Skip to main content

एमालेको चितवन महाधिवेशनसँग किन झस्किरहेछन् प्रचण्ड?

अमृत दाहाल/ काठमाडौं 

तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ असार २९ गते भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा भगवान रामको राज्य अयोध्या भारतमा नभई नेपालमै भएको दाबी गरे। उनले उक्त कार्यक्रममा भनेका थिए, ‘हामी अहिले पनि ठानिरहेका छौं, हामीले सीता भारतका राजकुमार रामलाई दियौं, भारतका होइन, अयोध्याका रामलाई दिएका हौं हामीले। अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमपट्टीको गाउँ हो।’

त्यसपछि उनले रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा नै भएको भन्दै त्यहाँ अस्थायी मन्दिर निर्माण गरी राम,लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिए। त्यसपछि निकै तामझामका साथ त्यहाँ मूर्ति स्थापना गरियो।

प्रधानमन्त्री निवास बालुवाटारमा राम–सीताका मूर्तिहरुसँग तत्कालीन प्रधानमन्त्री केपी ओली

चितवन क्षेत्र नम्बर ३ मा पर्ने माडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनाव क्षेत्र हो। ओलीले माडी राम जन्मभूमि भएको त्यतिबेला गरेका थिए, जतिबेला तत्कालीन नेकपामा प्रचण्डसँगको टक्कर उत्कर्षमा पुगेको थियो।

अझ महाधिवेशन तयारीका क्रममा माडीमै पुगेर ओलीले माडी क्षेत्रको विकासको जिम्मा आफूले लिने बताएर प्रचण्डलाई स्पष्ट रुपमा ‘काउन्टर’ दिने सन्देश दिएका थिए।

ओलीले आफ्नै निर्वाचन क्षेत्रका विषयमा कुरा गरेपछि प्रचण्डले त्यसको प्रतिवाद गरे। गत वैशाखमा माडी पुगेका प्रचण्डले भने, ‘माडीको अयोध्याधाम नै राम जन्मभूमि भएको आधिकारिक र प्रमाणित गर्न अध्ययन र अनुसन्धान गर्नुपर्छ, यो गम्भीर विषय हो। यसमा सस्तो लोकप्रियता हासिल गर्न कसैले खोज्नुहुँदैन।’

यहीबीचमा एमालेको विधान महाधिवेशन समापनमा ओली आफैंले दशौं राष्ट्रिय महाधिवेशन बुटबलमा गर्ने घोषणा गरेका थिए। तर एकाएक फेरि चितवन सारियो । यो विषय पनि प्रचण्डलाई बिझ्यो।

गत कात्तिकमा पार्टीको भरतपुर महानगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले एमालेले महाधिवेशन चितवनमा गरेर आफू र माओवादी केन्द्रसँग बदला लिन खोजेको टिप्पणी गरे। माडीमा राम, लक्ष्मण र सीतालाई ल्याएर भिडाउँदा धेरै फाइदा हुने नदेखेपछि ओलीले बुटबलमा तय भएको महाधिवेशन चितवनमा सारेको प्रचण्डले बताएका थिए। उनले चितवन फेरि कुरुक्षेत्र बनेको बताएका थिए।

र, घटनाक्रमहरुले भनिरहेका छन्–पार्टी फुटाउन प्रमुख भूमिका खेलेको भन्दै ‘तुष’ राखिरहेका ओलीले प्रचण्डलाई ‘चिढ्याउन’ सबै खालका अस्त्र प्रयोग गरिरहेका छन्–चाहे त्यो माडीलाई राम जन्मभूमि भनेर होस् या प्रचण्ड र माओवादीलाई टक्करदिने गरी चितवनमा महाधिवेशन गरेर।

