २४ रोपनी क्षेत्रमा व्यापारिक भवन बनाउने अनुमति दिएको थियो। त्यसपछि २०७१ फागुन २२ गते महानगरले एउटा निजी कम्पनीसँग ‘सार्वजनिक–निजी साझेदारी मोडल’ मा २९ तले बहुउद्धेश्यीय भवन निर्माणको सम्झौता गर्यो। २०७२ को भूकम्पपछि सम्झौताका अन्तरवस्तुमा हेरफेर गरी २०७२ भदौमा १२ तले व्यापारिक भवनको नक्सा पास भएको थियो।
सम्झौताअनुसार उक्त भवन २०७८ साउन ३० गते बनिसक्नुपर्थ्याे। तर निर्धारित समयसीमा बितिसक्दा पनि निर्माणकार्य आधा पनि पूरा हुन सकेको छैन।
उक्त भवनमा राष्ट्रिय पुस्तकालय स्थानान्तरण गर्न सके ज्ञानका स्रोतहरुको संरक्षण र संवद्र्धनमा ठूलो टेवा पुग्ने अभियन्ताहरुको भनाइ छ।
सडक आन्दोलनदेखि अदालतसम्म पुग्ने योजना
उक्त भवन निर्माण रोक्न र त्यहाँ पुस्तकालय सार्ने अभियानका लागि अभियन्ताहरु सडक आन्दोलन गर्ने र अदालतसम्म पुग्ने योजनामा छन्। तुलाधर भन्छन्, ‘भवन जति बन्यो त्यतिमै रोकियोस् भनेर तत्कालै प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, महानगर, अदालत जाने र सडकसम्मका विभिन्न कार्यक्रम गर्छौं, त्यसपछि राष्ट्रिय पुस्तकालय बचाउन के गर्ने भनेर योजना बनिरहेको छ, हामी यो अभियानमा निरन्तर लाग्छौं।’
सरकारले जमलमा पुस्तकालय बनाउला भनेर विश्वास भने उनलाई छैन। बन्यो भने पनि भवन बन्न वर्षौं लाग्ने र त्यतिन्जेलसम्म महत्वपूर्ण सम्पदाका रुपमा रहेका पुस्तकहरु नष्ट भइसक्ने तुलाधरको भनाइ छ।
‘जमलको त्यो ठाउमा बन्ला भनेर विश्वासै छैन, यसअघि पनि पुस्तकालयका लागि विभिन्न स्थानमा जग्गा दिने भनेको थियो सरकारले। त्यसैले यसमा सरकार गम्भीर छैन, जमलमा बन्छ भने ठीकै छ, तर भवन भन्न वर्षौं लाग्ला, त्यतिन्जेलसम्म भएका पुस्तक नष्ट भइसक्छन्,’ तुलाधर भन्छन्, ‘अहिलेका लागि बनिसकेको बसपार्कको भवनमा नै पुस्तक राख्नु नै सबैभन्दा उपयुक्त उपाय हो।’
निर्माणाधीन उक्त भवनको २ किलोमिटर वरपर १२५ वटा शैक्षिक संस्थाहरु रहेको तथा दैनिक हजारौं मानिस ओहोरदोहोर गर्ने भएकाले पनि सोही स्थान पुस्तकालयका लागि उपयुक्त रहेको उनको भनाइ छ।
अभियन्ता तथा लेखकहरु यज्ञराज थापा, सुजित मैनाली, अनिलहिमाल गौतम, किरण तण्डुकार, रुपा जोशी, आलोकसिद्धि तुलाधर, विजय श्रेष्ठ, सुशील प्याकुरेल, सन्जय अधिकारी, अनुषा ढुंगाना, सुसन वैद्य र कनकमणि दीक्षितले काठमाडौं भ्युटावरको निर्माण रोकी उक्त भवनमा राष्ट्रिय पुस्तकालय सार्नुपर्ने माग राष्ट्रपतिसमक्ष राखेका हुन्।
Comments