'पत्रकारलाई पार्टीको कुनै पनि तह वा समूहको पद छाड्न' निर्देशन दिने नेपाल पत्रकार महासंघको सुदूरपश्चिम भेलाको निर्णय व्यावसायिक र निष्पक्ष पत्रकारिताका लागि महत्वपूर्ण आधार हो। क्षेत्रीयस्तरमा भएको निर्णय भएकाले होला, त्यसको खासै चर्चा भने भएन। भेलाले पार्टी र पत्रकारितामध्ये एउटा रोज्न आग्रह गरेको थियो। यति महत्वपूर्ण निर्णयलाई पनि अहिलेसम्म केन्द्रमा बहस या छलफलको विषय बनाइएको छैन।
सैद्धान्तिकरूपमा निष्पक्ष पत्रकारिताको दुहाइ दिँदै समाचारमा पत्रकारको विचार राख्न हुँदैन भनेर नयाँ पुस्तालाई घोकाइन्छ। तर, नेपाली पत्रकारिताको वास्तविकता सिद्धान्तभन्दा फरक छ। समाचारमा पार्टीगत प्रभाव हुनु र पत्रकार कुनै राजनीतिक दलप्रति आस्थावान् हुनु फरक विषय हो। आफ्नो राजनीतिक आस्था वा विचारलाई समाचारमा प्रतिविम्बित हुन दिनु हुँदैन भन्ने सबैले बुझेकै हो। तर, नेपाली पत्रकार राजनीतिक पार्टीमा संगठितरूपमा सदस्य छन्। पत्रकारिता गर्दागर्दै राजनीतिक पार्टीमा महत्वपूर्ण पदमा पुगेका उदाहरण पनि छन्। संगठितरूपमा कुनै दलमा आबद्ध वा कुनै दलका प्रचार कमिटी या विभागको नेतृत्वमा रहेकाहरूले लेख्ने समाचार कति निष्पक्ष होला? राजनीतिक दलका कार्यकर्ता र पत्रकारको पहिचानबीच बसेर काम गर्नेलाई त खासै केही असर नपर्ला, तर, उसले लेखेको समाचार पढ्ने पाठक भने अवश्य झुक्किन्छन्। घटना एउटै भए पनि आ-आफ्नो पार्टीलाई असर नपार्ने गरी दिइने समाचारले पाठकको मथिंगल रिंगाइरहेको हुन्छ। यसको अर्थ पत्रकारले राजनीतिक आस्था राख्न हुँदैन वा राजनीतिक गतिविधिमा भाग लिनै हुँदैन भन्ने होइन। पत्रकारको पनि आफ्नै स्वतन्त्र जीवन हुन्छ। राजनीतिक दलका गतिविधिमा भाग लिने उसको मौलिक अधिकार हो। तर, सञ्चारमाध्यमको घेरा र बाहिरको जिन्दगी फरक हुन्छ। कलम हातमा लिएपछि जुन दलको समर्थक भए पनि विशुद्ध पत्रकार हुनुपर्छ। समाचार जस्ताको तस्तै प्रस्तुत गर्नुपर्छ।
पत्रपत्रिका या सन्चारमाध्यममा राजनीतिक पार्टीका लगानी छन् कि छैनन्, छुट्टै अनुसन्धानको विषय हो। पत्रपत्रिकाहरु स्वतः राजनीतिक पार्टीका मुखपत्र बनिदिँदा ती पार्टीले गर्व गर्लान्, तर, त्यो पत्रिकाले आफ्नो आस्थाका कार्यकर्ताबाहेक अरु पाठकको मन भने कदापि जित्न सक्दैन। खासगरी एकथरि पत्रिकाबारे बनाइएका धारणा पार्टी पत्रकारिताकै कारण हो। छापामाध्यममा देखिएको यो रोग अब विस्तारै विद्युतीय माध्यममा सर्दैछ। आमसञ्चारमाध्यममध्ये सबैभन्दा बढी प्रभावकारी मानिएका रेडियो र टेलिभिजनमा समेत पार्टीगत प्रभाव लाद्न खोज्दा त्यसले दर्शक वा श्रोतामा कस्तो प्रभाव पार्ला, जनताले कस्तो ठानिरहेका होलान् भनेर कसैले सोचेका छैनन्। आफ्ना सञ्चारमाध्यमलाई आमजनताले कस्तो ठानिरहेका छन् भन्नेबारे कसैले पनि जनमत बुझ्ने प्रयास गरेको पाइँदैन।
राजनीतिक पार्टीभित्रका विकृति, विसंगति, भ्रष्टाचार र आपसी विवाद कमैमात्र सार्वजनिक हुनुको यो पनि एउटा कारण हो। हामीकहाँ कुनै एउटा राजनीतिक पार्टीप्रति आस्थावान भएकै आधारमा त्यो पार्टीको रिपोर्टिङ गर्न खटाउने चलन छ। यसबाट सम्बन्धित पार्टीका विज्ञापन गर्नलायक समाचार त सार्वजनिक होलान्, तर बहसमा ल्याउनुपर्ने वा विवादित विषय भने सार्वजनिक भएका कमै उदाहरण छन्। पार्टीभित्रका विवादित विषय सार्वजनिक गर्न वा नेताले चित्त दुखाइदिने समाचार सार्वजनिक गर्न पत्रकार स्वयम् हिच्किचाउँछन्। यसमा अर्को तत्वले पनि भूमिका निर्वाह गरिरहेको छ। त्यो हो, राजनीतिक पार्टीका शीर्ष नेताले समेत गर्ने चेतावनी मिसिएको गुनासो। पत्रकारहरु आफ्ना पार्टीप्रति सकारात्मक भएनन्, सहयोग गरेनन्, जे पायो त्यही लेख्छन् भनेर बेला बेलामा आउने नेताका अभिव्यक्तिले पनि दलका वास्तविक समाचार आइरहेका छैनन्।
विश्वसनीयता पत्रकारको अमूल्य सम्पत्ति हो। यसलाई आर्जन गर्न निकै समय लाग्छ, तर, विश्वसनीयता गुमाउन एक निमेष पनि लाग्दैन। पत्रकार महासंघको सुदुरपश्चिम भेलाले गरेको निर्णय निष्पक्ष र विश्वसनीय पत्रकारिताका लागि महत्वपूर्ण हो। तर, बिरालोको घाँटीमा घण्टी बाँध्ने कसले? सबै आ-आफ्ना पार्टीका पक्षमा दिलोज्यानले लागिरहेका छन् भने केन्द्रीय स्तरमा यो कुरालाई बहस र कार्यान्वयनमा कसले ल्याउने? फेरि राजनीतिक पार्टीका भ्रातृ संगठन बनेका पत्रकारका संघ, संगठनहरुलाई के गर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ। पत्रकार महासंघ केन्द्रले सुदूरपश्चिम भेलाले गरेका निर्णयलाई बहसमा ल्याए नेपाली पत्रकारितालाई फाइदै होला। (Published @ Nagarik daily in 18th Jan. 2010)
Comments