त्यतिमात्रै नभई प्रचण्डका जनयुद्धकालीन सहयोद्धा रामबहादुर थापा ‘बादल’ को राजनीतिक आधार क्षेत्र पनि चितवन नै हो। उनी अहिले प्रचण्ड र माओवादीलाई छाडेर एमालेमा छन्। ओलीले महाधिवेशनस्थलको रुपमा चितवनलाई नै रोज्नुको कारण पनि यसलाई मानिएको छ। चितवनमा महाधिवेशन गर्दा एमालेको पक्षमा जनलहर आउने र प्रचण्डलाई टक्कर दिन सकिने विश्लेषण ओलीले गरेका छन्। र, एमालेले अबको निर्वाचनमा बादल र प्रचण्डलाई भिडाए भन्ने पनि अनौठो मान्नुपर्ने छैन। उनै बादल अहिले महाधिवेशन आयोजक समितिको नेतृत्वमा छन्। बादलकै बलमा एमाले महाधिवेशन चितवन सारिएको र रणनीतिक रुपमा त्यसको फाइदा एमालेले लिने आँकलन गरेपछि ओलीले स्वीकृति दिएका हुन्।

अझ बादलले त केही महिनाअघि अबको निर्वाचनमा प्रचण्डलाई हराउने अभिव्यक्ति दिएका थिए। त्यसपछि माडीको कार्यक्रममा प्रचण्डले ‘आफू यही क्षेत्रबाट चुनाव लड्ने र आफूलाई कसैले हराउन नसक्ने’ बताएका थिए। प्रचण्ड र बादलबीच टक्कर भयो भने बादल र प्रचण्ड पक्षका माओवादी कार्यकर्ताका मत बाँडिने सम्भावना छँदैछ।

चितवनमा एमाले महाधिवेशन आयोजनाले प्रचण्ड पटक–पटक झस्किएको उनका अभिव्यक्तिहरुले बताइरहेका छन्। चितवन एमाले महाधिवेशनस्थल घोषणयता प्रचण्ड पटक–पटक चितवन पुगिरहेका छन्। उनले रौतहटको कटहरियामा शनिबार आयोजित सभामा पनि एमाले महाधिवेशनको सन्दर्भ उल्लेख गरे।

रौतहटमा उनले भनेका थिए, ‘चितवनमा अस्ति सानो पार्टीको महाधिवेशन भयो, अर्को अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दैछन् चितवनमा। मैले भनेको छु, धन्यवाद चितवनलाई खुब माया गरेका छौ तिमीहरुले।’

उनले एमालेले चितवनमा महाधिवेशन आयोजना गरेर प्रचण्ड र माओवादीलाई माया गर्न नगएको, बरु सिध्याउन गएको उल्लेख गर्दै भनेका थिए, ‘तर जनताको अगाडि दुनियाँको कुनै पनि तागतको केही लाग्ने छैन, हामी जित्नेछौं।’

चितवनमा सोमबार नै आयोजित अगुवा कार्यकर्ता भेलामा पनि प्रचण्डले यही कुरा दोहोर्‍याए। उनले चितवनमा एमालेले गर्न लागेको अधिवेशन आफूलाई सिध्याउने अधिवेशन भएको बताए। ‘प्रचण्डलाई सिध्याउने अधिवेशन हो त्यो, त्यहाँ के–को छलफल हुनु? छलफल हुने पनि होइन, केही पनि होइन, अधिवेशन चितवन ल्याउनुको मकसद माओवादीलाई सिध्याउनु हो,’ उनले भने।

एमाले महाधिवेशन आयोजना हुँदा चितवनको पर्यटनमा पनि सकारात्मक सन्देश जाने दाबी सो पार्टीले गरिरहेको छ।

यहीबीच, प्रचण्डपुत्री रेनु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाले सोमबार प्रचण्डसहितको सहभागितामा ‘समृद्ध भरतपुरका लागि विकास बहस’ चलायो। जसमा ऊर्जामन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्री, स्वास्थ्यमन्त्रीसहित मन्त्रीहरु र मन्त्रालयका सचिव र महानिर्देशकको जम्बो टोली नै भरतपुर पुग्यो।

महानगरका अधिकांश भाग प्रचण्डको निर्वाचन क्षेत्र ३ मा पर्छन्। विकास कार्यक्रम र विकास बहसमार्फत् प्रचण्ड यस क्षेत्रमा आफ्नो साख कायम राखिराख्न चाहन्छन्।

चितवनको राजनीतिक गणित
आगामी जेठमा स्थानीय तहको अवधि सकिँदैछ। त्यसैलाई दृष्टिगत गर्दै राजनीतिक दलहरु चितवनमा राजनीतिक प्रभाव बढाउने प्रतिस्पर्धामा छन्। अझ एमालेले त महाधिवेशनलाई चुनावी अभियानको अवसरमा रुपमा अघि बढाउने घोषणा औपचारिक रुपमै गरेको छ। केही दिनअघि आफूनिकटका सञ्चारकर्मीलाई अन्तर्वार्ता दिँदै महाधिवेशन आयोजक समितिका संयोजक बादलले भनेका थिए, ‘अब छिट्टै स्थानीय तहको चुनाव पनि हुँदैछ, यो अवसरलाई हामीले चुनावको तयारीका रुपमा हेरेका छौं।’

गत कात्तिक २७ देखि २९ सम्म सीपी मैनाली नेतृत्वको नेकपा मालेले पनि चितवनलाई नै महाधिवेशनस्थलको रुपमा रोजेको थियो।

राजनीतिक रुपमा चितवनमा माओवादी, कांग्रेस र एमाले तीनै दलको प्रभावशाली छन्। २०७४ सालको निर्वाचनमा चितवनका तीन क्षेत्रमध्ये २ वटामा एमाले र एउटामा माओवादी केन्द्र विजयी भएका थिए। चितवन १ बाट सुरेन्द्र पाण्डे, २ बाट कृष्णभक्त पोखरेल र ३ बाट प्रचण्डले प्रतिनिधिसभा निर्वाचन जितेका थिए। स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए। जसमा माओवादीकी रेनु दाहाल विजयी भएकी थिइन्। त्यसैगरी समानुपातिक मतमा नेपाली कांग्रेस तीनवटै क्षेत्रमा दोस्रो स्थानमा रहेको थियो भने एमाले पहिलो र माओवादी तेस्रो स्थानमा रहेका थिए।

Comments

Popular posts from this blog

Sanghiya Samajbadi Party formed under Rai

KATHMANDU, NOV 22 - The crusaders of federalism based on single identity on Monday announced the formation of a new party under the leadership of former CPN-UML Vice Chairman Ashok Rai. The new party Sanghiya Samajbadi Party was announced at a programme organised at a function organised at New Baneshwor in the Capital. Most of the leaders and cadres of the new party are from the UML and some are also from the Nepali Congress. The 98-member central ad hoc working committee includes eight vice chairmen, one general secretary, three deputy general secretaries and five secretaries. Bijaya Subba, Durga Mani Dewan, Prem Krishna Pathak, Bir Bahadur Lama, Rakanm Chemjong, Hemraj Rai, Mohammad Rijwan Ansari and Gopal Thakur have been appointed as the vice chairmen for the party whereas Rajendra Shrestha is the general secretary. Likewise, Ajambar Rai Kangmang, Radha Timilsina and Norsang Lama are the deputy general secretaries while Mina Gurung, Horilal Ch

Kaliprasad Rijal, Senior Lyricist

 It's interview time : Moment of interview with Kaliprasd Rijal.His famous songs are, BIHANA UTHNE BITTIKAI, JHAREKO PAT JHAI BHAYO, CHARI LE TA CHHADERA GAIHALI, etc. Most of his songs were sang by Narayan Gopal, famous singer of nepal.  Remembering his old days  Young kaliprasad, with his wife  Searching his old photos  Photo pose with legend lyricist  Kaliprasad in his office IT'S ME